एकीकृत जनक्रान्तिमा रातो खबरको भूमिका महत्वपूर्ण : महासचिव विप्लव

एकीकृत जनक्रान्तिमा रातो खबरको भूमिका महत्वपूर्ण : महासचिव विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एकीकृत जनक्रान्तिमा जनपक्षीय सञ्चारको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पार्टीको केन्द्रीय प्रकाशन तथा सञ्चार विभागको दुई दिनसम्म काठमाडौँमा सञ्चालित बैठकमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै महासचिव विप्लवले दलाल पुँजीवाद र साम्राज्यवादले फैलाएको भ्रम र हस्तक्षेपलाई चिर्न र परास्त गर्न जनपक्षीय सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेका बताएका हुन् । एकीकृत जनक्रान्तिमा रातो खबर प्रकाशन गृहले निर्वाह गरेको भूमिका रुसी अक्टोबर क्रान्तिमा लेनिनको सम्पादकत्वमा प्रकाशित प्राब्दा र स्क्राले निर्वाह गरेको भूमिकाको स्तरमा रहेको भन्दै प्रकाशन समूहलाई धन्यवाद पनि दिए ।

महासचिव विप्लवले भने, ‘आज १२ जनाको बलिदानपछि राजनीतिक रूपमा केही नगुमाईकन यसरी यहाँसम्म सकुशल आउनु र बैठक बस्नु एकीकृत जनक्रान्तिको एउटा महत्वपूर्ण सफलता हो । दुस्मनहरूले हामीलाई यहाँसम्म आउन नदिन र षड्यन्त्र गरेर समाप्त पार्न खेल खेलेका थिए तर हामी सबैको प्रयत्नबाट त्यो षड्यन्त्र चिरियो । प्रतिबन्धको सामना गरियो र यो अवस्थामा आइपुगेका छौँ । क्रान्तिकारी शक्तिले केही पनि नगुमाईकन सत्ता परिवर्तनको सर्तमा पुरानो सत्तासँग सहमति हुनु र क्रान्ति नयाँ शैलीले अघि बढ्नुमा पार्टीको क्रान्तिकारी तप्काका साथै रातो खबर प्रकाशन गृहको महत्वपूर्ण भूमिका छ ।’ उनले भने, ‘क्रान्ति सम्भव छ । मौलिकता र हाम्रो विशेषतासहितको क्रान्ति सम्भव छ । हामी त्यो सफल पारेर देखाउँछौँ ।’

यतिबेला रातो खबर प्रकाशन गृह एक मात्र व्यवस्थित सञ्चारमाध्यम रहेको स्पष्ट पार्दै महासचिव विप्लवले नेताहरूको सचेततापूवर्कक पहलले बनेको नेपाल कम्युनिस्ट पार्टी र नेपालको मौलिकतामा विकसित एकीकृत जनक्रान्तिको कार्यदिशालाई यो उचाइसम्म ल्याइपु¥याउन रातो खबरको विशेष भूमिका रहेको बताए । ‘चुनौतीहरू छन् तर सामूहिक प्रयत्नले यी चुनौतीहरूको सामना सहजै गर्न सकिन्छ । अस्थायी जीवन बोकेर अत्यन्तै आक्रामक शैलीमा आएको पुँजीवादलाई नष्ट गरेर त्यसको चिहानमा वैज्ञानिक समाजवाद स्थापना गर्न पनि जनपक्षीय सञ्चार र विशेषगरी रातो खबरको भूमिका अद्वितीय छ’, महासचिव विप्लवले दिशानिर्देश गर्दै भने ।

नेपाल कायुनिस्ट पार्टीेको प्रभाव परेको ठाउँमा दलाल पुँजीवादी सत्ताले पैसाको खोलो बगाएर जनमत प्रभावित र दूषित पार्दै लगेको भन्दै महासचिव विप्लवले क्रान्तिका पक्षधर जनतालाई दिग्भमित नपार्न र क्रान्तिका विरुद्ध उभ्याउने दुस्वप्न नदेख्न दलाल पुँजीवादीहरूलाई चुनौती पनि दिए । राष्ट्रघात र राष्ट्रघाती कदम, भ्रष्टाचार, सामाजिक विभेद, महँगी, कालोबजारीविरुद्ध शून्यसहनशीलता अपनाएर प्रतिरोध गर्न महासचिव विप्लवले सञ्चार क्षेत्रमा आबद्ध कार्यकर्तालाई निर्देशन पनि दिए । अब्बल र सभ्य चेतनाका बाहक कम्युनिस्टहरूले समाजलाई सुसंस्कृत र नमुना बनेर रूपान्तर अभियानमा सामेल गराउनुपर्ने र त्यसका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको महासचिव विप्लवको भनाइ थियो ।

बैठकमा नेकपाका केन्द्रीय सचिवालय सदस्यहरू कञ्चन र सुदर्शनको पनि उपस्थिति थियो । बैठकले पार्टीको केद्रीय प्रचार तथा प्रकाशन विभागका इन्चार्जसमेत रहेका रातो खबरका निर्देशक वसन्त श्रेष्ठ ‘प्रज्वलन’ को अध्यक्षतामा सञ्चालन भएको थियो । बैठकमा पार्टी केन्द्रीय सदस्य असल क्षेत्री पनि सहभागी थिए ।

बैठकमा प्रकाशन गृहका सम्पादक अशोक सुवेदीले पार्टी केन्द्रीय समितिको सर्कुलर वाचन गरेका थिए । पार्टीको प्रकाशन विभाग विशेष समितिका सदस्यहरू विप्लव, सुदृष्टि, दर्शन, आशिष, जानकी, डीआर, गोपाल र ज्वलन्तले विस्तृत रिपोर्टिङसहित प्रकाशनका चुनौती र सम्भावनाहरू प्रस्तुत गरेका थिए ।

बैठकले पार्टीको मुखपत्र जनक्रान्ति, साप्ताहिक रातो खबर, मासिक दृष्टिकोण प्रकाशन, पिपुल्स रिभोलुसन, अनलाइन र यूट्युब च्यानललाई अझ प्रभावकारी र हस्तक्षेपकारी बनाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :