मूल्यबद्धि फिर्ता नगरे तत्कालै आन्दोलनमा उत्रिने जागरण मञ्चको चेतावनी

मूल्यबद्धि फिर्ता नगरे तत्कालै आन्दोलनमा उत्रिने जागरण मञ्चको चेतावनी

काठमाडौँ : राष्ट्रिय जागरण मञ्चले आफूलाई लोकतन्त्रको मसिहा ठान्ने र प्रतिगमनका विरुद्ध लडेर सरकार गठन गरेको भनी बनेको गठबन्धनको सरकारले दैनिक अत्यावश्यक उपभोग्य बस्तुको यसरी निरन्तर र उच्च मूल्यबद्धि गर्नुले यसको वास्तविक अनुहार छर्लङ्ग भएको बताएको छ । मञ्चका संयोजक गुण्राज लोहनीले बिहीबार प्रेस विज्ञप्ति जारी गरी देउवा सरकारले कात्तिक महिनामा मात्र ३ पटकसम्म मूल्यबृद्धि गर्नुले यो सरकारले जनतामारा नीति लिएको सहजै बुझ्न सकिने भन्दै बजारमा उपभोग्य वस्तुको मूल्यले उपभोक्ताको ढाड सेकिरहेको बेला सरकारकै योजनामा भएको उक्त मूल्यबृद्धिलाई तत्कालै हटाउनका साथै, यसअघिका सबै मूल्यबद्धि खारेज गर्न जोडदार माग गर्दै यदि समयमा नै मूल्यबद्धि फिर्ता नगरेमा तत्कालै आन्दोलनमा उत्रिन सबै उपभोक्तामा विशेष अनुरोधसमेत गरेका छन् ।

राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको उपभोक्ताले दैनिक गुजारा नै चलाउन नसक्ने गरी मूल्यबृद्धि गरेको छ । कात्तिक महिनामा मात्र ३ पटकसम्म मूल्यबृद्धि गर्नुले यो सरकारले जनतामारा नीति लिएको सहजै बुझ्न सकिन्छ । आफूलाई लोकतन्त्रको मसिहा ठान्ने र प्रतिगमनका विरुद्ध लडेर सरकार गठन गरेको भनी बनेको गठबन्धनको सरकारले दैनिक अत्यावश्यक उपभोग्यबस्तुको यसरी निरन्तर र उच्च मूल्यबद्धि गर्नुले यसको वास्तविक अनुहार छर्लङ्ग भएको छ ।’

मञ्चका संयोजक लोहनीले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘सरकारकै योजनामा भएको उक्त मूल्यबृद्धिलाई तत्कालै हटाउनका साथै, यसअघिका सबै मूल्यबद्धि खारेज गर्न हाम्रो मञ्च जोडदार माग गर्दछ । यदि समयमा नै मूल्यबद्धि फिर्ता नगरेमा तत्कालै आन्दोलनमा उत्रिन सबै उपभोक्तामा मञ्च विशेष अनुरोध गर्दछ ।’

नेपाल आयल निगमले हिजो पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँ बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :