जनक्रान्ति, पार्टी पुनर्गठन दिवस र युगीन कार्यभार

जनक्रान्ति, पार्टी पुनर्गठन दिवस र युगीन कार्यभार

क) जनक्रान्ति

‘एक वास्तविक एवम् गम्भीर क्रान्ति मार्क्सको शब्दमा भन्ने हो भने जनक्रान्ति, एक आश्चर्यजनक रूपले जटिल एवम् कष्टदायी प्रक्रिया हो जसमा पुरानो सामाजिक व्यवस्था नष्ट हुन्छ र एक नयाँ सामाजिक व्यवस्था, लाखौँ–करोडौँ मानिसहरूका लागि एक नयाँ जीवनव्यवस्थाको अभ्युदय हुन्छ ।’ लेनिनले १ अक्टोबर, १९१७ मा (के बोल्सेविकहरू राज्यसत्ता थाम्न सक्छन् ? लेनिन, सङ्कलित रचनासङ्ग्रह, पाँचौँ संस्करण, खण्ड ३४, पृष्ठ २८७–३३९) मा भनेझैँ दलाल पुँजीवादी संसदीय व्यवस्थाको नरकबाट मुलुक र आमजनतालाई मुक्त गर्ने एकीकृत जनक्रान्ति नयाँ जनमार्ग हो । यो आजको वस्तुगत एवम् आत्मगत परिस्थितिको नयाँ संश्लेषण हो । आदरणीय महासचिव कमरेड विप्लवको शब्दमा पार्टी र जनताको तागतलाई एक ठाउँमा ल्याउने र विजय हासिल गर्ने क्रान्ति हो– एकीकृत जनक्रान्ति । एकीकृत जनक्रान्ति एक अन्तिम र कठिन ध्वस्त सामन्ती तथा अर्धविध्वंस दलाल पुँजीवादको खरानीमा वैज्ञानिक समाजवादी भवनको जग निर्माण गर्ने महान् उद्देश्यमा पुनर्सङ्गठित नयाँ जनक्रान्ति हो । यो महान् लक्ष्य हासिल गर्नका खातिर ८ मङ्सिर, २०७१ मा गौरवशाली नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन भएको हो । यो लाखौँ–करोडौँ जनताको सर्वोत्तम सामाजिक व्यवस्था (वैज्ञानिक समाजवाद) प्राप्तिका लागि एक नयाँ जीवनको अभ्युदय भएको युगान्तकारी परिघटना हो । यो महान् मार्क्सले सन् १८७१ को मार्चमा पेरिस कम्युनका बारेमा ‘आकाशका विरुद्ध धावा बोलेका थिए’ भन्नुभएझैँ विचलन, प्रतिक्रान्ति, धोका र महापतनका विरुद्धको धावा एवम् विद्रोह हो । यो आत्मसमर्पणवाद, विसर्जनवाद, नवसंशोधनवाद, अवसरवाद, अकर्मण्यतावाद र संसद्‌वादमाथिको सैद्धान्तिक एवम् राजनीतिक विजय हो । युगीन आवश्यकता र आमजनताको इच्छामा ढुङ्गामा सुन्दर फूल फुलाउने नयाँ सपनाको सुरुआत हो । यो वीरतापूर्ण उत्साहको युगबोध र सबभन्दा दृढतम् र कठिनतम् शौर्यको आवश्यकताबोधसहित गएिको नयाँ प्रतिबद्धता पनि हो ।

ख) पार्टी पुनर्गठन

नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा, विकास र जनक्रान्तिलाई गुणात्मक गति दिनका खातिर एक ऐतिहासिक कदम हो । यो आत्मसमर्पणवाद, विसर्जनवाद, नवसंशोधनवाद, अवसरवाद, अकर्मण्यतावाद र छद्म संसद्‌वादमाथिको सैद्धान्तिक एवम् राजनीतिक विजय हो । यो असफल एवम् बदनाम संसद्‌वादको पुनरावृत्त पागलपन र महापतनका विरुद्ध सम्बन्धविच्छेद मात्र नभएर क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा र नयाँ आधारमा पुनर्सङ्गठित गर्ने विद्रोह हो । यो नयाँ ढङ्गले पहिलोपटक पृथ्वीको विशाल भूभागमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सफल अक्टोबर क्रान्ति, एसियाको विशाल भूमिमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न विजयी चिनियाँ क्रान्तिलगायत क्रान्तिहरू प्रतिक्रान्तिमा बदलिएको दुनियाँमा सगरमाथाको भूमिबाट अन्तिम र कठिन बाटोमा खडा भएर नयाँ पुस्ताको नेतृत्वले लिएको पहलकदमी विश्वका श्रमजीवी वर्ग तथा उत्पीडित जनताका लागि असीमित गौरव र खुसी हो । यो महान् जनयुद्धको नेतृत्वको विचलन एवम् महापतनलाई विचारधारात्मक र राजनीतिक सङ्घर्ष र आजको विश्वराजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, सामरिक (सैन्य) लगायत दृष्टिले नितान्त नयाँ विशेषतामा देखापरेको वस्तुस्थितिलाई एकीकृत जनक्रान्तिको कार्यदिशाद्वारा समाधान गर्ने नयाँ नेतृत्वको ऐतिहासिक पहलकदमी हो । वैचारिक तथा राजनीतिक रूपमा एकीकृत जनक्रान्तिको कार्यदिशा संश्लेषण, कम्युनिस्टहरूको पार्टी, कम्युनिस्ट पार्टी निर्माणको प्रारम्भ, राष्ट्रियता, जनतन्त्र र जनजीविका त्रिआयाम सङ्घर्षमा अग्रणी भूमिका, कम्युनिस्ट अर्थदृष्टिकोणमा विकास, क्रान्तिको रणनीति र कार्यनीति ठोस, राजनीतिक तथा आर्थिक दृष्टिबाट नयाँ ढङ्गले वर्गविश्लेषण, पाँच आधार, चार क्षेत्र र सङ्गठन निर्माणको अवधारणा विकास र सात विशेषताको विश्लेषण एवम् संश्लेषण आदिले पार्टी पुनर्गठन मात्र होइन, जनक्रान्तिको पुनर्सङ्गठित र नयाँ दिशा प्रदान अर्थात् नयाँ कार्यभार प्रस्तुत भएको पुष्टि गर्दछ ।

ग) युगीन कार्यभार

पार्टी पुनर्गठन, जनक्रान्तिको पुनर्सङ्गठित र नयाँ दिशा प्रदान गर्नु आफैँमा युगीन एवम् नयाँ कार्यभार हो । आमजनतालाई आफ्नो कार्यक्रम र कार्यनीतिको औचित्यमाथि विश्वास दिलाउनु, दलाल पुँजीवादी संसदीय व्यवस्था (सत्ता) राजनीतिक सत्तामाथि आधिपत्य जमाउनु र शासकहरूको प्रतिरोध दबाउनु र वैज्ञानिक समाजवादलाई सुनिश्चित तुल्याउनु एकीकृत जनक्रान्तिको विजय, वैज्ञानिक समाजवादको निर्माण, रक्षा र विकास गर्नु युगीन एवम् श्रेयस्कर कार्यभार हो । दलाल पुँजीवादी संसदीय व्यवस्थाका विरुद्ध क्रान्तिकारी सङ्घर्षमा आफ्नो अतुलनीय वीरताद्वारा आमश्रमिक, शोषित तथा उत्पीडित जनसमुदायलाई आफूतिर आकर्षित गर्न, सङ्गठित गर्न र दलाल पुँजीवादी संसदीय सत्ता पल्टाउन तथा जुनसुकै दमनको प्रतिरोधपूर्ण नेतृत्व कुशलतापूर्वक गर्नुपर्दछ । सम्पूर्ण श्रमिक तथा शोषित जनसमुदायका साथमा नयाँ आर्थिक निर्माण, नयाँ सामाजिक सम्बन्ध सिर्जना, नयाँ श्रमको रचना र एकीकृत जनक्रान्तिको बाटोमा सबै कम्युनिस्ट, वामपन्थी, देशभक्त र सच्चा लोकतन्त्रवादी शक्तिहरूलाई डोर्याउन जरुरी छ । केही निष्कर्षहरू लेखमा लेनिनले २७ अप्रिल, १९२० मा ‘सबैमा दृढ, साहसी र क्रान्तिकारी पाइला सार्ने पक्षमा प्रबल र आमभावना पैदा गर्न जरुरी छ । जनसमुदायलाई नयाँ स्थितिमा ल्याउने, क्रान्तिमा अग्रदलको विजय निश्चित गर्ने र वामपन्थी कोरा सिद्धान्तवादलाई उन्मूलन गर्ने । जब ठूलाठूला करोडौँमा गनिने सेनाहरूलाई लडाइँको मैदानमा ओराल्ने र अन्तिम तथा निर्णायक युद्धका निम्ति समाजविशेषका सबै वर्गशक्तिहरूको मोर्चाबन्दी गर्ने कुरा हुन्छ, त्यसबेला प्रचारकौशल मात्र ‘विशुद्व’ साम्यवादको सत्यतालाई दोहोर्याएर मात्र काम चल्दैन । यस्तो परिस्थितिमा हजारसम्म गनेर पुग्दैन । जस्तो जनसमुदायको नेतृत्व गर्ने अवसर नपाएको सानो दलको सदस्य, प्रचारकले गर्दछ, त्यहाँ त लाखौँ–करोडौँमा गन्नु पर्दछ’ भनेझैँ तीन करोड जनताको नेतृत्व गर्न जरुरी छ । लेनिनले थप जोड दिएर ‘क्रान्ति– वर्गहरूको तीव्रतम् सङ्घर्षबाट प्रेरित करोडौँ मानिसहरूका समस्त मानव क्षमताहरू, वर्गचेतना, इच्छा, भावना र कल्पनाको विशेष उत्थान र तनावको समयमा कार्यान्वित गरिन्छ । पहिलो– क्रान्तिकारी वर्गले आफ्नोे कर्तव्य पूरा गर्न कुनै अपवादबिना सामाजिक कार्यका सबै रूपहरू र पहलुमा पारंगत हुनुपर्छ । जोखिम र खतरा उठाउनु हो । दोस्रो– क्रान्तिकारी वर्गले सबभन्दा छिटो र अप्रत्यासित तरिकाले एउटा रूपलाई छोडेर अर्को रूप अपनाउनका लागि सधैँ तयार रहनुपर्छ । परन्तु सबै किसिमका कानुनी र गैरकानुनी सङ्घर्षका तरिकाहरू मिलाउन नजान्ने क्रान्तिकारीहरू बेकम्मा हुन् । क्रान्तिको चरम अवस्थामा– सबै प्रकारका मानिसहरू आफ्नोे शौक मेट्न क्रान्तिमा सामेल हुने गर्दछन् जुन क्रान्तिमा भाग लिनु फेसन बनिसकेको हुन्छ । अझ कतिपय मानिसहरू त व्यक्तिगत स्वार्थसिद्धिका लागिसमेत क्रान्तिमा भाग लिने गर्छन् । त्यसबेला क्रान्तिकारी बन्न गाह्रो पर्दैन’ भन्नुभएको थियो । ५ नोभेम्बर, १९२१ को अहिले र समाजवादको पूर्ण विजयपछि सुनको महत्व लेखमा लेनिनले उल्लेख गर्नुभएको छ ‘क्रान्ति– भनेको त्यस्तो परिवर्तन हो जसले पुरानोलाई आधारभूत रूपमा जरैदेखि उखेलेर फालिदिन्छ र सावधानीसाथ बिस्तारै, अलिअलि गरेर सकेसम्म कम क्षति होस् भन्ने दृष्टिकोणले पुनर्निर्माण गरिरहँदैन । राजनीतिमा ‘सब कुरा चाखिसकेका छन्’ मिथ्यावादी, धोखाबाजी र केटाकेटीपनको प्रदर्शन गर्नेहरूले, वास्तविक परीक्षा पास गरी नसकेकाहरूले, क्रान्तिलाई दैविक रूप दिनेहरूले क्रान्ति शब्दलाई ठूलाठूला अक्षरले लेख्न थालेका थिए ।’ (लेनिन, सङ्कलित रचनासङ्ग्रह, पाँचौँ संस्करण, खण्ड ४४, पृष्ठ २२१–२२९) मा अवसरवादी पात्र र प्रवृत्तिको पर्दाफास गर्नुभएको थियो ।

आज दलाल पुँजीवादी संसदीय व्यवस्थाको सङ्कट पराकाष्टामा पुगेको छ । यो व्यवस्था, पार्टी र व्यक्तिलाई आज आमजनताले छिःछिः र दुरदुर गरिरहेका छन् । दलाल पुँजीवादी संसदीय व्यवस्था सङ्कटग्रस्त र मृत्युशैयामा पुगेको छ । आफूलाई प्रजातन्त्र र लोकतन्त्रको हिमायती ठान्ने व्यक्ति र पार्टीहरूले यो तीतो सत्य स्वीकार्नै पर्दछ । यो व्यवस्था, पार्टी र व्यक्ति जनअपेक्षा, जनविकल्प र जनमत होइन । प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रहको चुनाव र वैज्ञानिक समाजवाद नै जनअपेक्षा, जनविकल्प र जनमत हो । त्यसमा मात्र मुलुक र आमजनताको भविष्य उज्ज्वल र जीवन सुन्दर हुनेछ । एकीकृत जनक्रान्ति–जिन्दावाद । वैज्ञानिक समाजवाद–जिन्दावाद । आठौँ पार्टी पुनर्गठन दिवस–जिन्दावाद ।

८ मङ्सिर, २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :