आठौँ पार्टी पुनर्गठन दिवसको तयारीमा जुट्दै नेकपा मकवानपुर

आठौँ पार्टी पुनर्गठन दिवसको तयारीमा जुट्दै नेकपा मकवानपुर

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुर पनि आउँदै गरेको पार्टी पुनर्गठन दिवस मङ्सिर ८ को तयारीमा जुट्ने भएको छ । कात्तिक १२ गते नेपाल कम्युनिस्ट पार्टी जिल्ला सम्पर्क कार्यालय हेटौँडामा बसेको नेकपा मकवानपुरको १९ औँ पूर्ण बैठकले उक्त निर्णय लिएको हो ।

निरङ्कुश तथा तानाशाही राज्य व्यवस्था परिवर्तन गर्दै जनमुखी तथा समाजवादी व्यवस्था निर्माणार्थ विभिन्न चरणका क्रान्तिको दौरानमा हालको संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद स्थापनाका लागि २०७१ साल मङ्सिर ८ गते महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गरिएको थियो । पार्टी पुनर्गठन पश्चात विभिन्न किसिमका जन सङ्घर्ष गर्दै, दुई बर्षे राज्यको दमनकारी प्रतिबन्ध खेप्दै जनताकै बीचबाट पार्टी अहिलेको सहज परिस्थितिमा आइपुगेको कुरा बैठकका प्रमुख अतिथि एवम् पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनले जानकारी गराए । हिजोका दिनमा जेजस्तो भए पनि प्रतिबन्ध फुकुवा पश्चातको पहिलो पार्टी पुनर्गठन दिवस भव्य र सभ्य ढङ्गले हजारौँहजार जनताको माससहित काठमाडौँमा गर्ने निर्णय पार्टी केन्द्रले गरेको छ । यसलाई सफल बनाउने महत्वपूर्ण जिम्मेवारी नेकपा मकवानपुरको काँधमा आएकोले बैठकको निर्णय अनुसार सबैजना आ–आफ्नो कार्यक्षेत्रको तयारीमा जुट्न प्रमुख अतिथि नयनले सहर्ष अनुरोध गरेका छन् । साथै उनले बैठकका अन्य निर्णय अनुसार विभिन्न जिम्मेवारी पाएका सबै जिल्ला सदस्यहरूले पार्टीको नीति र विधानमा टेकेर इमान्दारिताका साथ परिणाम मुखी काम गरेर कामकाजी पार्टी/सङ्गठन बनाउनसमेत प्रेरित गरेका छन् ।

उक्त बैठकले जिल्ला समितिमा नयाँ चार जना सदस्यहरू थप गरेको छ । थप गरेसँगै नव नियुक्त जिल्ला सदस्यहरूलाई बैठकका प्रमुख अतिथि नयन, अध्यक्ष वाटरसहित सबै सचिवालय सदस्यहरूले स्वागत गर्नुका साथै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

जिल्ला सेक्रेटरी वाटरको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै बेलुका ८ बजे समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :