अखिल क्रान्तिकारी इलामको दोश्रो पूर्ण बैठक तथा प्रशिक्षण

अखिल क्रान्तिकारी इलामको दोश्रो पूर्ण बैठक तथा प्रशिक्षण

इलाम : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी इलाम जिल्ला समितिको दोश्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । सङ्गठनका जिल्ला इन्चार्ज बिनोद मगरको अध्यक्षता र सञ्चालनमा सम्पन्न बैठक तथा प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज सुमनसिंहको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी पार्टीका जिल्ला सचिव मौसम र सङ्गठनका एक नम्बर प्रदेश इन्चार्ज पुष्पको आतिथ्यता रहेको थियो ।

बैठकमा उपस्थित विद्यार्थीहरूलाई प्रशिक्षण दिँदै सुमनसिंहले हामीले समाजका जुन खराबीहरूलाई बदल्न खोजेका छौँ ती खराबीहरू हाम्रो जीवनमा पनि धेरथोर आएको बताए । सबै भन्दा पहिला हामीले हामीभित्र विद्यमान खराबीबिरुद्ध बिद्रोह गर्नुपर्छ र हामी आफूबिरुद्ध बिद्रोह गर्न तयार छौँ भने हामी कम्युनिस्ट बन्न सक्छौँ । सुमनसिंहले भने, ‘हामी कम्युनिस्ट बन्न सकियो भने मात्र हामीले दुष्ट सत्ताबिरुद्ध बिद्रोह गर्न सक्छौँ र सुन्दर समाज निर्माण गर्न सक्छौँ । हाम्रो सपना यो मुलुक मात्रै होइन सिङ्गो बिश्वलाई साम्यवादी बनाउने हो, हाम्रो मञ्जिल त्यो हो, त्यसैले यति विशाल सपना बोक्ने विद्यार्थीले इमानदार भएर क्रान्तिको नेतृत्व लिन हिम्मत गर्नु पर्छ ।’

प्रमुख अतिथिसमेत रहेका सुमनसिंहले इलामको विद्यार्थी आन्दोलनबाट दर्जनौँ विद्यार्थीहरूले बलिदान गरेको स्मरण गर्दै कटक साम्पाङ्ग, गोकुल निरौलालाई आजसम्म राज्यले बेपत्ता बनाएको र उहाँहरूको जीवनको आहुतीले पैदा गरेको मूल्यसँग यतिबेला इलामका विद्यार्थीहरू जोडिन सक्नुपर्ने बताए । विधमान राजनीतिक परिस्थितिको विषयमा बोल्दै सत्ता चरम सङ्कटमा फसेको र यसको निकास वैज्ञानिक समाजवाद मात्र हुन सक्ने र यो निकासबाट अब कसैले चाहेर पनि भाग्न नसक्ने सिंहले बताए । साथै उनले पार्टीले प्रस्ताव गरेको जनमतसङ्ग्रह जनताको अधिकार भएकोले यो अधिकार प्राप्तिको निम्ति विद्यार्थीहरूले सङ्घर्ष गर्नुपर्ने बताए ।

प्रशिक्षणमा पार्टीका जिल्ला सचिव मौसम र सङ्गठनका प्रदेश इन्चार्ज पुष्पले आफ्नो भनाइ राखेका थिए । बैठकले इलामको विद्यार्थी आन्दोलनलाई शसक्त बनाउन महत्वपूर्ण निर्णयहरू लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :