अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी प्रदेशमा हिमाल

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी प्रदेशमा हिमाल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, लुम्बिनी प्रदेशको भेला रुपन्देहीको सैनामैनामा सम्पन्न भएको छ । भेलाले हिमालको संयोजकत्वमा १५ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ ।

प्रदेश कमिटीका सदस्यहरूमा विहानी मगर (रुपन्देही), रूपसिंह विश्वकर्मा (पाल्पा), प्रतिरोध (दाङ), र्याम (रोल्पा), पिङ्की (प्युठान), देवराज देउकी (कपिलवस्तु), जयकिसन (नवलपरासी), प्रदीप राहादीमगर (गुल्मी), पदम नेपाली (अर्घाखाँची), सम्मान (रूकुम पूर्व र विशेष जिल्ला) रहेका छन् । बाँके र बर्दियाबाट पछि थप गरिने संयोजक हिमालले बताएका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृतिले वर्तमान दलाल पुँजीवादमाथि स्रष्टाहरूले चौतर्फी सिर्जनात्मक हमला गर्नुपर्ने बताउँदै संसदीय व्यवस्थाविरुद्ध जनमतसङ्ग्रहमार्फत् वैज्ञानिक समाजवाद प्राप्तिको पक्षमा सिर्जनात्मक दायित्व पूरा गर्नुपर्ने बताए । उनले सांस्कृतिक रुपान्तरण आफैँबाट सुरु गर्नुपर्ने भन्दै जनता र समाजसित जोडिएको वैकल्पिक संस्कृति निर्माणमा जोडदिए । नेता कृतिले लेखक साहित्यकार एवम् संस्कृतिकर्मीहरू आधारभूत वर्गको जीवनलाई केन्द्रमा राखेर सिर्जना गर्नुपर्ने भन्दै दलाल पुँजीवादी संस्कृतिविरुद्ध सङ्घर्षको विकल्प नभएको बताए ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाले जनयुद्धको नेतृत्वमा आएको विचलनले अलपत्रमा परेको क्रान्तिको झण्डालाई एकीकृत जनक्रान्तिले उठाएको भन्दै यसले जनयुद्धकालीन सपनाको विरासतलाई नयाँ कडीमा जोडेको बताए । उनले माओवादी आन्दोलन छिन्नभिन्न भएपनि क्रान्तिका सपना र उद्देश्यहरू नटुटेको भन्दै पुरानो सत्ताले निर्माण गरेको विमानवीकरणविरुद्ध सङ्घर्ष आवश्यक भएको बताए । यस्तै महासङ्घका केन्द्रीय सदस्य एवम् अखिल नेपाल लेखक सङ्घका महासचिव खोमा तरामुमगरले लेखक एवम् संस्कृतिकर्मीहरू क्रान्तिको अग्रभागमा बसेर जनतालाई जागृत गराउनुपर्ने भन्दै समाजवादी संस्कृतिको प्रचारप्रसारलाई जोडदिनुपर्ने बताए ।

प्रदेश भेलामा रोल्पा, प्युठान, रुकुम, दाङ, कपिलवस्तु, रूपन्देही, पाल्पा, नवलपरासीलगायतका जिल्लाहरूबाट प्रतिनिधिमूलक सहभागिता रहेको थियो । भेलाको अवसरमा स्रष्टाहरू पारस राहादीमगर, रेश्मी, जयकिसन, सम्मान, रुपसिंह विश्वकर्मा, साया, आदेश, प्रविणलगायतले गीत, कविता, गजल, मुक्तक वाचन गरेका थिए ।

कार्यक्रमको सुरुवातमा महासङ्घ रुपन्देही अध्यक्ष विहानी मगर र संग्रामी परिवारका कलाकार प्रमिसाले अन्तर्राष्ट्रि गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :