दाङमा जनवर्गीय सङ्गठनहरू भेला/सम्मेलनमा जुटे

दाङमा जनवर्गीय सङ्गठनहरू भेला/सम्मेलनमा जुटे

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङका जनवर्गीय सङ्गठनहरू पालिका भेला\सम्मेलनमा जुटेका छन् ।

बुधबार नेकपा निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) राजपुर गाउँकमिटीको प्रथम भेला सम्पन्न भएको छ । भेलाले देबिराम बिकको अध्यक्षतामा १३ सदस्यीय गाउँकमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा राम मिलन यादव, सचिवमा लाहुन चौधरी र कोषाध्यक्षमा सरिता परियारलाई चयन गरिएको नेकपा राजपुर गाउँकमिटी इन्चार्ज/सेक्रेटरी उज्वलले जानकारी दिए ।

प्रथम भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा बिशेष कमिटी सदस्य बिक्रमले वैज्ञानिक समाजवाद प्राप्तिका लागि एकपटक किसानहरू एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुन अपिल गरे । उनले नेपालका संसदवादी दलहरूले आफ्नो पार्टीलाई बन्दुके र अधिनायकवादीको आरोप लगाइरहेकाले त्यो भ्रम च्यात्न आफुहरू जनमतसङ्ग्रहमार्फत जनतालाई व्यवस्था चुन्न दिने लोकतन्त्रको उच्चतम् प्रयोग गर्न खोजिरहेको बताए । नेता बिक्रमले भने, “हामी जनमत लिन तयार छौँ तर, असफल संसदीय व्यवस्थाको निर्वाचनमा भाग लिन्नौँ, जनमतसङ्ग्रहको निर्वाचनमा भिड्न तयार छौँ ।”

भेलामा नेकपा लमही नगर इन्चार्ज जनक, राजपुर गाउँपालिका इन्चार्ज उज्वल, गढवा गाउँपालिका इन्चार्ज महान, मधेशी मुक्ति मोर्चा, नेपाल दाङ जिल्ला संयोजक सुर्य यादव, नेकपा दाङ जिल्ला कमिटी सदस्य रामप्रसाद, नेकपा दाङ जिल्ला सल्लाहकार समिति सदस्य भिम बुढाथोकी र मधेशी मुक्ति मोर्चा, नेपाल राजपुर गाउँकमिटी अध्यक्ष सर्जु यादवको आतिथ्य रहेको थियो ।

यस्तै बुधबार नेकपा निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी घोराही उप–महानगर कमिटीको प्रथम भेला घोराहीमा सम्पन्न भएको छ । भेलाले मनिशा वलीको अध्यक्षतामा १९ सदस्यीय घोराही उप–महानगर कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा अस्मिता थापा, सचिवमा रमिता खड्का, सह–सचिवमा सीता चौधरी र कोषाध्यक्षमा दुर्गा सुनारलाई चयन गरिएको हो ।

प्रथम भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले दलाल सत्ताको उत्पीडनका विरुद्ध जुझारु महिलाहरू सङ्गठित हुँदै एकीकृत जनक्रान्तिमा लामबद्ध हुन अपिल गरे । नेता प्रदिपले पुरानो सत्ताको दमन र दासताबाट मुक्त हुन महिलाहरूले बिद्रोहको झन्डा उठाउनुपर्नेमा जोड दिए । उनले भने, “जनयुद्धमा बुर्जुवा सत्तालाई फौजी आक्रमणले हैरान पारेका महिलाहरू प्रचण्ड बाबुरामको आत्मसमर्पणले निराशा छाएको पक्कै छ तर, तपाइहरूले फेरि बिद्रोह गर्नुपर्छ, दलाल सत्ताका विरुद्ध एकपटक लडौँ, हातेमालो गरौँ ।” नेता प्रदिपले अधिकार प्राप्तिका लागि पुरानो सत्तालाई ध्वस्त गर्नैपर्ने कुरामा जोड दिए ।

प्रथम नगर भेलाको उद्घाटन कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायतका अतिथिहरूले मैनबत्ती बालेर गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरूले महिला अधिकार प्राप्तिको लागि एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादको यात्रामा जुट्न आह्वानसमेत गरेका थिए ।

भेलामा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी दाङ जिल्ला संयोजक रेखा रोका, नेकपा घोराही उप–महानगर इन्चार्ज निर्मल, राष्ट्रिय थारु मुक्ति मोर्चा, नेपालका केन्द्रीय सदस्य एवम् दाङका अध्यक्ष चुलुवा, नेकपा दाङ जिल्ला सदस्य किसन, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी दाङ जिल्ला कमिटी सदस्य कमला केसीले शुभकामना मन्तव्य राखेका थिए । भेलामा नेकपा दाङ जिल्ला कमिटी सदस्य हरी, अखिल नेपाल भूमिहीन सुकुम्बासी सङ्घ दाङका संयोजक छोटिलाल, नेकपा घोराही उप–महानगर वडा नं.५ सेक्रेटरी बिष्णुको आतिथ्य रहेको थियो ।

रमिता खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कमला रोकायले गरेका थिए । प्रथम भेलाबाट नबनिर्वाचित कमिटीलाई बधाई मन्तव्य नेकपा दाङ जिल्ला सदस्य दानबहादुरले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :