नेपाल बन्द पेट्रोलिय पदार्थको मूल्य बृद्धि फिर्ता गराउन हो, बन्द सफल पारौँः माइला लामा

नेपाल बन्द पेट्रोलिय पदार्थको मूल्य बृद्धि फिर्ता गराउन हो, बन्द सफल पारौँः माइला लामा

 

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टीका  केन्द्रीय सदस्य माइला लामाले कार्तिक ३० गतेको नेपाल बन्द सफल पार्न सबैलाई अपिल गरेका छन् । नेकपा काठमाडौँले शान्तबाटिकामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै ३० गतेका लागि आयोजना गरिएको नेपाल बन्द सफल पार्न सम्पूर्ण नेपाली जनतालाई अपिल गरेका हुन् ।लामाले पेट्रोलिय पदार्थमा भएको मूल्य बृद्धि फिर्ता लिन दबाब दिनका लागि नेपाल बन्दको आयोजना गरिएको बताए ।

‘यो आन्दोलन नेकपाका लागि होइन, सम्पूर्ण नेपाली जनताका लागि हो । हाम्रो अपेक्षा सरकारले ३० गते भन्दा यतै मूल्य बृद्धि फिर्ता लेओस् भन्ने हो ।’ विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘यदी ३० गतेसम्म फिर्ता भएन भने नेपाल बन्दको कार्यक्रम सफल पार्न सबैले सहयोग गर्नु पर्ने हुन्छ ।’

पेट्रोलिय पदार्थमा भएको मूल्य बृद्धिले जनताको भान्सामा असर पार्ने भन्दै सरकारले जानी जानी दलालको इसारामा मूल्य बृद्धि गरेको बताए ।

‘यो सरकार जनताको सरकार होइन, यो त मुठ्ठीभर दलालहरुको सरकार हो ।’ उनले भने, ‘यसले काम गर्ने भनेकै दलालको पक्षमा हो । उनीहरुको इसाराका चल्दा नेपाली जनताको ढाड सेकिएको छ ।’

उनले भने, ‘पेट्रोलिय पदार्थमा मूल्य बृद्धि हुँदा ढुवानी भाडा बढ्छ, सामानहरु महङ्गीदै जान्छ, सवारी साधनको भाडमा बृद्धि हुन्छ र यसको मारमा सर्वसाधारण जनता परिरहेका हुन्छन् । र मुठ्ठीभरका दलालहरुले ठूलो मात्रमा आम्दानी गर्छन् ।’

यो दलाल सत्ता र संसदीय व्यवस्था विस्थापित नभएसम्म नेपाली जनताले सुख र शान्तिको श्वास फेर्न नसक्ने भन्दै यसको विकल्प खोज्नु पर्ने बेला आएको बताए ।

सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्नका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै बुँदा नम्बर २ मा भएको सहमति अनुसार आन्दोलन घोषणा भएको बताए ।

‘हामी शान्तिपूर्ण रुपमा जनताका आवाजहरु बुलन्द गर्दै आएका छौँ । हाम्रो यो अभियान अन्तरगर्त पार्टीले नेपाल बन्द सहितका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । आन्दोलन सफल पार्नु नेपाली जनताको पनि सफलता हुनेछ ।’

कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :