स्मृतिमा बहुप्रतिभाशाली कमरेड शेरबहादुर अधिकारी

स्मृतिमा बहुप्रतिभाशाली कमरेड शेरबहादुर अधिकारी

क) बहुप्रतिभाशाली एवम् आदर्श

‘हामी को हौं, यो हामीलाई थाहा छ तर हामी के बन्न सक्छौं यो थाहा छैन ।’ विलियम शेक्सपियरले भने झैं हामी सबैलाई अवगत छ जनपिय्र कलाकार, असल शिक्षक, निपुण नेता र अथक क्रान्तिकारी योद्धाको अर्को नाम हो–कमरेड शेरबहादुर अधिकारी । हामी नजिकका छिमेकी मात्र होइनौं, कमरेड हौं । उहाँ आजीवन क्रान्तिकारी बन्न सफल हुनु भयो । क्रान्ति समस्या होइन, सम्पूर्ण समाधान हो । क्रान्तिले हरेक मानिसको भूमिका, पहिचान र परिभाषामा पनि परिवर्तन गरिदिन्छ । ‘क्रान्तिहरु इतिहासका इन्जिन हुन ।’ (कार्ल मार्क्स सन् १८४८–१८५० फ्रान्समा वर्गसंघर्ष) मा महान् माक्र्सले भने झै विपन्न, दुर्गम, गरिबी, अशिक्षा, शोषण–उत्पीडन आदि पुरानो सामन्ती पहिचान एवम् परिभाषाको जाजरकोट र मुलुकलाई महान् जनयुद्धले नयाँमा बदल्यो । जाजरकोट जनयुद्धको एक अभेद्य किल्ला एवम् मेरुदण्ड बन्यो । सवा तीन सय सहिदहरुको रगतले रक्तरञ्जित यो भूमिले सयौँ नेता, कार्यकर्ता, कमाण्डर र योद्धा जन्मायो । जनप्रिय, निपुण, उम्दा र अथक कलाकार, शिक्षक, नेता र क्रान्तिकारी योद्धा कमरेड शेरबहादुर अधिकारीको जन्म १५ माघ, २०१८ साल जाजरकोटको पजारु गाउँमा बुवा मानसिंह र आमा जिमीनी अधिकारीको वात्सल्यमा भएको थियो । उहाँको ३० भदौ, २०७८ मा कोरोना र जीवन संगिनी सारदा शाही(अधिकारी)को १२ मङ्सिर, २०७२ मा क्यान्सर रोगले असामयिक निधन भयो । उहाँका तीन छोरा र दुई छोरी प्रायः सबै क्रान्तिकारी आन्दोलनमा अल्पकालीन एवम् पूर्णकालीनका रुपमा क्रियाशील छन् । छोरी सावित्रा युवा सङ्गठनको नेतृ र छोरा महेश विद्यार्थी सङ्गठनको नेता हुनुहुन्छ । कमरेड शेरबहादुर अधिकारीको असामयिक निधनले क्रान्तिकारी कम्युनिस्ट एवम् शैक्षिक आन्दोलनलाई अपुरणीय क्षति पुगेको छ । उहाँको निधनमा मुलुकले एक जनपिय्र कलाकार, असल शिक्षक, निपुण नेता र अथक क्रान्तिकारी योद्धा गुमायो । जाजरकोटले एक बहुप्रतिभाशाली व्यक्ति गुमायो । दुनियाँका हरेक मानिससँग क्षमता एवम् प्रतिभा हुन्छ, तर उहाँमा विशिष्ट क्षमाता एवम् बहुप्रतिभा थियो । उहाँ बहुप्रतिभाशाली एवम् आदर्श हुनुहुन्थ्यो । हरेक जन्मले मृत्यु पनि सँगै लिएर आउँछ । यो प्रकृतिको सार्वभौम एवम् अनिवार्य नियम हो । उहाँको अभाव एवम् निधनमा प्यारी–कचाली, रमकाहिमाल र कुशे शोकमा स्तब्ध भए । छेडागाड र भेरी नदीले आफ्नो वेगवान गति एवम् सुसाहटमा शोकाकुल क्षणमा शोकध्वन सुसेलपारे । आज कमरेड शेरबहादुर अधिकारीको भौतिक शरीर छैन । भौतिक रुपले विछोड भएतापनि उहाँको विचार एवम् आदर्श जीवन हामी सबैको मानसपटलमा सदाजीवित हुनुहुन्छ । सबैले सामुहिक संकल्प गर्यौँ, एकीकृत जनक्रान्तिको विजय र वैज्ञानिक समाजवाद स्थापना गर्ने उहाँका सपना पूरा गर्नेछौँ ।

लेखक : पूर्णबहादुर सिंह

ख) जनप्रिय कलाकार

कमरेड शेरबहादुर अधिकारी जनताका दुःख, पीडा र जीवनका जिवन्त गीत लेख्ने र गाउने जनप्रिय कलाकार हुनुहुन्थ्यो । स्कुल जीवनमा हामी सबैले उहाँका गीतहरु गुनगुनाउथ्यौँ……फुल लाउने नेपाल गयो, फुल किन फुल्दो हो …।…..पाल्पा सहर देखिदैन, सुर्खेत दूर हुनाले…..। मध्यपश्चिमका गाउँबस्तीमा आम जनताले गाउने लोक, देउडा, ठाडी भाकाका दर्जनौं उहाँका गीतको रचना तथा रेकर्डिङ छन् । उहाँका गीतसंगीत निश्चित गाउँमा मात्र सीमित छैनन्, रेडियो नेपाल, विभिन्न टेलिभिजन स्टुडियो र युट्युवसम्म चर्चित छन् । ती देश र जनताका अमिट पुँजी बनेका छन् । तसर्थ, उहाँ राष्ट्रिय जनप्रिय कलाकारको रुपमा चितपरिचित हुनुहुन्छ । ग्रामिण वर्गसंघर्ष, महान् जनयुद्ध र एकीकृत जनक्रान्तिका गीतसंगीतहरुले उहाँ जनकलाकारको रुपमा पनि स्थापित हुनुहुन्छ । उहाँ मात्र होइन, सबै परिवार नै कलाकारको रुपमा स्थापित छ । कमरेड शेरबहादुर अधिकारी कलाकारिताको क्षेत्रमा एक श्रेष्ठ व्यक्तित्व हुनुहुन्थ्यो ।

ग) साहित्यकार

कमरेड शेरबहादुर अधिकारीका दर्जनौं गीत, गजल, कविता, कथा, निबन्ध र जाजरकोट लोक साहित्य पुस्तकले उहाँ स्थापित साहित्यकार हुनुहुन्थ्यो भन्ने पुष्टि गर्दछन् । उहाँले विभिन्न साहित्य सम्मान र प्रशंसा प्राप्त गर्नु भएको थियो । महान् लेनिनले ‘साहित्य सर्वहारावर्गको साझा उद्देश्यको एक अंग बन्नुपर्छ । दात र पेच हुनुपर्छ । सम्पूर्ण सामाजिक जनवादी साहित्यलाई पार्टी साहित्य बनाउँनुपर्छ । अखबार, पत्र–पत्रिका, प्रकाशन गृह आदिले पुनर्गठन गर्नुपर्छ ।’ (लेनिन, नोभया जीज्न, अंक १२, १३ नोभेम्बर , सन् १९०५ खण्ड १२, पृष्ठ ९९–१०५)मा उल्लेख गर्नु भएको थियो । कमरेड शेरबहादुर अधिकारीका दर्जनौं गीत, गजल, कविता, कथा, निबन्ध र जाजरकोट लोक साहित्य पुस्तक प्रकाशन र प्रकाशन उन्मुख कृतिले लेनिनको शब्दमा साझा उद्देश्यको एक अंग साहित्य र पुनर्गठनको खातिर प्रगतिशील साहित्यमा महत्वपूर्ण योगदान तथा नयाँ पुस्तालाई प्रेरित गरेको छ ।

घ) असल शिक्षक

लामो समयदेखि शिक्षणमा कार्यरत कमरेड शेरबहादुर अधिकारीले २०६३ सालमा मावि स्थायी शिक्षक भएर जाजरकोटका बिरेन्द्र मावि जुँगाथापाचौर, जनप्रिय मावि दशेरा र ज्ञानकुञ्ज क्याम्पस दशेराको संस्थापक प्रमुखको भूमिका निर्वाह गर्नु भयो । उहाँ एक असल शिक्षक हुनुहुन्थ्यो । हरेक विषयलाई सालाखालामा हेर्ने दृष्टिकोण, गलत नीति र खाए खा नखाए घिचको शासकीय सोच एवम् प्रवृत्तिका कारण त्रिभुवन विश्वविद्यालयले नेपालमा शिक्षा संकायका क्याम्पस र जनशक्ति बढी भयो भनेर सम्वन्धनमा रोक लगाएको प्रतिकुल अवस्थामा कमरेड शेरबहादुर अधिकारी, हिमाल शर्मालगायत र मैले निरन्तर संघर्ष गरेर ज्ञानकुञ्ज क्याम्पस दशेरा र त्रिभुवन क्याम्पस दल्ली क्याम्पसको सम्वन्धन लिएका थियौँ । जसले शिक्षा संकायको अध्ययनको लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौं धाउन विवश जाजरकोटी जनताका छोराछोरीका निम्ति एक अविस्मरणीय कार्य हो ।

ङ) निपुण नेता

कमरेड शेरबहादुर अधिकारी अखिल नेपाल शिक्षक संगठन, जाजरकोटको पूर्वअध्यक्ष, अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सदस्य र नेपाल शिक्षक महासंघको केन्द्रीय अर्थ उप महासचिव हुनुहुन्थ्यो । लेनिनले ‘लाखौं शिक्षकहरु नै त्यो यन्त्र हो–जसले काम अगाडि बढाउँनु पर्दछ, मान्छेको विचारशक्ति बढाउँनु पर्दछ, जनसमुदायको बीचमा कायम यी पूर्वाग्रहहरूको विरुद्ध संघर्ष गर्नु पर्दछ, पुँजीवादी संस्कृतिको उत्तरदानले शिक्षकहरूलाई कम्युनिस्ट बन्न बाधा पुर्याइरहेको हुन्छ । प्रत्येक शिक्षकहरू आन्दोलनकर्ता र प्रचारकर्ता बन्नु पर्दछ । पार्टीभित्र मात्र सीमित राख्ने होइन हजारौं हजार शिक्षकहरूको नेतृत्व गर्नु पर्दछ । शिक्षकहरूको रूचि बढाउँनु पर्दछ । उनीहरूको बुर्जुवा पूर्वाग्रहमाथि नियन्त्रण राख्नु पर्दछ । काममा सम्मीलित गराउँनु र ब्युझाउँनु पर्दछ ।’ (गुबेर्निया तथा उयेज्द सार्वजनिक शिक्षा बिभागहरुका राजनीतिक प्रशिक्षकहरूको अखिल रसियाली सम्मेलनमा भाषण, ३ नोभेम्बर, १९२० लेनिन,संकलित रचना सँग्रह, पाँचौ संस्करण, खण्ड ४१ , पृष्ठ ३९८–४०८)मा उल्लेख गर्नु भए झै कमरेड शेरबहादुर अधिकारी नेपाली शिक्षकहरुको गौरवशाली संगठन अखिल नेपाल शिक्षक संगठनको नेता बनेर दर्जनौं काम गरेर विचारशक्ति बढाउँनु भयो, जनसमुदायको बीचमा कायम तमाम् पूर्वाग्रहहरूको विरुद्ध संघर्ष गर्नु भयो, पुँजीवादी संस्कृतिको उत्तरदानले शिक्षकहरूलाई कम्युनिस्ट बन्न बाधा पुर्याइरहेको स्थितिमा आन्दोलनकर्ता र प्रचारकर्ता बन्नु भयो । पार्टीभित्र मात्र सीमित होइन हजारौं शिक्षकहरूको नेतृत्व गर्नु भयो । शिक्षकहरूको रूचि बढाउँन, उनीहरूको बुर्जुवा पूर्वाग्रहमाथि नियन्त्रण राख्न र काममा सम्मीलित गराउँन सबैलाई ब्युझाउँनु भयो । सबैले चौतर्फी जिम्मेवारी बहन गर्न असम्भव छ, तर उहाँ बहुआयामिक एवम् चारकर्ता हुनुहुन्थ्यो । कमरेड शेरबहादुर अधिकारी एक असल शिक्षक, निपुण जननेता, जनप्रिय कलाकार, साहित्यकार र अथक योद्धा हुनुहुन्थ्यो । देश र जनताको खातिर आफ्नो सम्पूर्ण जीवन समर्पण गरेकोले नै उहाँको जीवन आदर्श एवम् अमर छ ।

७ पुस, २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :