जनपत्रकार सङ्गठन नेपाल कञ्चनपुरको प्रथम पूर्ण बैठक सम्पन्न

जनपत्रकार सङ्गठन नेपाल कञ्चनपुरको प्रथम पूर्ण बैठक सम्पन्न

कञ्चनपुर : जनपत्रकार सङ्गठन नेपाल कञ्चनपुर जिल्ला समितिको प्रथम पूर्ण बैठक आउँदै गरेको राष्ट्रिय सम्मेलनलाई भव्यताका सफल पार्न जुट्ने लगायतका निर्णय गर्दै कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ ।

शनिबार महेन्द्रनगरमा बसेको उक्त बैठकले वर्तमान समयमा भइरहेका पत्रकारिता क्षेत्रका विकृति विसङ्गति, पत्रकार महासंघ भित्रका ज्याजतिका विरुद्ध सङ्घर्ष गर्ने र विशेष गरी आगामी माघ ११, १२ र १३ गते बुटवलमा हुने सङ्गठनको केन्द्रीय चौथो राष्ट्रिय सम्मेलनलाई लक्षित गरी व्यापक तयारीमा जुट्ने सहितका निर्णय गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामबहादुर चौधरी ‘महान’ ले सम्बोधन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारिताको दलालीकारण प्रवृत्तिका विरुद्ध सशक्त सङ्घर्ष गरिने र जनपक्षीय पत्रकारिता, मिसन पत्रकारितामार्फत एकीकृत जनक्रान्तिको कार्यदिशा हुँदै वैज्ञानिक समाजवाद स्थापनाका लागि जनपत्रकार सङ्गठनले ऐतिहासिक महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले वर्तमान अवस्थामा रहेको दलाल संसदीय व्यवस्थाको अन्त्यका लागि जसरी पार्टीले अघि सारेको जनमतसङ्ग्रहको कार्यनीतिलाई आम जनता माझ लगेर समाजवादी जनमत निर्माण गर्न अभियानकर्ताका रुपमा काम गर्न अपिलसमेत गरे । त्यस्तै कार्यक्रमका अतिथि तथा जनपत्रकार सङ्गठन नेपाल सुदूर–पश्चिम प्रदेश सचिव धर्म विकले आफ्नो मन्तव्य राख्ने क्रममा पत्रकारिता क्षेत्रको सीमा र मर्यादाभित्र रहेर जनता, जनतन्त्र र जनजीविकाको सवालका समस्याहरूलाई उजागर गरी आम आवज बिहीन समुदायको पक्षमा बोल्ने सङ्गठनको रूपमा स्थापित गर्नु हाम्रो पहिलो दायित्व रहेको बताए । उनले अहिलेको परिस्थितिमा नजिकिँदै गरेको सङ्गठनको चौथो राष्ट्रिय सम्मेलनलाई नै उत्कृष्ट र भव्यताका साथ सम्पन्न गर्न तयारीमा लाग्ने निर्देशन सहितको मन्तव्य राखेका थिए ।

सो बैठकमा जिल्लाका भीमदत्त नगर पार्टी सचिव दीपेन्द्र ऐरी, विशेष कमिटी सदस्य धनबहादुर बुढा, जनपत्रकार सङ्गठन सु.प. प्रदेश सदस्य भरत दासलगायत सङ्गठनका जिल्ला सदस्यहरूको उपस्थिति रहेको थियो ।

बैठकमा अध्यक्षता गरेका जनपत्रकार सङ्गठन कञ्चनपुर जिल्ला अध्यक्ष गणेश एसकेले पार्टी, सङ्गठन र नेतृत्वले दिएको जिम्मेवारीमा दृढ र प्रतिबद्ध भएर इमान्दारीका साथ लाग्ने भन्दै बैठकको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :