अखिल (क्रान्तिकारी) २ नं. प्रदेश समितिले गर्यो अभियानको उद्घाटन

अखिल (क्रान्तिकारी) २ नं. प्रदेश समितिले गर्यो अभियानको उद्घाटन

महोत्तरी : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) २ नम्बर प्रदेश समितिले महोत्तरी जिल्लाको बर्दिबासमा विद्यार्थी जागरण अभियान –२०७८ को उद्घाटन गरेको छ । सङ्गठनले अभियानको मूल नारा “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” राखी देशैभरि अभियान चलाइरहेको छ ।

नेपाल कम्युनिस्ट पार्टीले जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने बहस अगाडि सारेको छ, सोही रणनीतिसहित नेकपाका जनवर्गीय सङ्गठनहरूले आफ्ना कामकारवाही अगाडि बढाएको छ । सोही जनमतसङ्ग्रहको मुद्दालाई व्यापकता दिन र शिक्षा क्षेत्रका विकृति विसङ्गतिविरुद्ध सशक्त आन्दोलन अघि बढाउन र जनमतसङ्ग्रहको पक्षमा व्यापक माहोल सिर्जना गर्न विद्यार्थी जागरण अभियान अखिल (क्रान्तिकारी) २ नं. प्रदेश समितिले महोत्तरीको बर्दिबासबाट सुरुवात गरेको हो ।

उद्घाटन कार्यक्रममा अखिल (क्रान्तिकारी) २ नं. प्रदेश समितिका इन्चार्ज प्रभात भट्टराईको अध्यक्षता रहेको थियो । प्रमुख अतिथिका रुपमा नेकपाका केन्द्रीय सदस्य देवनारायण मण्डल ‘त्रिलोक’ र विशेष अतिथिको रुपमा अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव मिलन राई रहेका थिए भने सञ्चालन केन्द्रीय सदस्य तथा रौतहट/सर्लाही इन्चार्ज रमेश सुनारले गरेका थिए । त्यस्तै स्वागत मन्तव्य सङ्गठनका केन्द्रीय सदस्य तथा सप्तरी/सिराहा इन्चार्ज सुदिप पौडेलले गरेका थिए ।

विद्यार्थी जागरण अभियान मङ्सिर १५ देखि माघ १५ सम्म २ नं. प्रदेशका सम्पूर्ण जिल्लाहरूमा सञ्चालन गरिने र विश्वविद्यालय अन्तर्गतका क्याम्पस केन्द्रित गरिने सङ्गठनका केन्द्रीय सचिवालय सदस्य तथा २ नं. प्रदेशका इन्चार्ज प्रभात भट्टराईले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :