फरक !

कविता

टालाटुली बटुली
कति राम्री पुतली
मेरी राम्री पुतली
होइन, मेरो राम्रो पुतली…

बालापन
आफ्नो राम्रो हुनैपर्ने पुतली
कट्टी–कट्टी बोल्दिनँ
एकैछिनपछि सँगै खेल्नैपर्ने पुतली

जोड–घटाउ
कहाँ मिलेन ?
पुग्यौ तिमी आफ्नो सिसमहल रोज्न
म रहेँ जनताको बास खोज्न
तिम्रो डिग्रीले डलर खान खोज्यो
मेरो डिग्रीले जनताको गाँस रोज्यो
फरक यत्ति हो
डलर डकार्दै तिमीले मालिकको दासता स्वीकार्यौ
स्पार्टाकस सलाम !
म भने फेरि अर्को स्पार्टाकस हुर्काउन लागेँ ।

ती झुपडीमा रमाउने किसानको
खुसीको आनन्द !
तिमीलाई के थाहा ?
जसलाई
आफ्नो मालिकको खुसीमा मिल्छ आनन्द
फरक यत्ति हो
तिमीले मालिकको चरण रोज्यौ
मैले
झुपडीमा बस्नेलाई मालिक बनाउन खोजेँ !

स्याफ्रुबेसीको जीवन, तराईको शीतलहर
तुइन काटुन्जेल मृत्यु पर्खनुको पिर
उस्तै हो
तिमीलाई के थाहा ?
बाँच्न पाउनु, आङ ढाक्न पाउनु
गोष्ठी र सेमिनारमा होइन
पाइन्छ मुक्तिमा !
अब टालाटुली बटुलीको कट्टी होइन
बोल्दिनँ होइन
अब त
खबरदार !
टिलिटिली तिम्रो त्यो घ्याम्पे भुँडी फुट्नेछ
अनि तिम्रो साम्राज्य कुहिनैले ढल्नेछ

पूर्वसन्ध्या
हो !
वैज्ञानिक समाजवादको
पूर्वसन्ध्यामा मेरो होइन अहङ्कार
सम्झ
यो मेरो ललकार !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :