जनमतसङ्ग्रह जनताको लोकप्रिय कार्यनीति हो : विप्लव

जनमतसङ्ग्रह जनताको लोकप्रिय कार्यनीति हो : विप्लव

बुटवल : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीले अगाडि सारेको जनमतसङ्ग्रहको कार्यनीति जनताको लोकप्रिय कार्यनीति भएको बताएका छन् । अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकको बुटवलमा उद्घाटन गर्दै महासचिव विप्लवले जनमतसङ्ग्रह मुर्दाहरूले गर्ने नभई क्रान्तिकारीहरूले गर्ने भन्दै यो कार्यनीति एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा अन्तर्गतको कार्यनीति भएको बताएका हुन् ।

महासचिव विप्लवले भने, “बन्दुक नबोकी र संसद नछिरि वैज्ञानिक समाजवादमा पुग्ने नयाँ कार्यनीति जनमतसङ्ग्रह हो ।” उनले यसको पक्षमा सम्पूर्ण बुद्धिजीवी, शिक्षकहरूले बहस सिर्जना गर्नुपर्ने बताए । विप्लवले शिक्षकहरू समाज रुपान्तरणको अग्रभाग हुनुपर्ने भन्दै शैक्षिक र पेशागत मुद्दाका साथै वैज्ञानिक समाजवादको पक्षमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । महासचिव विप्लवले पार्टीलाई अनिवार्य श्रमसित जोड्नुपर्ने बताउँदै भने, “पार्टीलाई आगामी दिनमा आर्थिक दृष्टिले आत्मनिर्भर बनाउने र चन्दा उठाएर पार्टी चलाउने परम्परालाई अन्त्य गछौँ ।” उनले दलाल संसदीय पुँजीवादी व्यवस्थाबाट जनता आजित भएको भन्दै पुँजीवादी संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने सवालमा जनतालाई फैसला गर्ने अधिकार दिनुपर्ने बताए । महासचिव विप्लवले आफूहरूले जनयुद्धको सुरुवातदेखि नै नेपालमा संसदीय व्यवस्था असफल भएको बताउँदै आएको भन्दै जनमतसङ्ग्रह जनताको तागतमा हुने बताए । उनले जनमतसङ्ग्रहबाट संसदीय व्यवस्थाको पराजित हुने अवस्था देखेपछि यसको विपक्षमा गलत टिकाटिप्पणी भएको समेत बताए ।

यसैगरी बैठकमा नेकपा केन्द्रीय सदस्य तथा सङ्गठनका फ्याक्सन इन्चार्ज भेषराज भुसालले नेपालको बिद्यमान शिक्षा प्रणाली दलालहरूको कब्जामा परेको र यसको अन्त्यबिना नेपाली बिद्यार्थीले भोग्नु परेका शैक्षिक र शिक्षकले भोग्नु परेका पेशागत मुद्दा हल नहुने कुरामा जोड दिए ।

कार्तिक २, ३ र ४ गते बुटवलमा सम्पन्न सङ्गठनको पूर्ण बैठकले आगामी माघ २१, २२ र २३ गते चितवनमा सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले सम्मेलनको नारा “दलाल पुँजीवादी शिक्षा प्रणालीको अन्त्यका लागि हाम्रो आन्दोलन, वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाका लागि सातौँ राष्ट्रिय सम्मेलन” तय गरेको छ । बैठकले सङ्गठन सुदृढ र विस्तार अभियानलाई तीव्रता दिने निर्णय गर्दै सम्मेलन सम्पन्न गर्न केन्द्रीय समितिका पदाधिकारीको कार्य विभाजनसमेत गरेको छ ।

जस अन्तर्गत प्रदेश नम्बर १ मा टीकादेवी राई, २ नं. प्रदेशमा लक्ष्मीराम ढकाल, बाग्मती प्रदेशमा केशव रेग्मी, गण्डकी प्रदेशमा वीरबहादुर गुरुङ्ग, लुम्बिनी प्रदेशमा गुणाखर भट्टराई, कर्णाली प्रदेशमा रुद्रबहादुर केसी र सुदूर–पश्चिम प्रदेशमा धनबहादुर बमलाई इन्चार्जको जिम्मेवारी दिएको छ । बैठकले आगामी पुष मसान्तसम्ममा प्रदेश, जिल्लाका बैठक, भेला र सम्मेलन गरिसक्ने निर्णय गरेको छ । सङ्गठनका केन्द्रीय सदस्य तथा सङ्गठनबाट नेपाल शिक्षक महासङ्घमा अर्थ उप–महासचिवको पदमा प्रतिनिधित्व गर्नुहुने शेरबहादुर अधिकारीको स्मृतिमा जाजरकोट जिल्लाले प्रकाशन गर्न गइरहेको “शेरबहादुर अधिकारी स्मृति प्रतिष्ठान” लाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शेरबहादुर अधिकारीको मृत्युुपश्चात् नेपाल शिक्षक महासङ्घको रिक्त हुन गएको उक्त पदमा सङ्गठनका सचिव मदनराज जोशीलाई सिफारिस गर्ने निर्णय गरिएको सङ्गठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराईले जानकारी दिए ।

बैठकले सङ्गठनलाई आत्मनिर्भर गराउने गरी विभिन्न उत्पादनका क्षेत्रको सम्भाब्यता अध्ययन गरी रिपोर्ट पेश गर्न सम्पूर्ण प्रदेश समितिलाई निर्देशन दिएको छ । बैठकले शिक्षकहरूको ऐतिहासिक पृठभूमि समेटेर बायोडाटा सङ्कलन गर्ने र समसामयिक शैक्षिक तथा पेशागत बिषयलाई सहित शैक्षिक बुलेटिन प्रकाशन गर्ने निर्णय लिएको छ ।

बैठक सङ्गठनका अध्यक्ष घनश्याम पाठकको अध्यक्षता र महासचिव रमेश रुपाखेतीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :