वीर सहिद सुनिल र निर्ममको स्मृतिमा !

वीर सहिद सुनिल र निर्ममको स्मृतिमा !

रोल्पा र सल्यानको सीमा क्षेत्र, रोल्पातिरको मनिमारेमा २०६२ साल मङ्सिर १४ गते जनमुक्ति सेनाका डिभिजन कमान्डर किमबहादुर थापा ‘सुनिल’ र बटालियन सहकमान्डर झक्कुप्रसाद पुन ‘निर्मम’ ले उच्च बलिदान गरेको दिन हो । आज मङ्सिर १४ गते उहाँहरूले यो धर्तीमा अन्तिम सास फेरेको १६ वर्ष पुगेछ । उहाँहरूप्रति उच्च सम्मान प्रकट गर्दै स्मृतिको तानमा केही शब्द बुन्ने प्रयास गरेको छु ।

ढाडमा टेकेर टाउकोमा हान्ने फौजी कार्यनीतिको कार्ययोजना कार्यान्वयन गर्न, पार्टीले निर्णय गरेको जनमुक्ति सेनाको पाँचौँ डिभिजन घोषणा कार्यक्रम तथा सैन्य रोलकलको तयारीमा हामी केन्द्रित भएका छौँ । हिउँ परिनसकेको भए पनि मुटु छुने चिसोलाई जनताको अपार मायाले न्यानो प्रदान गरेको छ । बिहानै सैनिक हेलिकोप्टर र जासुसी विमान हाम्रो माथिबाट फन्को मारेर फर्किएको छ । विगत केही दिनदेखि नै यो आसपासको क्षेत्र झ्याम बुरासेलगायत ठाउँहरूमा रोल्पा र सल्यानका पार्टी समितिहरू हाम्रो व्यवस्थापनमा खटिसकेका थिए । हामीले जति नै छिपाउन खोजे पनि सयौँको ताँती र व्यवस्थापकीय चहलपहललाई दुस्मनको जासुसले थाहा पाएरै होला सर्भे गर्न जासुस विमान पठाएको पनि । जमिनी घेराबन्दी, गस्ती र आक्रमणमा पराजित हुँदै गएको शाहीसेनालाई हामी बसेको भूगोलमा आइपुग्न सजिलो थिएन । त्यसैले होला उसले हवाई आक्रमणको योजना बनाएको रहेछ । शाहीसेनाको सम्भावित हवाई आक्रमणको आकलनपछि हाम्रा सैन्य टुकडीहरूलाई विभिन्न भाइटल प्वाइन्टहरूमा सेटिङ गरिएको छ ।

लेखक : सविन पोखरेल

सूर्य पश्चिमतिर ढल्कन थालिसकेको छ । डिभिजन घोषणा र रोलकल कार्यक्रम, दुस्मनले हवाई आक्रमण गर्ने सम्भावना बढेपछि अनिश्चित बनेको छ । आजको दिनले अपराह्न पार गरिसकेकाले होला लगत्तै फेरि हेडक्वार्टरले सैन्य फर्मेसनलाई मनिमारेको खुला चौरमा पङ्क्तिबद्ध हुन निर्देशन दिएको छ । अनुमान गरियो होला– साँझ पर्न थालिसकेको छ । अब हेलिकोप्टर नआउला । मोर्चाबद्ध युद्धमा बिहान, दिउँसो, बेलुका र रात्रीकालीन समय निर्णायक भन्ने हुँदैन । महत्वपूर्ण समय त त्यो हो जतिबेला दुस्मनको अवस्था सबभन्दा बढी प्रतिकूल हुन्छ त्यति बेलै आक्रमण सुरु गरेपछि दुस्मनको प्रतिरक्षाप्रणाली क्षतविक्षत बन्दछ । यो आधारभूत सैन्य नियम हो । यति कुरा बुझ्दाबुझ्दै पनि विकट भूगोल र जमिनी लडाइँमा अभ्यस्त हामी, केवल बिहान र बेलुकाको समयलाई मात्र अन्दाज गर्न पुगेछौँ । खुला चौरमा खचाखच पङ्क्तिबद्ध भएपछि उज्यालोमा मात्र होइन, राती नै भए पनि हवाई आक्रमणका लागि अनुकूल नै हुन्छ होला । हाम्रो सैन्य र सामरिक विश्लेषण, समय विश्लेषणजस्तो मात्र बन्न पुगेछ ।

मनिमारेको खुला चौरमा रोलकल सुरु भयो । राजनीतिक प्रशिक्षण विशेष ब्युरोका इन्चार्ज कमरेड विप्लवले दिनुभयो । समयले डाँडो काटिसकेको छ । मन्तव्य छोटो भयो । तथापि उहाँको शब्दभावले चिसोले कठ्याङ्ग्रिएका हाम्रा शरीरमा न्यायो बढ्यो, शरीरमा नयाँ ऊर्जा भरियो । सैन्य रोलकलमा कमान्डरलाई बढी समय दिनुपर्छ भनेर होला विप्लव कमरेडले मन्तव्य टुङ्ग्याउनुभयो । जनमुक्ति सेनाका प्रमुख डेपुटी कमान्डर पासाङले जनमुक्ति सेनाको सैन्य हेडक्वार्टरका तर्फबाट मन्तव्य सुरु गरेको थोरै समय बित्दै थियो, एकाएक जासुसी विमान हाम्रो माथि फन्को मारेर तीव्र गतिमा फर्किहाल्यो । तुरुन्तै दुईवटा सैनिक हेलिकोप्टर आइहाले ।

अब मनिमारे एउटा रणभूमिमा बदलियो । डिभिजन कमान्डर सुनिलले तत्काल तितरबितरको कासन गर्दै हातको इसारामा टुकडीहरूको आर्क विभाजन गर्नुभयो । हामी सबै हतारहतार कभरतिर दौडियौँ । सुनिल सरले पाल्नो गोठ, हामी वाल्नो गोठ, दूरी करिब १० मिटरको फरकमा दृष्टि कभर लिन पुगेछौँ ।

सुनिल सर गोठको वरिपरि घुम्दै, बाहिर–भित्र गर्दै आफ्ना टुकडीहरूलाई निरीक्षण गर्दै डिफेन्स कभर र प्रतिरक्षा आक्रमणका लागि निर्देशन गरिरहनुभएको छ । सैनिक हेलिकोप्टरले बर्साइरहेका एचएमजी, जीपीएमजीका गोली र विभिन्न तोपगोलाको कुनै परबाह नगरी आफ्नो जिम्मेवारी पूरा गरिरहनुभएको छ । सुइँयऽ, चट्याङऽ, ड्याऽम्मको भारी आवाजले मनिमारे गुन्जिएको छ । एकै छिनअघिको शान्त वातावरण गोलीका पर्रा, बमका धमाका र आगोका मुस्लाले निसास्सिएको छ । खरको छानो भएका कयौँ गोठहरूमा हेलिकोप्टरबाट अग्निबम प्रहार गरेर आगो लगाइएको छ । करिब १५ मिनेटजतिको यो हवाईहमलाले ठूलै क्षति भएको हुनुपर्छ । हाम्रोतिरको प्रतिरक्षा आक्रमण प्रभावकारी हुन थालेपछि आक्रमणकारी सैनिक हेलिकोप्टर फाइरिङ गर्दै भाग्न खोजेका छन् ।

सुनिल सरले कभर लिएको गोठमा अलि बढी नै गोली बर्सिएको छ । एकै छिनमा सुनिल सरलाई गोली लाग्यो भनेर कराएको, कुनै साथीको चिच्याहट मेरो कानमा ठोक्किन पुग्यो । म दौडिएर अघि भर्खरै सुनिल सरले कासन गरिरहेको ठाउँमा पुगेँ । ब्रिगेड कमान्डर धु्रव घिमिरे ‘विप्लव’ ले च्याप्प समाउनुभयो । मैले मेडिकल सामग्री राखेको झोला खोलेर रक्तश्राव नियन्त्रणमा लिने सोच्दै थिएँ, एक पिस गज प्याड राख्न नपाउँदै सुनिल सर सहिद भैसक्नुभएछ । गोली टाउकोमै लागेको छ । रगत भुल्भुल निस्किरहेको छ । ठिङ्ग उभिएर अघि भर्खर दुस्मनमाथि जाइलाग्न निर्देश गरिरहेको सुनिल सरको जैविक शरीरले यो धर्तीबाट बिदा लिइसकेको रहेछ । आधुनिक चिकित्सा विज्ञानले समेत यस्तो गम्भीर प्रकृतिको घाउबाट हुने मृत्युलाई रोक्न नसक्ने भए पनि एक प्राथमिक उपचारक कमान्डरको जिम्मेवारीबाट रगत बगिरहेको घाउमा बेन्डेज लगाउने प्रयत्न मैले गरी नै रहेँ ।

बलिदानीपूर्ण गौरवमा समर्पित योद्धाहरूको जीवनलाई मृत्युले पलपल पछ्याइरहेकै हुन्छ । मुक्तिको उत्कट चाहनाका अगाडि मृत्युको भयावह त्रास ओझेलमा हुन्छ । जैविक शरीरको मृत्युले निम्त्याएको पीडाले कुनै पनि मान्छेको मूल्यबोध कति रहेछ भनेर मापन गर्न नसकिने भए पनि उसको आवश्यकता उसको मृत्युपछि झन् बढी बोध हुँदोरहेछ । फेरि अर्को आवाज कानमा ठोक्कियो– कमरेड निर्ममलाई पनि गोली लागेको छ । सायद उहाँलाई पनि गोली मात्र लागेको छैन, गोलीले सहिद बनाइसकेको छ !

अब भने हेलिकोप्टरको आवाज पनि मधुरिएको छ । अघि भर्खरैसम्म टिमको मनोबल बढाइरहेका दुई कमान्डरको मृत भैइसकेको रक्तमुछेल शरीरले हामीलाई समालिन भनिरहेको छ । स्थिति यस्तो बनेको छ, आफैँले आफैँलाई सम्झाउँदै समाल्नुपर्ने भएको छ । अघिको युद्धमैदान एकाएक स्तब्ध भएको छ । चारैतिर सन्नाटा छ । सबैका आँखाबाट आँसु झरिरहेका छन् । निम्छरो घामले पनि अब डाँडा काटिसकेको छ । चिसोले कठिङ्ग्र्याउने प्रयास गरिरहेको छ तर त्यसको कुनै परबाह छैन । उहाँहरू दुवैजनाको मृत शरीरलाई यहीँ छोडेर अगाडिको गन्तव्यसम्म पुग्नैपर्ने बाध्यतामा छौँ हामी ।

अब अन्त्येष्टिको तयारी गरिएको छ । ब्यूरो इन्चार्ज कमरेड विप्लव भक्कानिनुभएको छ । पासाङका आँखाले आँसु रोक्न सकेका छैनन् । आफ्नो प्रिय कमान्डर गुमाउँदाको पीडाले हामी सबै बेचैन भएका छौँ । मनिमारेका रयाझ, बाझ, खस्रु र लालीगुँरासका रूखहरूसमेत स्तब्ध भएजस्ता देखिन्छन् । ओझेलमा परिसकेको सूर्य र उदाउँदै गरेको जून पनि रोइरहेका होलान् । सिङ्गो प्रकृति स्तब्ध छ । हामी समालिने प्रयत्न गरिरहेका छौँ ।

हुनत युद्धमोर्चामा कसलाई गोली लाग्छ, को सहिद बन्छ त्यसको कुनै निश्चित सीमा हुँदैन तर नवगठित टिमको मुख्य कमान्डरलाई नै श्रद्धाञ्जली अर्पण गर्नुपरेपछि जतिसुकै निर्मम र कठोर बन्ने प्रयास गरे पनि हामी रोइरहेका छौँ । सुनिल र निर्मम कमरेडको शरीरलाई माटोमा विलीन गराउन नमानिरहेका हातहरूले आँसु पुछ्दै अन्त्येष्टि गरेका छौँ । भनिन्छ, क्रान्तिकारी विचार र प्रेम भावनामा पनि अभिव्यक्त हुन्छ । आज हामीले झारिरहेका आँसुमा पीडा र आक्रोश मात्र होइन, विचार र लक्ष्यप्रतिको उच्चतम् निष्ठाको संयोजन भएको छ ।

सुनिल सरको प्राकृतिक स्वभाव नै बहुआयामिक गुणले भरिपूर्ण थियो । त्यो आत्मीय बोली, निष्कलङ्क छवि, त्याग, समर्पण र बलिदानका पर्याय, निडर, साहसी र सबैको अभिभावक बन्नसक्ने बहुप्रतिभाशाली व्यक्तित्व नेता, कमान्डर गुमाउँदाको पीडाले रसाइरहेका हाम्रा आँखा र भक्कानिरहेको हाम्रो हृदय समालिन समय लाग्ने नै छ ।

मुक्तिको सपना बोकेर बलिदानीको प्रतिस्पर्धामा सँगै हेलिएका हामी सबैलाई छोडेर तपाईहरूलाई नै गोली लाग्नुपर्ने ! यसलाई विडम्बना नै भन्नुपर्छ । पार्टीको विशेष क्षेत्रीय ब्युरोका इन्चार्ज विप्लव कमरेड र डेपुटी कमान्डर पासाङ कमरेड पनि गोलाबारीबाट मुस्किलले बच्नुभएको छ । संयोग नै मान्नुपर्छ, यत्रो भीषण आक्रमणबाट बचेर आन्दोलनको नेतृत्व गर्ने चुनौतीपूर्ण जिम्मेवारी समयले उहाँहरूलाई उपलब्ध गराएको हो ।

तपाईंहरूको निर्जीव शरीरलाई मनिमारेमै रोपेर प्रतिक्रियावादी राज्यसत्ताको ढाडमा टेकेर टाउकोमा हान्न हिँडेका हामी विभिन्न युद्धमोर्चा पार गर्दै, अरू कयौँ साथीलाई पनि यसरी जमिनमुनि पुर्दै बलिदानीका कयौँ गाथा कोरेर अगाडि बढेपछि नाम मात्रको भए पनि गणतन्त्रसम्म त आएको छ तर जनयुद्धको नेतृत्व गरेका प्रमुख नेताहरू नै गन्तव्य अलपत्र पारेर आफ्नै सपनाको मलामी गएपछि देश र जनताले बग्रेल्ती समास्याको भारी बोक्नुपरेको छ । उतिबेलाका सहयात्री यतिबेला फरकफरक बाटाका यात्री भएका छौँ । जीवित सपनाको यात्री बनेर फेरि अर्को अभियानमा लामबद्ध बन्नुपर्ने बचेका सहयात्रीहरू, कर्तव्यवाट विमुख भएपछिको बेहाल उल्लेख गरिसाध्य नै भएन । कोही साथी अरब र खाडीको उखरमाउलो गर्मीमा श्रमपसिना बेच्न बाध्य छन् त कोही साथी जापान, युरोप र अमेरिका पुगेर आधुनिक दासका रूपमा काम गर्न अभिषप्त छन् । भारतीय सहर र कालापहाडमा पसिना बगाउनेहरूको बेहाल पनि कम पीडादायी छैन । कयौँ सहिद परिवारहरू आफ्ना प्रियजनहरूको अभावमा सहाराविहीन भएका छन् । बेपत्ता योद्धाहरूको अत्तोपत्तो छैन । परिवारहरूले बेपत्ताहरूको पर्खाइमा तड्पिरहनुपरेको छ । कयौँ घाइते योद्धाहरूको जीवन लथालिङ्ग छ । सामाजिक उत्पीडन, जातीय विभेद, बेरोजगारी, गरिबी, असमानता र भ्रष्टाचारको समस्याले देश थिलथिलो भएको छ ।

त्यतिबेलाका सुप्रिमोलगायत केही साथीहरू, उही पुरानो ससदीय रसातलमा डुबेर, वैभव र सुखसयलको प्रतिस्पर्धामा तँछाडमछाड गरिरहनुभएको छ । तपाईंलाई मनिमारेमा अन्तिम निर्देशन दिने कमान्डर पासाङ पनि बदलिएर नन्दबहादुर पुन मात्र भएपछि राजकीय पदमा पदासीन हुनुहुन्छ । हुनत यो पद पनि तपाईंहरूकै बलिदानीको जगमा खडा भएको हो । तपाईंको अन्त्येष्टिमा श्रद्धाञ्जली दिँदै पार्टीको झन्डा अर्पण गर्ने तत्कालीन विशेष ब्युरोका इन्चार्ज कमरेड विप्लव एकीकृत जनक्रान्तिमार्फत सहिदका सपना पूरा गरिछाड्ने अठोट गरिरहनुभएको छ । तपाईंहरूको जीवित सपनाकै मलामी जानेहरूको धेरै वर्णन गर्दा तपाईंको निर्जीव सालिकले पनि पीडाबोध गर्ला !

तपाईंहरू सहिद भएको १६ वर्षपछि यो पङ्क्तिकार बुरासे, झ्याम, मनिमारे पुग्दा पनि बुरासे र मनिमारेका जनताको दैनिकीमा कुनै परिवर्तन आएको छैन । रोग, भोक, शोक, गरिबी, बेरोजगारी, स्वास्थ्य र शिक्षाको समस्या उस्तै छ । गाउँमा युवाहरू कोही छैनन्, रोजगारीको खोजीमा उतै अरब खाडी पुगेका छन् । युवाका पीडादायी कथा मात्रै छन् । दलाल पुँजीवादी संसदीय व्यवस्थाको यो विभेदकारी रबैयालाई निश्चल आकाशतिर हेरिरहेको मनिमारेमै रहेका तपाईंहरूका निष्कलङ्क कङ्कालहरूले पनि नियालिरहेकै छन् ।

झ्यामको डाँडामा उभिएर मनिमारेलाई नियाल्दै गर्दा तपाईंको अग्लो जिउडाल भएको सुन्दर शरीर, स्नेहपूर्वक बोलाउने मीठो बोली, गजुलको तपाईंकै घरमा भुटेका मकैभटमास खाजा, जेलबाङको बागतारेमा तपाईंले दिएको प्रशिक्षण, सहिद विवेकसहित हाम्रो टिमलाई पूर्वी नेपाल पठाउँदा तपाईंले गरेको बिदाइ, सन्धिखर्कको मोर्चा जितेर सँगै फर्किंदाको उत्साह, अर्घाखाँचीको मथुराडाँडामा भएको मोर्चाबन्दी लडाइँमा तपाईंले दिएको प्रेरणा अनि कपिलवस्तुका जङ्गलमा थाकलका बुटामुनि सँगै चिसो बाँडेर बिताएको तपाईंको ऊर्जाशील अभिभाकत्व, तपाईंको हातले लेखेका सुन्दर अक्षरबाट बनेका चिठीका निर्देशनहरू सम्झिएर आज फेरि एकोहोरिएर सोचमग्न भएको छु ।

रोल्पाको ह्यानडिङ्म मोर्चामा गोली लागेर तपतप रगत चुहिरहँदा पनि उपचार नगरेर रक्ताम्य शरीरसँगै युद्धमोर्चाको नेतृत्व गर्ने तपाईंजस्ता वीर योद्धाको बलिदानीमा बनेको गणतान्त्रिक व्यवस्थाले तपाईंको सम्मान गर्न सकेको छैन किनकि यो गणतन्त्रलाई पनि दलाल पुँजीवादले आफ्नो नियन्त्रणमा राखिसकेको छ । वैचारिक दृढतामा टसमस नहुने, कम्युनिस्ट सांस्कृतिक आचरणका जोदाहा, युद्ध रणकौशलका योजना निर्माता सुनिल सरको जैविक शरीर हाम्रो साथमा नभए पनि तपाईंको जीवित सपना हाम्रै अगाडि छ ।

उहाँसँगै आफ्नो प्यारो जीवनलाई बलिदान गर्ने कमरेड निर्मम जो एउटा कुशल सैन्य कमान्डर मात्र नभएर साहित्यिक, सांस्कृतिक, अध्यनशील राजनीतिक योद्धा पनि हुनुहुन्थ्यो । प्रस्ट वक्ता, स्पष्ट दृष्टिकोण, निडर स्वभावले उहाँलाई पार्टीपङ्क्ति र सैन्य पङ्क्तिका बीचमा सर्वप्रिय बनाइसकेको थियो ।

हो, विघटन भैसकेको जैविक शरीरलाई ब्युँझाउने सञ्जीवनी त यो प्रकृतिले कसैलाई दिएको छैन, साथै तपाईंहरूको अमरत्वलाई मृत बनाउने तागत पनि त दुनियाँमा कसैसँग उपलब्ध छैन । यसपटक यो अभूतपूर्व महायात्राको सङ्क्षिप्त चित्रलाई यत्तिकै बिट मारौँ । अर्को आलेखमा अरू प्रसङ्ग उन्ने कोसिस गर्नेछु । अहिलेलाई मनिमारेको आकाशबाट पिलपिल गर्दै हामीलाई सम्झाइरहेका चम्किला दुई तारा सुनिल र निर्ममलाई १६ औँ स्मृति दिवसमा हार्दिक सम्झना ! लालसलाम, उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली !

१६ वर्षपहिल्यै, आजकै दिन अर्थात् मङ्सिर १४ को साँझपख तपाईंहरूको भौतिक शरीरलाई अन्त्येष्टि गर्दा, सहिदका जीवित सपना पूरा गर्ने प्रतिबद्धता हामीले व्यक्त गरेका थियौँ ! आज पनि वैज्ञानिक समाजवादको जीवन्त सपना बोकेर क्रान्तिको सतत अभियान चलाइरहेका छौँ, चलाइरहनेछौँ ।

१४ मङ्सिर २०७८, सल्यान ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :