वैज्ञानिक समाजवाद स्थापना हुन्छ–हुन्छ : रणवीर

वैज्ञानिक समाजवाद स्थापना हुन्छ–हुन्छ : रणवीर

काठमाडौँ : नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली–रामेछाप इन्चार्ज भरत बम ‘रणवीर’ ले नेपालमा वैज्ञानिक समाजवाद स्थापना भएरै छोड्ने बताएका छन् । नेकपाको आठौँ पुनर्गठन दिवसका अवसरमा नेकपा सिन्धुलीले सदरमुकाममा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि रणवीरले संसारमा पुँजीवादजति अनुदारवादी व्यवस्था अरू कुनै पनि नभएको बताए । उनले समाजवादले प्रत्येक व्यक्तिलाई क्षमताअनुसारको काम र कामअनुसारको दामको सुनिश्चितता गर्ने पनि बताए ।

कार्यक्रममा सम्बोधन गर्दै नेता रणीवरले भने, ‘हरेक क्रान्तिकारीहरूले विजयको सपना देख्नुपर्छ । सपना पनि क्रान्तिकै उपज हो ।’

विचारमा आधारित नभएकाले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता नटिकेको प्रस्ट पार्दै नेता रणवीरले सम्पूर्ण कम्युनिस्ट, क्रान्तिकारी र देशभक्तहरूलाई नेकपाले एक बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादलाई केन्द्रमा राखेर पार्टी एकता हुन्छ । नेकपाको नेतृत्वमा पार्टी एकता हुन्छ र एकीकृत जनक्रान्ति सम्पन्न भएर देशमा वैज्ञानिक समाजवाद स्थापना हुन्छ’, उनले दाबीसाथ भने । पार्टीएकताको आधार दलाल पुँजीवाद, अवसरवाद र दक्षिणपन्थी संशोधनवाद हुन नसक्नेमा उनको जोड थियो । संशोधनवादविरुद्ध झन्डा उठाउने क्रममा २०७१ सालमा पार्टी पुनर्गठन भएको र नेकपाले नयाँ कार्यदिशासहित क्रान्तिको नेतृत्व गरिरहेको उनले बताए । ‘नेकपामाथि प्रतिबन्ध, दमन, हत्या, गिरफ्तारी र फेरि सत्तासङ्कट राजनीतिक रूपले समाधान गर्ने सहमतिसहित तीनबुँदे सहमतिमा आउनु नेकपा पुनर्गठनको औचित्य साबित हुनु हो’, उनले भने ।

कार्यक्रममा नेकपाको पुनर्गठनको औचित्यमाथि प्रकाश पार्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव अशोक सुवेदीले सात दशकसम्मको वर्गसङ्घर्ष र महान् जनयुद्धमा भएको दलाली, गद्दारीलाई चुनौती दिँदै अवसरवादीहरूले रछ्यानमा फ्याँकेको क्रान्तिको झन्डा उठाएको दिन भएकाले पुनर्गठन दिवस क्रान्तिकारीहरूका लागि उत्सवको दिन भएको बताए । मनमोहन, केशरजङ्ग रायमाझी, मदन भण्डारी, केपी वली–माधव नेपालहरू हुँदै प्रचण्ड–बाबुरामहरूले आत्मसमर्पण गरेर क्रान्ति विसर्जन गरेपछि विप्लवको नेतृत्वमा नेकपा पुनर्गठन हुनु नेपालमा क्रान्ति जारी छ र अवश्यम्भाबी रूपमा वैज्ञानिक समाजवाद स्थापना हुन्छ भन्ने सुनिश्चितता हो’, उनले भने । एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद क्रान्तिकारीहरूको ध्रुवीकरणको एक आधार हुने धारणा उनले राखे ।

नेकपा सिन्धुलीका सेक्रेटरी गोपाल ब्लोनको अध्यक्षता तथा सञ्चालन र नेकपा सिन्धुली विशेष समितिका सदस्य शशी राईको स्वागतमा सम्पन्न कार्यक्रममा ऋषि कट्टेल नेतृत्वको नेकपाका नेता हरि बराल, कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री, एमाले प्रदेश सांसद प्रदीप कटुवाल, नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष चित्रबहादुर लुङ्गेली, जसपाका केन्द्रीय सदस्य सुरजबहादुर स्याङ्तान ‘बृहत्’, पत्रकार पुष्कर, व्यवसायी अर्जुन कटुवाललगायतले पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपालाई शुभकामना दिएका थिए । कतिपय वक्ताले नेकपाले पार्टीएकताको नेतृत्व गर्नुपर्ने पनि बताएका थिए ।

जिल्लाका करिब एक सय नेता–कार्यकर्ता सहभागी पार्टी पुनर्गठन दिवसको उद्घाटन आठवटा मैनबत्ती बालेर प्रमुख अतिथि रणवीरले गरेका थिए भने एकापसमा अबिर लगाएर र मुख्य बजारमा मैनबत्ती प्रज्वलन गरेर पार्टी पुनर्गठन दिवसलाई उत्सवमय बनाइएको थियो ।

यसअघि नेकपा रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा आयोजना गरेको आठौँ पार्टी पुनर्गठन दिवसलाई पनि नेकपा नेता रणवीरले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :