समाजसेवी रावलले गरे एमसीसी विरोधी आन्दोलनका घाईतेलाई आर्थिक सहायता

समाजसेवी दिलबहादुर रावल

काठमाडौँ : मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई नेपालको संसदद्वारा अनुमोदन गर्ने प्रक्रिया अगाडि बढाउन खोजेपछि उक्त परियोजना देश विरोधी, मुलुकको सार्वभौमिकता र विदेश नीति विरोधी रहेको भन्दै देशव्यापी विरोध भैरहेको छ ।

गत मङ्सिर २७ र २८ गते नेपालस्थित एमसीसीको कार्यालय र संसदभवन वरिपरी घेराउ तथा प्रदर्शन गर्ने क्रममा कैयौँ अभियान्ता, राजनीतिक दलका नेता कार्यकर्ताहरू र आन्दोलनकारीहरूमाथि प्रहरीद्वारा लाठी चार्ज गरेपछि घाईते भएका छन् । यसरी देशको दीर्घकालिन रक्षाका लागि आन्दोलनका क्रममा घाइते भएकाहरूलाई समाजसेवी दिलबहादुर रावलले रू. एक लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

अछामको बान्नीगढी जयगढ गाउँपालिका वाड नं. ५ सुगाली निवासी रावल दिल कन्स्ट्रक्सनका सञ्चालक, समाजसेवी र अवकाश प्राप्त शिक्षक पनि हुन् । जिल्लामा विभिन्न समयमा दुःख कष्टमा परेका नागरिक, बाढीपीडित, बेसाहारा लगायत अन्य प्राकृतिक विपतिमा परेका नागरिकहरूलाई विगतदेखि नै सक्दो सहयोग गर्दै आएका उनले भने, ‘यो एमसीसी देशको अस्तित्व खतरामा पार्न आएको छ, यसबाट मुलुकलाई जोगाउन जोजो नागरिकहरू आन्दोलनमा हुनुहुन्छ उहाँहरूको आन्दोलनप्रति ऐक्यबद्धता र सम्मानका लागि यो सानो सहयोग गर्नु मैले आफ्नो कर्तव्य ठानेको छुँ । म कुनै पार्टी विशेष भन्दा पनि देशका लागि राम्रो काम गर्ने जो सुकै दल र सामाजिक अभियान्ताप्रति सहानुभूति राख्छु ।’

एमसीसीको नाममा देश दुई ध्रुर्वमा विभाजित भएको बेला विभिन्न पेशा, व्यावसाय, राजनीतिक आस्था र क्षेत्रमा विभक्त नेपाली नागरिकहरूले यस्तो जटिल बेला आ–आफ्नो ठाउँबाट नागरिक दायित्व पूरा गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :