कुरूप संस्कृतिको प्रतिबिम्ब : रुकुम चौरजहारीको सोती नरसंहार !

कुरूप संस्कृतिको प्रतिबिम्ब : रुकुम चौरजहारीको सोती नरसंहार !

गत वर्ष आजकै दिन जेठ १० गते कोरोना उकुसमुकुसको भुमरीबाटै संसार नियालिरहेको बेला पश्चिम नेपालको रुकुम चौरजहारी सोतीको भेरी नदीको भुमरीमा देखिएको मृत्युको भयावह दृश्यले सबैलाई उद्वेलित बनायो । नदी पार गर्दै गर्दा वा धेरै वर्षा भएर ठूलो बाढी आई मान्छे भेरी नदीको भेलमा मिसिएको भए मान्छेले प्रकृतिलाई दोष दिइरहेका हुन्थे होला । तर नवराज विकहरूको लाससँगै प्रेम, जात, मानव, मानवता, सपना, समाज, संस्कृति र राजनीति सबैको हत्या गरेर भेरी नदीमा बगाइदिएपछि विश्व मानवीय सभ्यता नै एकपटक भेरी नदीका भेलहरूमा बगिरहेका नवराजहरूको लास हेरेर स्तब्ध भयो । अन्तरजातीय प्रेमी नवराज विकले अन्तरजातीय प्रेमिकासँग वैवाहिक जीवन कायम गर्ने सपना बोकी सोती गाउँ पुग्दै गर्दा आफ्ना सहृदयी साथीसँगै ‘पे्रम’ का लागि बलिदान गर्न अभिशप्त भए । सोती हत्याकाण्डको पृष्ठभूमि र हत्याको प्रकृति अनि अपराध र अपराधीहरूको न्यायिक निरूपणको प्रश्नले सबैलाई निरन्तर खबरदारीसहित घचघच्याइरहँदा यसले नेपाली समाजका अगाडि हजारौँ प्रश्न सोधी नै रहेको छ ।

लेखक : सविन पाेखरेल

प्रगतिशील संस्कृतिको चर्का कुुरा गर्ने अधिकांश राजनीतिकर्मीहरूसमेत आफ्ना छोराछोरीको विवाह गरिदिँदा सामन्ती जातिवादी संस्कृतिको दलदलमा फसेका घिनलाग्दा दृश्यहरूले उनीहरूको वास्तविक चेहरा देखाई नै रहेको छ । अरूलाई पाठ पढाउँदा ठूल्ठूला आदर्शका कुरा गर्ने सामाजिक अभियन्ता भनिनेहरू, समाजमा रहेका उच्चपदस्थहरूसमेत जातको गहिरो अन्धतामा फसिरहेको कुरा उनीहरूको जीवनव्यवहार आफैँले देखाई नै रहेको छ । समाजमा कयौँले अन्तरजातीय प्रेम र विवाहका कारण आफ्नो जीवन नै गुमाउनु परेको छ । कोरोना महामारीको बन्दाबन्दीमा फसेको अवधिमा समेत पनि कयौँ घटना जातीय छुवाछूत र भेदभावका कारण भएका छन् ।

गत वर्षकै जेठ ३ गते रूपन्देही देवदहकी अङ्गीरा पासीको आत्महत्या भनिएको मृत्युलगत्तै जेठ १० गते रुकुम चौरजहारीको सोतीमा भएको सामूहिक हत्याकाण्डमा देखिएको भयावह दृश्यले नेपाली समाज केही समय निक्कै तात्तियो । अङ्गीरा पासीलाई जबर्जस्ती अन्तरजातीय बालविवाह गरिदिएर उनलाई मृत्युको मुखमा धकेलिएको थियो भने सोतीमा भएको पाशविक हत्याकाण्डमा दलित समुदायमा जन्मिएका नवराज र ठकुरी समुदायमा जन्मिएकी उनकी प्रेमिकाबीचको अन्तरजातीय प्रेमविवाहसँगै नवराज र उनका साथीहरूको हत्या भएको हो । भनिन्छ, प्रेम पे्रम नै हुन्छ । साँचो प्रेममा कुनै सीमारेखा र पर्खाल हुन सक्दैन । जातको सीमारेखाले प्रेमलाई रोख्न सक्दैन जुन कुरा नवराज र उनकी प्रेमिकाबीचको तीन वर्षदेखिको लगातारको प्रेमले आफैँ प्रस्ट पारिरहेको छ । दुई विपरीत लैङ्गिक आकर्षणलाई प्रकृतिले नै मिलाप गराउने प्रयत्न गरिरहँदा उनीहरू पे्रमी–प्रेमिकाको रूपमा उपस्थित हुन पुग्छन् । प्रेमी–प्रमिकाको प्रेमिल सम्बन्धलाई अटुट बनाउन गाँसिने बलियो प्रेमको गाँठोलाई नै विवाह भन्न सकिन्छ । विवाहलाई सामाजिकीकरण गर्ने विभिन्न तरिकाहरू हुन सक्छन् । त्यसलाई छुट्टै शिर्षकमा चर्चा गर्नुपर्ने हुन्छ । यहाँ नवराजले ठकुरीसँग र उनकी प्रेमिकाले दलितसँग होइन, उनीहरूले एकअर्कासँग पिरती गाँसेका हुन् । त्यसैले सोती हत्याकण्डको पृष्ठभूमि र प्रकृतिलाई निर्ममतापूर्बक समीक्षा गर्ने आँट र यस प्रकृतिका हत्याकाण्डलाई रोक्न साहसपूर्बक अगाडि नबढ्ने हो भने समाजमा अरू कयौँ हत्याकाण्ड मच्चिरहनेछन् । समाजले यस्ता पाशविक हत्याकाण्ड देखेर पनि टुलुटुलु हेरेर बस्न विवश भइरहनु पर्नेछ ।

पे्रमी नवराज विक पे्रमिकालाई बेहुली बनाउने सपना बोकेर साथीहरूसहित भेरी नदी तरेर १९ जनाको जन्ती सोती गाउँ पुग्दानपुग्दै सामन्ती संस्कृति र पश्चगामी चेतनाले प्रशिक्षित मानवताविरोधी जातिवादी दानवहरूको एम्बुसमा परेको छ । जेठ १० गतेको पे्रमिल साँझ कालो साँझमा बदलिएको छ । ढाका टोपी लगाएर नेपाली झन्डा बोकेको प्रेमी नवराजको फोटो र उनका साथीहरू जसले नवराजको प्रेमलाई हौसला दिँदै थिए उनीहरू सबैका तस्बिर नेपाली समाजको अनुहारमा बिम्बित भइरहेको छ । सँगै सोती पुगेर मृत्युको मुखवाट फुत्किएर घर फर्किएका नवराजका साथीहरूले विभिन्न सञ्चार माध्यममा हत्याकाण्डको विवरण सुनाइरहँदा आक्रोशको मात्रा झनै बढ्यो । पीडा र आक्रोशले मान्छेहरूका आँखा रसाए । सयभन्दा बढी मानिस हँसिया, बन्चरो, लाठी, ढुङ्गामुढासहित नवराजहरू आउने सुइँको पाएपछि बाटो कुरेर बसिरहेका छन् । मडारिरहेको भेरी नदी पार गरेको केही समयपछि सोती गाउँ पुग्दै गर्दा जातपातका ठेकेदारहरूले चारैतिरबाट हमला गर्छन् । आक्रमणकारीको पहिलो निशानामा बेहुला नवराज पर्छन् । उनलाई साथ दिन पुगेका साथीहरूलाई पनि क्रूरतापूर्वक आक्रमण गरिरहन्छन् । कसैलाई घिसार्दै, कसैलाई लखेट्दै लगेर उम्लिरहेको भेरी नदीमा बेपत्ता बनाउँछन् । जात व्यवस्थालाई रक्षा गर्न सकेकोमा घमण्ड गर्दै घर फर्किन्छन् । हत्याकाण्डलाई ढाकछोप गर्न केही नक्कली कथा बनाउँछन् ।

हत्याकाण्डपछि नेपाली समाजमा अनेकौँ विरासत र तथ्यतर्कना प्रस्तुत भइरहेका छन् । विशेषगरी जनयुद्धको आधारइलाकामा भएको जातीय विभेदको जगमा भएको हत्याकाण्डले नेपाली समाजमा भएको जातीय विभेदको सूचकाङ्क मात्र प्रस्तुत गरेको छैन यसले जनयुद्धले स्थापित गरिसकेका भव्य सांस्कृतिक मूल्यबोधमा धावा बोलेको छ । जनयुद्धकै पृष्ठभूमिबाट आएर जनप्रतिनिधि बनेका भनिएका मान्छेहरू नै यो पाशविक हत्याकाण्डमा सहभागी भएपछि दलित समुदाय मात्र होइन, प्रगतिशील सोचाइ भएका सबै मान्छेले प्रश्न गरिरहेका छन्– होइन यो के भएको हो ? यस्तो किन हुन्छ ? जातीय विभेद र छुवाछूत मुक्त गणतान्त्रिक भनिएको देशमा यस्तो जातीय नरसंहार ? आममान्छेहरू जातीय विभेदका विरुद्ध जतिसुकै चर्को गरेर बोले पनि जात व्यवस्थाले निर्माण गर्ने जातीय अहंकारको केन्द्रमा रक्तशुद्धता र पवित्रताको विभ्रम सबैभन्दा कठोर रूपमा बसेको हुन्छ । अन्तरजातीय विवाहले त्यो पवित्रताको मुटु र मस्तिष्कमै ठटाइदिन्छ, उच्च जातीय अहंकार धूलीसात हुन पुग्छ । समाजमा बसिरहेको यही आडम्बरले नै जातीय साम्प्रदायिकता फैलिन्छ । सोती हत्याकाण्डको मूल कारण पनि यही नै हो । कोरोना कहरले निम्त्याएको बन्दाबन्दीभित्रको सामाजिक दूरी कायम गर्ने कुरालाई जोडेर अन्तरजातीय प्रेमको हत्या गर्ने कुरा जेसुकै कभर प्रयोग गरे पनि ढाकछोप हुन सग्दैन । बालविवाह रोक्ने हजार विकल्प हुँदाहुँदै नवराज विकलाई खोजीखोजी अत्यन्तै क्रूरतापूर्वक हत्या गर्ने कुरा सामन्तवादी संस्कृति र पश्चगामी चेतनाको निकृष्ट अभिव्यक्ति हो ।

कतिपय मान्छे र प्रवृत्तिले जनयुद्धको आधारइलाकामा भएको यो हत्याकाण्डलाई गलत ढङ्गले अथ्र्याउने कोसिस पनि गरेको देखिन्छ । भन्दै जाँदा ऐतिहासिक जनयुद्धलाई दुत्कारिरहेको पनि देखिन्छ । यसको सोझो अर्थ हुन्छ– जनयुद्धले गलत गरेको थियो, अहिले ठीक छ । यथार्थ कुरा के हो भने जनयुद्धलाई विसर्जन गरिएसँगै जनयुद्धको आधारइलाका पनि विघटन गरिएकै हो । आधारइलाकाको विघटन हुँदै गर्दा सबै उत्पीडित जाति, वर्ग, लिङ्ग, क्षेत्र सबैले अपनत्व महसुस गरेको जनसत्ताको विघटन गरियो । सामाजिक न्याय, समानता, उत्पीडित जाति, वर्ग मुक्तिका लागि आदर्शको शिक्षा सञ्चार गर्ने जनयुद्धले स्थापित गरेका मूल्यहरू नै धरापमा परेपछि नेपाली समाज फेरि उल्टो दिशामा फर्किरहेको कुरा साँचो हो । कुनै प्रकारको शोषण, विभे,द अन्धविश्वास, रूढिग्रस्त परम्परा र मूल्यमान्यतालाई अस्वीकार मात्र होइन, निषेध गर्ने अभ्याससमेत गरिएको थियो जनयुद्धकालमा । सबैतिर छुवाछूतमुक्त घोषणा गरी अन्तरजातीय विवाह र अरू सामाजिक अन्तरघुलनका क्रियाकलाप सञ्चालनमा आइसकेका थिए । जन्म, मृत्यु, विवाहलागायत संस्कारहरूमा समाजवादी संस्कृतिको जन्म भइसकेको थियो । यही समाजमा जन्मिएका युवा पुस्तालाई प्रेम र विवाह गर्दा जातीय पर्खालले रोख्न सक्दैनथ्यो । तर जनयुद्धमा विकसित भएका सबै मूल्यमान्यताहरू चौपट पारेर जनयुद्धका मुख्य नेताहरू नै सामन्ती पुँजीवादी संस्कृतिका मतियार भएपछि प्रगतिशील संस्कृति ओझेलमा परेको हो । नवराजहरूको हत्या जातीय विभेदकै कारणले भएको हो, यसमा कुनै शङ्का नै छैन । जनयुद्धको विघटनसँगै विकास भइरहेको सांस्कृतिक प्रतिक्रान्तिको सिकार भए नवराज र उनका साथीहरू । प्रतिक्रान्तिको ठूलो मारमा पर्यो नेपाली समाज । प्रतिक्रान्ति भएको कुरालाई ओझलमा पारेर जनयुद्धको बद्ख्वाइँ गर्ने कुराले दलाल पुँजीवादी व्यवस्थाको विभेदकारी कुकर्मको रक्षा गर्न सम्भब छैन ।

यो हत्याकाण्डमा देखिएको अर्को महत्वपूर्ण विषय, प्रगतिशील युवा पुस्ता जसले नवराजको प्रेमलाई विवाहमा बदल्न साथ दिइरहेका थिए ,सन्जु विक, लोकेन्द्र सुनार, टीकाराम सुनार नवराजकै समुदायभित्र जन्मिएका थिए भने गणेश बुढामगर र गोविन्द शाही मनुवादी जातीय व्यवस्थाले उत्पन्न गरेका दलित थिएनन् तर विभेदकारी जातीय व्यवस्थाको विरोध गर्दै नवराज र उनकी प्रेमिकाबीचको अन्तरजातीय पे्रममा ऐक्यबद्धता जनाउँदै विवाहलाई हौसला प्रदान गर्न नवराजसँगै सोती पुगेका थिए । आफ्नो प्रिय साथी नवराजलाई साथ दिँदादिँदै उनीहरू पनि जातीय विभेदको सिकार बन्न पुगे । नवराजसँगै भेरी नदीमा कुटीकुटी फालिए, उनीसँगै उम्लिरहेको भेरी नदीमा बगाइए । उनीसँगै आफ्नो प्रिय शरीरलाई चितामा खरानी बनाए गोविन्द शाही त झन् नवराजको सपना पूरा गर्दागर्दै भेरी नदीको उम्लने भेलमा १० दिनसम्मै बेपत्ता भए । २० गते मात्र उनको मृत शरीर फेलापर्यो । त्यसैले यहाँ सिङ्गो मानव सभ्यतामाथि नै हत्या गर्ने प्रयास भएको छ । ‘प्रेमका लागि बलिदान’ मानव सभ्यताको इतिहासमा विश्वभरि रेकर्ड भएको छ, नवराज विकको मात्र होइन । उनको पे्रमका लागि गणेश बुढामगर र गोविन्द शाहीको पनि बलिदान भएको छ । त्यसैले प्रेम र विवाहलाई अन्तरजातीय सीमामा मात्र बाँधि राख्नु उचित हुँदैन । बरु प्रेम र विवाह वर्गीय पनि हुन्छ । वर्गीय दृष्टिकोणद्वारा निर्देशित हुन्छ । नवराज विक र गणेश बुढाहरूको हत्या भइरहँदा अन्तरजातीय प्रेम र विवाहको मात्र हत्या भएको छैन, उत्पीडित, अपहेलित वर्गको प्रेम र विवाहको पनि हत्या गरिएको छ । नवराज र उनका सहृदयी साथीहरूको नामको पछाडि जे लेखिए पनि उनीहरू सबैमा एउटै समानता थियो– सबै उत्पीडित, गरिब, श्रमजीवी वर्गका छोराहरू थिए । उनीहरूको मन, विचार, भावना एउटै थियो । त्यसैले यो हत्याकाण्डलाई अन्तरजातीय प्रेमको हत्या मात्र भनेर पुग्दैन, यो त प्रगतिशिल चिन्तन, राजनीति, संस्कृति र प्रगतिशील विचारकै हत्या गर्ने निरर्थक प्रयास हो । समाजलाई पश्चगमनतिर फर्काउने राज्य संरक्षित साम्प्रदायिक हत्या–हिंसा हो ।

पटकपटकका विभिन्न आन्दोलन र ऐतिहासिक जनयुद्धमा सबैखाले विभेदका विरुद्ध लड्दालड्दा हजारौँको बलिदान गरेर प्राप्त गरिएको राजनीतिक उपलब्धि जनताको हातमा नपुगेर सामन्त, पुँजीपतिहरूको हातैमा पुग्यो । बलिदानको जगमा स्थापित भएका नेताहरूसमेत पुँजीवादी सत्ताको चास्नीमा चुर्लुम्म डुब्न पुगे । अनि त फेरि मनुवादमा आधारित उही पुरानो जाति व्यवस्थाको नयाँ रूपमा पुनरोदय भयो जसले गर्दा लामो समयदेखि जातीय अन्धतामा फसिरहेको नेपाली समाज अझै पनि मुक्त हुन सकिरहेको छैन । सबै नागरिकको अभिभावकीय जिम्मेवारी पूरा गर्ने दायित्व बोक्नुपर्ने सरकार, सरकारी संयन्त्र नै उत्पीडकहरूकै संरक्षक बनिरहने व्यवस्था यथावत् रहँदासम्म जसले जुनसुकै तरिकाले रोटी सेके पनि यसप्रकारको जातीय, वर्गीय उत्पीडनको अन्त्य हुनै सक्दैन । नवराजहरूले सामाजिक रूपान्तरणको लडाइँमा आफूलाई हेलिरहँदा आफूलाई समाजवादी दाबी गर्ने कम्युनिस्ट सरकारको स्थानीय सरकार नै सोती हत्याकाण्डमा सामेल हुनुले उसको सामाजिक फासिवाद छरपस्ट भएको छ । दलाल पुँजीवादको निकृष्ट रूप सोती नरसंहारमा देखिएको छ । जनयुद्धले स्थापित गरिदिएका सांस्किृतिक मूल्यहरूलाई संरक्षण गर्ने काम दलाल पुँजीवादबाट सम्भब छैन । समाजवादी संस्कृतिको रक्षा र विकास त सबैलाई समान व्यवहार गर्ने समाजवादी चिन्तन प्रणालीमा आधारित समाजवाादी सत्ता र सरकारले मात्र गर्न सक्छ । पुँजीवादको जीवनदर्शन त नाफामुखी हतियार बोकेर अरूमाथि हैकम मच्चाउन लागिरहन्छ । अमूक जात र व्यक्तिलाई सत्तोसराप गरेर मात्र पनि समस्याको हल हुन सक्दैन । हत्या, हिंसाको मूल स्रोत नै सरसफाइ गर्ने कुरामा समाजले ध्यान केन्द्रित गर्नै पर्दछ । । भाववादी उत्तेजना र आक्रोशले मात्र यस्ता समस्याबाट सदाका लागि पार पाउन सकिन्न । त्यसैले सामाजिक रूपान्तरणको अभियानलाई एकीकृत गरेर मात्र वर्गीय, जातीय, सामाजिकलगायत विभेदवाट नेपाली समाजले उन्मुक्ति पाउन सक्छ । लोकतन्त्रको साबुन लगाएर चम्किरहेको दलाल पुँजीवादको भाइरसलाई निर्मलीकरण गर्दै छिटोभन्दा छिटो वैज्ञानिक समाजवादको राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रका बहुआयामिक मूल्य र आदर्शहरू हाबी बनाउने अभियानमा प्रगतिशील युवा पुस्ता सङ्घर्षमा हेलिनैपर्छ ।

अन्त्यमा, उच्च जातीय अहंकारको भयानक हमलामा परी पे्रमका लागि जीवन बलिदान गर्ने नवराज विक, गोविन्द शाही, सन्जु विक, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार जात व्यवस्थाका पक्षपातीहरूबाट मारिँदा समाजको कुरूप सांस्कृतिक ऐना प्रस्ट देखिएको छ । अन्तरजातीय प्रेममा भेरी नदीका भेलहरूमा तैरिरहेको नवराजहरूको बलिदानको आत्मकथा अमर रहिरहनेछ, समाजवादी संस्कति निर्माण गर्ने ऐतिहासिक दायित्वमा समाजलाई डोर्याउन प्रेरित गरिरहनेछ । प्राज्ञ युभल नोआ हरारीले भनेजस्तै ‘मानिसले नै आजसम्मको सबैभन्दा लामो बौद्धिक र सभ्य प्रजातीय इतिहास बोकेको छ । मानिस नै हो, आफ्नो झूटलाई सत्यको खोल ओढाउन सक्ने ‘विद्वत्’ प्राणी । हैन भने अरू जातीय प्रजातिहरूले पनि बौद्धिक जातीय आतङ्क मच्चाइसक्नुपर्ने हो ।’

(गत वर्ष प्रकाशित र सामान्य रूपमा परिमार्जित)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :