गैर न्यायिक गिरफ्तारीविरुद्ध कपिलवस्तुमा विरोध कार्यक्रम

गैर न्यायिक गिरफ्तारीविरुद्ध कपिलवस्तुमा विरोध कार्यक्रम

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल कपिलवस्तुले गैर न्यायिक गिरफ्तारीविरुद्ध विरोध कार्यक्रम गरेको छ । कपिलवस्तु जिल्ला सदस्य योगेन्द्र पुन मगरलाई प्रहरीले शुक्रबार राती पक्राउ गरेको कार्य गैर न्यायिक गिरफ्तारी भएको भन्दै विरोध कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

शनिबार वडा प्रहरी कार्यालय चन्द्रौटामा विरोध कार्यक्रमलाई सम्बोधन गर्दै युवा सङ्गठन नेपालका कपिलवस्तु जिल्ला इन्चार्ज रबि ओली ‘बादल’ ले गैर कानुनी रुपमा गरेका कार्यलाई नियन्त्रण गर्न खोज्दा प्रहरीले गरेको पक्राउ गैर न्यायिक भएको बताए । उनले आजको मितिसम्म योगेन्द्रलाई रिहा नगरे आगामी दिन कडा र सशक्त रुपमा प्रस्तुत हुने चेतावनी दिए । बादलले कालोबजारी, कमिसनखोर र मिलेमतोमा हुने कामलाई नियन्त्रण गर्ने एकमात्र सङ्गठन आफ्नो भएको जिकिर गरे । यो पक्राउले प्रष्ट देखाएको कार्यप्रति होनहार युवा र सकारात्मक कार्यको पक्षमा नभएको जनाउँदै आफ्नो लडाइँ प्रहरीसँगको नभएर शासकसँग रहेको बादलले बताए ।

यस्तै युसने शिवराज नगर अध्यक्ष बिनोद लुइँटेल ‘पावेल’ ले दिनप्रतिदिन देशमा बढ्दै गएको गैर कानुनी कामप्रति सरकार मौन रहेको जनाउँदै सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको बताए । आफू राजनीतिक हिसाबले जिम्मेवार भएकोले जो सुकैले गरेको अबैध कार्यप्रति आफू लगायत सिङ्गो पार्टीले नै संवेदनशील भएको जनाए । उनले शुक्रबार अबैध रुपमा खसी बोकाको ओसारपसार गरेको कार्य निन्दनीय भएको बताउँदै प्रहरीले गरेको गैर न्यायिक गिरफ्तारी भएको दावी गरे । दिनानुदिन मौलाउँदै गएको चरम भ्रष्टाचारविरुद्ध सदैव तत्पर भएको बताउँदै गिरफ्तार भएको मगरलाई बिना सर्त रिहा नगरे क्रमबद्ध विरोध कार्यक्रम तय गरिने पावेलले बताए ।

युवा सङ्गठन नेपालले शुक्रबार भारतको सिमा नाकाबाट अबैध तस्करी गरेर ट्रकमा ल्याउँदै गरेको १३३ भन्दा बढी खसी बोका नियन्त्रणमा लिई प्रहरी प्रशासनलाई बुझाउने क्रममा योगेन्द्र पुनलाई शिवराज–१, शिवपुरबाट वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी इन्स्पेक्टर शंकर आचार्यको टोलीले पक्राउ गरेको हो ।

यस घटनाले बिचौलिया, तस्कर र प्रहरी प्रशासनको मिलेमतो यस्ता कार्य हुँदै आएको पुष्टि गर्दै जिल्लामा भएको अबैध तस्करी, कमिसनखोर र बिचौलियाहरूविरुद्ध सङ्घर्ष गर्दा गृहप्रशासनले गरेको निकृस्त हर्कत र गृहकार्यको कडा निन्दा गर्दै पुनलाई तत्काल रिहा गर्न चेतावनी दिएको छ । यस्ता अबैध, गैरकानुनी क्रियाकलाप तथा गतिविधि नरोके सम्म कडा सङ्घर्ष गर्ने चेतावनी दिएको युवा सङ्गठन नेपाल जिल्ला अध्यक्ष सागरको हस्ताक्षर विज्ञप्तिमा उल्लेख छ ।

भारतीय सिमासँग जोडिएको जिल्लाको बिजयनगर गाउँपालिकाको जवाबैराठ र छुटपाती नाकाबाट बर्षौदेखि अबैध तस्करी हुँदै आइरहँदा पनि प्रहरी प्रशासन र स्थानीय निकाय मौन बसेको स्थानीयले गुनासो गरेका छन् । यसरी प्रतिदिन लाखौँको अबैध तस्करी हुनु प्रहरी प्रशासन र बिचौलियाहरूको मिलोमतोमा गैरकानुनी अबैध कारोबार भइरहेको बिजयनगरका स्थानीय जवाबैराठ बासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :