तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै चरिकोटमा विरोध प्रदर्शन

तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै चरिकोटमा विरोध प्रदर्शन

दोलखा : नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्लाले तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शन बसपार्कबाट सुरु भएर सातदोबाटो बीचबजार हुँदै पशुपति डाडाबाट सोही रुट फिर्ता भई सातदोबाटोमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै दोलखा जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य विशाल जिरेलले दलाल सरकारले राजबन्दीहरूलाई तत्काल रिहाइ नगरिएको खण्डमा भई परि आउने आँधीबेहरी आन्दोलनको सामना यो दलाल राज्यले गर्नुपर्ने बताए । साथै दुई खाले शिक्षाको अन्त्य गरि समान शिक्षा लागू गर्नुपर्ने पनि बताए ।

कोणसभामा बोल्दै जिल्ला कमिटी सदस्य तथा जनसत्ता प्रमुख ज्ञानबहादुर खड्का उजिरले दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्था प्राप्ति नहुञ्जेल लडिरहने उद्घोष गरे । त्यस्तै बोल्ने क्रममा अ.ने.क्रा.ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य जित थामीले मजदुरहरूको हकहित प्राप्त नहुन्जेलसम्म सङ्गठनको तर्फबाट लडिरहने बताए ।

त्यसैगरी जिल्ला कमिटी सदस्य राजकुमार लामिछानेले सम्पूर्ण राजबन्दीहरूलाई यो सरकारले बिनासर्त रिहाइ गर्नुपर्ने बताए । त्यस्तै कोणसभामा बोल्दै जिल्ला कमिटी सदस्य सोम पाख्रिनले बन्दी साथीहरूलाई रिहाइ गर्नुपर्ने, जनमतसङ्ग्रहको घोषणा गर्नुपर्ने र एनसेलले अझैँ पनि कर तिर्न नमाने झन् ठुलो परिणाम बोग्नुपर्ने बताए ।

कोणसभामा अखिल नेपाल (क्रान्तिकारी) किसान महासङ्घका जिल्ला अध्यक्ष र जिल्ला कमिटी सदस्य गोपाल उप्रेती, मेनुका उप्रेति र कर्णबहादुर थामी लगायतको उपस्थिति थियो । कोणसभाको सञ्चालन जिल्ला कमिटी सदस्य तथा युवाको जिल्ला संयोजक भरत थामीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :