लखन थापा लगायत शहिदहरू सिङ्गो उत्पीडित जनताको मुक्तिको लागि रगत बगाएका हुन् : विप्लव

लखन थापा लगायत शहिदहरू सिङ्गो उत्पीडित जनताको मुक्तिको लागि रगत बगाएका हुन् : विप्लव

म्याग्दी बेनीः नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द `विप्लव´ ले नेपालको प्रथम शहिद लखन थापामगर लगायत विभिन्न आन्दोलनमा रगत बगाउने शहिदहरू कुनै निश्चित जातिको लागि रगत बगाएको नभई सिङ्गो उत्पीडित र श्रमिक जनताको मुक्तिको लागि रगत बगाएको बताएका छन् । पार्टी निकट मगर मुक्तिमोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै विप्लवले यस्तो धारणा राखेका हुन् ।

अर्को प्रसङ्गमा कुरा राख्दै महासचिव विप्लवले नेपालमा चलेको १० वर्षे जनयुद्ध प्रचण्ड बाबुरामको अनुहार हेरेर नभई नेपालका लाखौ श्रमिक उत्पीडित जनताको मुक्तिका लागि लडिएको र त्यही क्रममा हजारौँ शहिद, बेपत्ता घाइते एवं कैयौ चेलीहरू बलात्कृत हुनुपरेको प्रसङ्ग कोत्याउदै जनयुद्धमा भएको बलिदानको भार ठेक्न नसकेर तत्कालिन नेतृत्व लडबडाइरहेकोले आफुहरूले ती शहिदका सपना पूरा गर्न नयाँ आन्दोलनको नेतृत्व गर्नु परेको समेत जिकिर गरे ।


मगर मुक्तिमोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक गम बहादुर श्रीस मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं केन्द्रीय जनपरिषदका संयोजक सन्तोष बुढामगर, पार्टीका केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्मा, पार्टीका केन्द्रीय सदस्य   अास्था, अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सचिव उषा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए । पार्टीका केन्द्रीय सदस्य तथा अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष ओम प्रकाश पुन, पार्टीका केन्द्रीय सदस्यहरू विप्लव, विकिरण, उभार, सामना सांस्कृतिक परिवारका प्रतिनिधि आरोह, यूवा संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष विश्लेषण, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य अटल, जनक्रान्तिका घाइते अपाङ्ग संगठनका प्रतिनिधि पासाङ, एकिकृत जनक्रान्तिका शहिद जगत पुनका जेठा छोरा हिमाल पुन, पूर्व जनमुक्ति सेना नेपालका बिग्रेड सहकमाण्डर लालु किसान आकाश, पार्टीका पर्वत जिल्ला सेक्रेटरी अनन्त, म्याग्दी सेक्रेटरी दिपा, बाग्लुङ जिल्ला सेक्रेटरी आकाश, मुस्ताङ जिल्ला सेक्रेटरी नविन, म्याग्देली कम्यूनिष्ट नेताहरू भुमिराज पुन, शिव श्रेष्ठ, ध्रुवलाल शर्मा, मिन बहादुर बानिया अशोक लगायतको आतिथ्यता रहेको थियो ।

सम्मेलन आयोजक समितिका सदस्य इन्द्र घर्तीमगरको सन्चालनमा भएको कार्यक्रममा निरू थापामगरले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए भने सामना सांस्कृतिक परिवार केद्रीय टिमले स्वागत गित प्रस्तुत गरेकाे थियाे । हजारौ संङ्ख्यामा जनसहभागिता थियो भने १० भन्दा बढी समुहले स्थानीय झाँकी प्रदर्शन गरे ।

मंसिर ११ गतेसम्म चल्ने मोर्चाको सम्मेलनमा देशैभरीबाट ३ सय बढी संङ्ख्यामा प्रतिनिधि, पर्यवेक्षक सहभागी रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :