कपिलवस्तुको प्रतापपुरमा भव्य जनसङ्ग्रहालय बन्दै

एघार हजार सहिद स्मारक, १२३ जातजातिको संस्कृति सुदृढ गर्दै राष्ट्रिय एकता कायम गर्ने लक्ष्य

कपिलवस्तुको प्रतापपुरमा भव्य जनसङ्ग्रहालय बन्दै

स्थलगत रिपोर्ट

प्रतापपुर (कपिलवस्तु) : पार्टी महासचिव विप्लवको संरक्षकत्वमा नेकपाले जिल्लाको प्रतापपुर क्षेत्रमा भव्य जनसङ्ग्रहालय, पार्टी कार्यालय, पार्टी नेताहरूको आवास, बैठक, सेमिनार हललगायत संरचना निर्माणकार्य अघि बढाएको छ । शिवराज नगरपालिकाको वडा नं. ९ र त्यस आसपास क्षेत्रमा नेकपाले यी संरचना निर्माण अघि बढाएको हो । पार्टी कार्यालयलगायत संरचनाको निर्माणकार्य धेरै अघि बढिसकेको छ भने जनसङ्ग्रहालयको डीपीआर तयारीको अवस्थामा छ ।

राणा शासनविरुद्ध विद्रोह गर्दा बलिदान गर्ने लखन थापा, कृष्णलाल अधिकारी, गङ्गालाल, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीदेखि निरङ्कुश पञ्चायती काल, जनयुद्धकाल, फासिवादी संसदीय व्यवस्था विरुद्ध एकीकृत जनक्रान्तिमा जनताका तर्फबाट बलिदान गर्ने ११ हजार सहिदका स्मारक, सहिद उद्यानसहित देशमा रहेका १२३ जनजातिको संस्कृति झल्किने सम्पदाहरूसहित समेट्ने उद्देश्यले जनसङ्ग्रहालय निर्माण गर्न लागिएको हो ।

‘अर्बौं लगानी हुने अनुमान गरिएको यस बृहत् जनसङ्ग्रहालयको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदैछ । एक सय पचास बिघाजति क्षेत्रफलमा एसियाकै नमुना र भव्य जनसङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखिएको छ’, पार्टीका तर्फबाट यस क्षेत्रको नमुना निर्माणको व्यवस्थापन समालिरहेका पार्टी केन्द्रीय सदस्य अमर झाँक्री ‘सञ्जीव’ भन्छन्, ‘११ हजार सहिदको स्मारक र उद्यान सामुन्ने यहाँ एउटा भव्य दुईतले भवन बन्नेछ । त्यसमा नेपालका १२३ जातजातिका संस्कृति झल्किने पोसाक र झाँकीहरू रहनेछन् ।’ चार फिट उचाइका ११ हजार सहिदको स्मारकबीच डेढ मिटर दूरी रहने र यसले करिब बीस बिघा जमिन ओगट्ने अनुमान गरिएको पनि उनले बताए । लागतको तथ्य भने डीपीआर तयार भएपछि मात्र सार्वजनिक गरिने उनको भनाइ छ ।

नेकपाले जनसङ्ग्रहालयलाई बहुद्देश्यीय बनाउने लक्ष्य राखेको छ । ‘यो उर्वर क्षेत्र हो । यहाँ माटो परीक्षण प्रयोगशालाका साथै नेपालमा हुने सम्पूर्ण अन्नबाली, फलफूल र फूलहरूको उत्पादन गरिनेछ भने वैज्ञानिक अध्ययन, अनुसन्धान तथा उत्पादन पनि हुनेछ’, नेता सञ्जीव भन्छन् ।

नेकपा नेता सञ्जीवले सङ्ग्रहालयसँगै फन पार्क, फोहोरोसहितको माछापोखरी, कम्तीमा एक हजार मानिस अटाउने कभर्ड हल पनि निर्माण गरिने जानकारी दिए । जमिन प्राप्तिको प्रक्रिया अघि बढिसकेको जानकारी पनि नेता सञ्जीवले दिए ।

यतिबेला नेकपाले देशभर नमुना निर्माणकार्य र आत्मनिर्भरताका लागि उत्पादनकार्य अघि बढाएको छ । यी संरचना नेकपा महासचिव विप्लवको सीधा नेतृत्व र निर्देशनमा निर्माण हुनेछन् ।

जनसंग्रहालय निर्माण र व्यवस्थापनका लागि ट्वाइलेट–बाथरुमसहितको चारकोठे आवाससमेत तयार भइसकेको छ । यो आवास ९ लाख पचास हजार रुपैयाँमा तयार भएको हो ।

९ सदस्यीय व्यवस्थापन समितिका अध्यक्ष रहेका सञ्जीव भन्छन्, ‘नमुना निर्माणकार्यले सर्वहारा तथा श्रमिक जनतालाई स्वाधीनता र समृद्धिको वैचारिक र आर्थिक आधार तयार गर्नेछ । यसलाई सिङ्गो देशको विकासको खाका कोर्दै हाम्रो पार्टीले राष्ट्र र जनताको पूर्ण मुक्तिपछि सञ्चालन हुने वैज्ञानिक समाजवादी राज्यसत्ताको पूर्वाभ्यासका रूपमा बुझ्नु उपयुक्त हुनेछ ।’

आत्मनिर्भर अर्थतन्त्रको निर्माणलाई नेपालको कम्युनिस्ट आन्दोलनमा सुदूर भविष्यको विषय बनाइने गरेको छ । ‘यसलाई समाजवादी क्रान्तिपछि मात्र हुने कुराका रूपमा विश्लेषण गरिएको छ’, सञ्जीव भन्छन्, ‘यो नेपाली कम्युनिस्ट आन्दोलनको पुरानो स्कुल हो । स्वाधीनता र समुद्धि वैज्ञानिक समाजवादी सत्ता प्राप्त भएपछि रातारात निर्माण हुने कुरा होइन । त्यसका लागि आधार निर्माण गर्दै जानुपर्छ । यसर्थमा हामीले अगाडि बढाएको नमुना निर्माणकार्यले सर्वहारा तथा श्रमिक जनतालाई स्वाधीनता र समृद्धिको वैचारिक र आर्थिक आधार तयार गर्नुका साथै सिङ्गो देशको विकासको खाका कोर्दै हाम्रो पार्टीले राष्ट्र र जनताको पूर्ण मुक्तिपछि सञ्चालन हुने वैज्ञानिक समाजवादी राज्यसत्ताको पूर्वाभ्यासका रूपमा बुझ्नु उपयुक्त हुनेछ ।’

जनसङ्ग्रहालय निर्माण हुने स्थाननजिकै एक करोड १२ लाख रुपैयाँका दरले दुई करोड चौबीस लाख लागतमा दुईवटा भव्य भवन निर्माण भइरहेका छन् । एउटा नेकपाको केन्द्रीय सम्पर्क कार्यालय हो भने अर्को नेकपाका नेताहरूका लागि आवास हो । ‘नेकपा नेता सञ्जीव भन्छन्, ‘मेरो नेतृत्व रहने गरी कमरेड नन्दलाल पुरीको संयोजनमा सात सदस्यीय निर्माण कार्यसमिति बनेको छ । यसैले यहाँको निर्माणकार्यको व्यवस्थापन गरिरहेको छ । स्थानीय जनसमुदायको पनि व्यापक सहयोग छ ।’

२०७७ साल वैशाख १ गते पार्टी महासचिव विप्लवले पार्टीको केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास गरेका थिए । कोरोना महामारीलगायत समस्याका कारण निर्माणसामग्रीको अभाव, मौसमी प्रतिकूलता, कैयौँ अनुभवजन्य ज्ञानको समस्या सामना गर्दै पार्टी कार्यालय निर्माणकार्य तीव्र रूपमा अघि बढिरहेको छ । आधुनिक प्रविधिसहित निर्माण सम्पन्न हुने पाँचतले कार्यालय भवनमा लिफ्टको पनि व्यवस्था गरिएको छ । योसँगै ४५० जना मानिस अटाउने क्षमताको जनसभा हल पनि सँगसँगै निर्माण भइरहेको छ । ‘दुवै भवनको एक–एक तलाका लागि एक करोड बाह्र लाखको लागत र १८ महिनामा तयार हुने इन्जिनियरिङ गरिएको उक्त दुवै भवन नौ महिनामा पूरा गर्ने लक्ष्य राखेका थियौँ । उक्त अवधि र लागतमा निर्धारितभन्दा बढी काम हुने देखिएको छ’, नेता सञ्जीवले भने ।

यो नेपालको मात्र नभएर एसियाकै ठूलो जनसङ्ग्रहालय हुने नेकपाको विश्वास छ । अर्बौं लगानी हुने यो सङ्ग्रहालय निर्माणका लागि राष्ट्रिय उद्योगपति, व्यवसायी, संसारभर रहेका शुभचिन्तक, सम्पूर्ण सहिद परिवार र नागरिकलाई आह्वान गरिउको पनि नेता सञ्जीवले बताए । ‘मुख्य भौतिक श्रम पार्टीका नेता, कार्यकर्ताहरूबाट आपूर्ति गर्ने लक्ष्य राखिएको छ । शिक्षक, विद्यार्थी, युवा, किसान, महिलालगायत जनवर्गहरू श्रम गर्नका लागि तयार हुनुहुन्छ’, सञ्जीवले भने, ‘हामीलाई अन्तर्राष्ट्रिय सङ्गठनको पनि सहयोग रहनेछ ।’

कपिलवस्तुको फलफूल डोल्पामा र डोल्पाको फलफूल कपिलवस्तुमा रोप्ने योजना रहेको पनि उनले सुनाए । जनसङ्ग्रहालय परिसरमै नमुना कृषि उत्पादन गरी देशभर सञ्चालित उत्पादन स्थलमा नयाँ बिउबिजन वितरण गरिने सञ्जीवको भनाइ थियो । ‘स्रोतका दृष्टिले पार्टीको रकम, श्रमका लागि विश्वका विभिन्न देशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोग, देशभित्रका उद्योगी–व्यवसायी तथा विभिन्न सहयोगहरूमार्फत अगाडि बढिरहेको छ’, उनले भने । गतसाल फागुनमा पार्टी महासचिव विप्लवको संरक्षकत्वमा गठित ९ सदस्यीय निर्माण कार्यसमितिको व्यवस्थापनतर्फको संयोजन गरिरहेका छन् सञ्जीवले । यसमा राज्यद्वारा बेपत्ता योद्धा परिवारका तर्फबाट सावित्रा दुरा ‘आस्था’, जनक्रान्तिका सहिद परिवारका तर्फबाट खुमा सुवेदी, रामबहादुर थापा, राम भण्डारी, कौशल, एकीकृत जनक्रान्तिका सहिद नीरकुमारकी जीवनसँगिनीलगायत सदस्य रहेका छन् ।

पार्टी कार्यालय निर्माणकार्य र प्रगतिविवरण सुनाउँदै नेता सञ्जीवले भने, ‘सम्पूर्ण सामग्री हामीले उपलब्ध गराउने र प्रतिस्क्वायर फिट रु ३०,९९७ पैसाका दरले निर्माणकार्यको जिम्मा आरजीएल कम्पनीले लिएको छ । उक्त कम्पनीलाई हामीले आन्तरिक प्रतिस्पर्धाबाट छनोट गरेका हौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :