सरकार होइन, राज्यसत्ता बदल्नुपर्छ

सरकार होइन, राज्यसत्ता बदल्नुपर्छ

नेपालमा यतिबेला राज्यसत्ता सङ्कटमा छ । युवा साथीहरूले सबभन्दा बढी राज्यसत्ता कस्तो हुनुपर्छ र के भइरहेको छ भन्ने कुरा जान्नुपर्छ । तपाईंहरूले यो जान्नुभएन भने हामीले जतिसुकै राम्रो आन्दोलन गरे पनि, जतिसुकै राम्रो काम गरे पनि यसको कुनै अर्थ हुँदैन । त्यसकारण म युवाहरूलाई के भन्न चाहन्छु भने २०५२ सालदेखि ०६३ सालसम्म हामीजस्तै दस हजार युवाले ज्यान गुमाए । नेपाली जनताका सर्वोत्तम छोराछोरीले ज्यान गुमाए । प्रतिपक्षबाट ७ हजार गरी १७ हजारले ज्यान गुमाए । यति ठूलो बलिदान भयो तर नेपालमा पुरानो राज्यसत्ता ढालिएन । नेपालमा नयाँ जनवादी क्रान्ति गर्ने र वैज्ञानिक समाजवाद ल्याउने भनेर जुन कसम खाएका थियौँ हाम्रो मूल नेतृत्व विचलित भएपछि त्यो पूरा हुन सकेन र युवाहरूको रगत खेर गयो । आज युवाहरूलाई के स्मरण गराउन चाहन्छु भने जतिसुकै ठूला र ऐतिहासिक आन्दोलन भए पनि राज्यसत्तालाई बदल्न सकिएन भने फेरि उही ठाउँमा पुगिन्छ ।

हामी हिजो शेरबहादुर नेतृत्वको सरकारका विरुद्ध लड्यौ र १७ हजार मानिसको रगत बगायौँ तर आज त्यही देउवासँग मिलेर पुष्पकमल दाहालहरू, बाबुराम भट्टराईहरू घाँटी जोडेर फेरि पनि त्यतै लागेका छन् । त्यही सत्तामा फर्केका छन् । जुन सत्ताका विरुद्ध हामी लडेका थियौँ उनीहरू आज त्यही सत्तामा फर्केका छन् । त्यसकारण युवाहरूले हामीभित्रको दुस्मनलाई, हामीभित्रको अवसरवादलाई चिन्ने होइन भने त्यसले फेरि त्यही ठाउँमा लैजान्छ । घुमिफिरी हामी रुम्जाटार पुग्छौँ । हामी वैज्ञानिक समाजवादमा पुग्न सक्दैनाैँ ।

म विशेष जोड दिएर भन्न चाहन्छु– मैले आजभन्दा २५ वर्ष अघिदेखि नै भन्ने गरेको छु– मैले ४० वर्षको कम्युनिस्ट आन्दोलनको अनुभवबाट लगातार सिकेको के हो भने कम्युनिस्टहरू क्रान्ति गर्न चाहन्छन् भने उनीहरूले पुरानो राज्यसत्ता ढाल्नैपर्छ । त्यो राज्यसत्तामा सरकार, सेना, प्रहरी, अदालत, कर्मचारी प्रशासन र जेल ६ वटा अङ्गलाई बिर्सेर क्रान्ति गरियो भने, कि त एकाध मौका छोपेर सरकारमा मात्र गइयो भने के हालत हुन्छ भन्ने कुरा हाम्रो आँखाअगाडि नै छ । हामीले कुनै सेना परिवर्तन गरेनौँ र सेनाको बानी पनि परिवर्तन नगरी प्रचण्ड गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री भएको बेला एउटा मात्र परिवर्तन गर्न खोजे, प्रधानसेनापति फालेर अर्को सेनापति ल्याउन खोजे तर प्रधानसेनापति बदलिएन । प्रधानमन्त्री बदलियो किनकि हामीले राज्यसत्ता परिवर्तन गरेका थिएनौँ ।

अर्को ताजा घटना सुनाउँछु । प्रधानमन्त्री केपी ओलीले यो सरकार पाँच वर्ष चलाउँछु भने तर अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री चुनेर पठाइदियो । पुरानो अदालत नबदलेपछि त्यही केपी र प्रचण्डको दसा हुने हो । म के पनि सचेत गराउन चाहन्छु भने हाम्रो पार्टीको महासचिव पनि यही सत्तामा पुरानै तानाबाना राखेर यो देशको प्रधानमन्त्री हुनुभयो भने पनि हुने त्यही नै हो । म मन्त्री भएँ भने पनि मैले गर्ने त्यही नै हो । यहाँ तपाईंहरूले पनि विशेष रूपमा के बुझ्न जरुरी छ भने राज्यसत्ताका ६ वटै अङ्ग बदल्नुभएन भने अथवा यसलाई परिवर्तन गर्नुभएन भने समस्याको समाधान हुँदैन र वैज्ञानिक समाजवाद कहिल्यै पनि आउँदैन । वैज्ञानिक समाजवाद ल्याउनका लागि यो गर्न जरुरी छ । यसका साथै म के भन्न चाहन्छु भने राज्यसत्ता बदलेर मात्र हुँदैन, मान्छेको दिमागमा पनि परिवर्तन हुन आवश्यक छ । मान्छेको दिमाग भनेको आदतको सत्ता हो । यो पनि परिवर्तन हुन आवश्यक छ । आदतको सत्ता परिवर्तन भएन भने पनि हालत त्यस्तै हुन्छ । त्यसकारण हामीले आदतको सत्तासँगै राजनीतिक सत्ता पनि परिवर्तन गर्नुपर्ने हुन्छ । हामीले श्रम गर्ने र सामूहिक कार्य गर्नेतिर आदतको सत्ता बनाउनुपर्छ । मेहनत गर्ने र पढ्नेतिर हाम्रो आदत हुनुपर्छ । हाम्रो आदत भनेको नपढेर पास गर्ने र जसरी पनि कुनै पनि तरिकाबाट पैसा कसरी कमाउने भन्ने आदत छ भने हामी सत्ता परिवर्तन गर्दैैनाैँ र आदत परिवर्तन हुँदैन ।

म सबै युवा साथीहरूलाई के भन्न चाहन्छु भने क्रान्ति गर्न अन्यत्र कतै नजानुहोस्, आफ्नो परिवार र आफू बसेको पार्टी समितिलाई समाजवादको एकाइ बनाउनुहोस् । यो संसदीय व्यवस्था भनेको मर्न लागेको, कोमामा रहेको मान्छेजस्तै हो । यसलाई वरिपरिबाट साम्राज्यवादीहरूले प्राण फुकिरहेका छन् । यसलाई बचाउन अनेक खेल गरिरहेका छन् । यसलाई छिटो बिदाइ गर्नका लागि आज युवाहरु अग्रमोर्चामा लाग्निुपरेको छ ।

आज अदालतको अवस्था बेहाल छ । कर्मचारीतन्त्र पूरै भ्रष्टाचारमा डुबेको छ । आज गाउँपालिकाहरू मन्दिर बनाउने योजना बनाउँछन् र देवताका नाममा पनि ठगिरहेका छन् । कोरोना नियन्त्रणका नाममा एउटा गाउँपालिकाले १४ करोडसम्म भ्रष्टाचार गरेको प्रमाण प्राप्त भएको छ । त्यसकारण युवा साथीहरूलाई यो पुरानो, कोमामा पुगेको राज्यव्यवस्थाको मलामी जान तयार हुन आग्रह गर्न चाहन्छु । पुरानो सत्तालाई अन्त्य गरी नयाँ, वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नका लागि सबै युवाहरूलाई तयार हौँ भन्न चाहन्छु ।

(नेकपाको केन्द्रीय सचिवालय सदस्य सुदर्शनको यो विचार हामीले यही कात्तिक १३ गते दाङको घोराहीमा आयोजित युवा सङ्गठन नेपालको राष्ट्रिय सम्मेलन उद्घाटनका अवसरमा अतिथिका रूपमा व्यक्त शुभकामना मन्तव्यबाट लिएका हौँ– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :