केएमसी, नोबेल, मणिपाललगायत मेडिकल माफियालाई कारबाही गर्ने नेकपाको चेतावनी

केएमसी, नोबेल, मणिपाललगायत मेडिकल माफियालाई कारबाही गर्ने नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले अनधिकृत रूपमा विद्यार्थीबाट रकम असुल गर्ने केएमसी, नोबेल, मणिपाललगायत मेडिकल माफियालाई कारबाही गर्ने चेतावनी दिएको छ । विद्यार्थी सङ्गठनका फ्याक्सन इन्चार्ज मिलनले विज्ञप्ति जारी गरी मेडिकल माफियाहरूलाई उचित कारबाही गर्न र मेडिकल सञ्चालकहरूले चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्डअनुसार नै शुल्क लिएर विद्यार्थीहरूलाई अध्ययनको वातावरण निर्माण गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदै अन्यथा पार्टी सङ्घर्ष गर्न बाध्य हुने खबरदारी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अखिल (क्रान्तिकारी) को नेतृत्वमा MBBS, BDS,, र B NURSING मा अध्ययनरत विद्यार्थीहरूले सञ्चालन गरेको आन्दोलनप्रति हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ । शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षाजस्ता विषय जनताका आधारभूत विषय हुन् । यसमा राज्यले नै जिम्मेवारीपूर्वक र गम्भीर ढङ्गले उचित, सर्वसुलभ रूपमा व्यवस्था गरेर उचित शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षाको प्रत्याभूत गराउनुको सट्टा उल्टै तस्कर, माफिया, बिचौलिया र घूसखोरहरूसँग मिलेर जनताको ढाड सेक्ने कार्य गरेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सन्दर्भमा चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्डविपरीत काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरू काठमाडौँ मेडिकल कलेज सिनामङ्गल, नोबेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले २०७८ को नयाँ भर्नामा राज्यले तोकेको भन्दा विभिन्न बहानामा MBBS, BDS र B NURSING मा अध्ययनरत विद्यार्थीबाट आफूखुसी लाखौ रुपैयाँ नाजायज शुल्क लिने गरेको सन्दर्भमा विद्यार्थीहरू र विद्यार्थी सङ्गठनहरूले सञ्चालन गरेका चरणबद्ध आन्दोलनहरूमा हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी हार्दिक ऐक्यबद्धता जाहेर गर्दै, मेडिकल कलेज सञ्चालकको यसप्रकारको नाजायज कार्यलाई कारबाही गर्नुको सट्टा उल्टै दलाल पुँजीवादी राज्यसत्ता मूकदर्शक बनेर बसिरहेको सन्दर्भमा यसप्रकारको कार्यको हाम्रो पार्टी घोर विरोध गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘राज्यले यसप्रकारका कार्य गर्ने मेडिकल माफियाहरूलाई उचित कारबाही गर्ने, मेडिकल सञ्चालकहरूले चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्डअनुसार नै शुल्क लिएर विद्यार्थीहरूलाई अध्ययनको वातावरण निर्माण गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउन चाहन्छ । अन्यथा हाम्रो पार्टी सङ्घर्ष गर्न बाध्य हुने कुराको खबरदारी गर्दै यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :