सुस्तामा गरिएको भारतीय हस्तक्षेपविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन

सुस्तामा गरिएको भारतीय हस्तक्षेपविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन

काठमाडौँ : पश्चिम नवलपरासीको सुस्ता डुबान क्षेत्रमा भारतीय एसएसबीले नाँपजाँच गरेको विरुद्ध नेपाल कम्युनिस्ट पार्टीका जनवर्गीय सङ्गठनहरूले विरोध प्रदर्शन गरेका छन् । भारतीय हस्तक्षेपविरुद्ध नेकपा निकट जनवर्गीय सङ्गठनहरूले मङ्गलबार दिउँसो माइतीघर मण्डलामा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

विरोध सभालाई सम्बोधन गर्दै नेकपाकी केन्द्रीय सदस्य तथा अनेमसङ्घ (क्रान्तिकारी) की अध्यक्ष बन्धु चन्दले नेपाल सरकारले भारतीय हस्तक्षेपका विरुद्धमा नबोल्नु दलालीको पराकाष्ठ भएको बताइन् । ‘भारतीय एसएसबीको टोलीले नेपालको भूमि नापेर गएको छ ।’ सुरक्षाका लागि खटिएको प्रहरी बोल्दैन, गृहमन्त्रालयको संयन्त्र त्यहाँ छ त्यो पनि केही बोल्दैन । यो दलालीको पराकाष्ठ हो ।’ सभालाई सम्बोधन गर्दै अध्यक्ष चन्दले भनिन्, ‘यो दलालीकरण र दलाल सत्ता नढलेसम्म सीमाको समस्या समाधान हुँदैन । त्यसका लागि नेपालमा वैज्ञानिक समाजवाद आवश्यक छ ।’ उनले वैज्ञानिक समाजवाद स्थापनाको अभियानमा लामबद्ध हुन सबै नेपालीलाई अपिलसमेत गरिन् ।

कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले भारतले नेपालको भूमि नापेको मात्र नभई नेपालीहरूको हैसियत नापेको बताए । ‘भारतीय एसएसबीले नेपालको जमिन मात्र नापेको होइन, राष्ट्रवादी नेपालीहरूको हैसियत पनि नापेर गएको छ ।’ सभालाई सम्बोधन गर्दै शाहीले भने, ‘त्यसका लागि भारतीय हस्तक्षेपका विरुद्धमा एक पटक नेपाली जुरुक्क उठ्नुपर्ने बेला आएको छ ।’

कार्यक्रममा काठमाडौँ, ललितपुर, भक्तपुरमा रहेको पार्टी केन्दीय सदस्य, विभिन्न जनवर्गीय सङ्गठनका प्रमुख तथा प्रतिनिनिधि, युवा, विद्यार्थी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

विरोध प्रदर्शनमा युवा, विद्यार्थी, महिला, दलित, पत्रकार लगायतको उपस्थिति रहेको थियो । नेकपाका जनवर्गीय सङ्गठनहरूले सोमबार संयुक्त रूपमा विज्ञप्ति सार्वजनिक गर्दै कार्यक्रममा सहभागी हुन आग्रह गरेका थिए । विरोध सभा कार्यक्रममा भारतीय हस्तक्षप मुर्दावाद, सुस्तामाथिको हस्तक्षेप बन्द गर, एमसीसी चाहिँदैन, कालापानी लिपुलेक लिम्पियाधुरा हाम्रो हो, वैज्ञानिक समाजवाद जिन्दावाद, जनमतसङ्ग्रहको घोषणा गर लगायतका नारा लगाइएका थिए ।

सोमबार मात्रै भारतीय एसएसबीको टोलीले नेपालको भूमि नापेर गएको थियो । केही दिनमा उक्त भू–भाग पनि आफ्नो नक्सामा पार्ने तयारी स्वरुप नापेको स्थानीयको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :