अखिल नेपाल शिक्षक संगठन प्युठानको पाँचौ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा शिव थापा

अखिल नेपाल शिक्षक संगठन प्युठानको पाँचौ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा शिव थापा

प्युठानः नेपाल कम्युनिष्ट पार्टी निकट पेशागत संगठन अखिल नेपाल शिक्षक संगठन प्युठानको पाँचौ जिल्ला सम्मेलन  सम्पन्न भएको छ ।
शनिबार सम्पन्न सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा अखिल नेपाल शिक्षक संगठन का वरिष्ठ केन्द्रीय उपाध्यक्ष लक्षिराम ढकालले नेपालको माटो सुहाउँदो, प्राविधिक, व्यवहारिक तथा वैज्ञानिक र निःशुल्क शिक्षा प्रणाली आजको अनिवार्य आवश्यकता रहेको बताएका छन् । उनले राज्यसत्ताको आधार परिवर्तन नगरी उपरीसंरचना परिवर्तन नहुने भन्दै राज्यसत्ताको आधार र उपरीसंरचनामा परिवर्तन नगरेसम्म शिक्षामा आमूल परिवर्तन सम्भव नरहेको बताए । शिक्षालाई निजिकरण र व्यापारीकरणबाट मुक्त गरी राज्यको दायित्व र जनताको अधिकारको रुपमा हुनुपर्ने कुरामा उनले जोड दिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज दल बहादुर खत्री जागृतिले वर्तमान शिक्षा प्रणाली हुँदाखानेको नभई हुनेखानेको पक्षमा रहेकोले शिक्षामा आमूल परिवर्तन आवश्यक रहेको बताए ।
कार्यक्रममा संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष नारायण भण्डारीले वर्तमान समयमा सरकारले नै शिक्षकलाई विभेद गरेको बताएका छन् । विभेद र सबैखाले शैक्षिक विकृतिका विरुद्ध संगठन खरो रुपमा उत्रनु पर्ने उनले बताए । कार्यक्रममा नेकपा प्युठानका पूर्व इन्चार्ज सुर्यप्रकाश, संगठनका केन्द्रीय सदस्य तथा रोल्पा , प्युठानका इन्चार्ज बिरवल वली र गुल्मी, अर्घाखाँची इन्चार्ज लक्ष्मण वली, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रदिप कवर लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राखेको थिए ।
सम्मेलनले शिव बहादुर थापाको अध्यक्षतामा ४ जनापछि थप्नेगरी १७ सदस्यीय अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति प्युठान निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा एगम सुनार, महिला उपाध्यक्ष टीका गिरी सुशिला, सचिव बोम बहादुर राँहु, सह सचिव एलिना सेन र मदन अधिकारी, कोषाध्यक्ष अमृत सुनार त्यस्तै सदस्यहरुमा कमला घर्ती, मुम बहादुर पुन, मान बहादुर केसी, सञ्जय अधिकारी लगायत रहेका छन् ।

कार्यक्रमको स्वागत मन्तव्य एगम सुनार र संचालन बोम बहादुर राँहुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :