पेट्रोलियम पदार्थको मुल्य बृद्धि विरुद्ध नेकपा दाङद्वारा विरोध प्रदर्शन 

पेट्रोलियम पदार्थको मुल्य बृद्धि विरुद्ध नेकपा दाङद्वारा विरोध प्रदर्शन 

दाङ: नेपाल कम्युनिस्ट पार्टी दाङले पेट्रोलियम पदार्थमा सरकारले गरेको चरम मुल्य बृद्धि विरुद्ध  विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।

दाङको तुलसीपुरमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा दाङका कार्यालय सदस्य एवम तुलसीपुर उपमहानगरपालिका इन्चार्ज विकासले जनताको जीवनसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक पेट्रोलियम तथा खाद्यवस्तुमा नेपाल सरकारले निरन्तर मुल्य बृद्धि गर्नुले जनता कंगाल हुने स्थिति सिर्जना भएकोप्रति आक्रोश व्यक्त गरे । उनले पेट्रोल, डिजेल, मट्टीतेलमा प्रतिलिटर ३ रुपैया, आन्तरिक तथा बाह्य हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैया र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाका दरले गरिएको मुल्यबृद्धिले जनता चरम संकटमा परेको बताए । नेता विकासले जनतामाथी गरिने दोहनलाई टुलुटुलु हेरेर आफ्नो पार्टी नबस्ने चेतावनी दिए । नगर इन्चार्ज विकासले सम्पूर्ण मुल्यबृद्धि खारेज नहुदासम्म आफ्नो पार्टीले संघर्ष जारी राख्ने उद्घोष गरे । साथै मुल्यबृद्धिका विरुद्ध पार्टीले कार्तिक २५ गतेदेखि चरणबद्ध आन्दोलन कार्यक्रमहरु सार्वजनिक गरेकोमा आन्दोलनमा ऐक्यबद्धता र सहभागिताका लागि अपिल समेत गरे ।

विरोध प्रदर्शनमालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य एवम् दाङ जिल्लाका अध्यक्ष अमरले जनता लुट्ने लुटेरा शासकहरुका विरुद्ध संगठन निरन्तर संघर्षमा होमिने उद्घोष गरे । उनले विभिन्न वाहानामा दैनिकजसो गरिने मुल्यबृद्धिले गरिखाने वर्गलाई एक छाक टार्न मुस्किल परिरहेको भन्दै मुल्यबृद्धि फिर्ता नगरिए सडकबाटै आन्दोलनको आधिबेहरी सिर्जना गर्ने चेतावनी दिए । उनले भने,`हामी जनताका विरुद्ध हुने जुनसुकै हर्कतका विरुद्ध शिरमा कफन बाँधेर हिडेका छौँ, बरु सडकमै मृत्यु स्वीकार गर्छौं तर सत्य बोल्छौँ ।´

बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै  एक अर्का वक्ता अखिल नेपाल किसान महासंघ क्रान्तिकारी दाङका संयोजक पोषणले राज्यसत्ता लुटेराहरुको हातमा रहदासम्म श्रमिक जनताहरुले महंगीको मारमा श्वाससम्म फेर्न नपाउने बताए । उनले जनताले मुठ्ठीभर दलाल पुजिपतीको हातबाट सत्ता कब्जा गरेर मात्रै मुक्ति पाउने विचार व्यक्त गरे । उनले भने, `यो सत्ताको उपहार नै महंगी, कालोबजारी, भ्रस्टाचार, बेथिति, विसंगति हो ।´ नेता पोषणले यसबाट मुक्ति चाहने हो भने राज्यसत्ता बदल्नेमा जुट्नुपर्ने धारणा राखे । 

मुल्यबृद्धि विरुद्धको विरोध प्रदर्शन कार्यक्रमको संचालन नेकपा दाङका सदस्य एवम तुलसीपुर उपमहानगरपालिका ५ का इन्चार्ज इश्वरीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :