मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी) रूपन्देहीमा यादव

मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी) रूपन्देहीमा यादव

रुपन्देही : नेपाल कम्युनिस्ट पार्टी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी) रूपन्देहीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । रूपन्देहीको रोहिणी गाउँपालिकाको धकधईमा बुधबार भएको भेलाले प्रदेशी यादवको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

जसको उपाध्यक्षमा अविराभ यादव, सचिव पारस यादव, कोषाध्यक्ष मात्रिका हरिजन र सदस्यहरूमा बासुदेव लोध, सुनिता यादव, शेषराम लोध, हलचल कहार, नागेन्द्रनाथ तिवारी, सोहरदप्रसाद यादव र बालकुमारी कुर्मी रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वासले महान् जनयुद्धको क्रममा प्रचण्ड बाबुरामले धोका दिएको कारण उत्पीडित मधेशी समुदायको अधिकार प्राप्त नभएको बताउँदै मधेशी जनताको राज्यसत्ता प्राप्तिका लागि बलिदान दिन तयार रहेको बताएका छन् । उनले दलाल संसदीय व्यवस्थाका कारण राज्यको हरेक क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको भन्दै ती भ्रष्टाचारीहरूलाई पार्टीले कारवाही गर्दा पार्टीमाथि राज्यले प्रतिबन्ध र दमन गरेको स्मरण गरे । सेक्रेटरी विश्वासले मधेशी जनताको न्यायपूर्ण आन्दोलनको क्रममा पार्टीले १२ जना योद्धाहरूलाई गुमाएको भन्दै एकीकृत जनक्रान्तिमार्फत ती सहिद एवम् मधेसी समुदायको सपना पूरा गर्ने बताए । उनले जनमतसङ्ग्रहको माध्यमबाट जनताले आफ्नो व्यवस्था चुन्ने अधिकार रहेको भन्दै त्यसका लागि पार्टीमा गोलबन्द हुनुपर्ने बताए ।

भेलामा राष्ट्रिय थारु मुक्ति मोर्चा नेपाल केन्द्रीय महासचिव तथा नेकपा कञ्चन गैडहवा गाउँपालिका सेक्रेटरी नवीन, नेकपा जिल्ला सदस्य तथा रोहिणी र ओमसोतिया गाउँपालिका सेक्रेटरी शिशिर, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ केन्द्रीय सदस्य तथा नेकपा तिलोत्तमा नगरपालिका सेक्रेटरी श्याम सेन्चुरी, राष्ट्रिय थारु मुक्ति मोर्चा नेपाल रुपन्देही अध्यक्ष तथा नेकपा सिद्धार्थ नगरपालिका सेक्रेटरी जसवन्त, अखिल नेपाल लेखक सङ्घका महासचिव खोमा तरामु मगरलगायतले भेला सफलताको शुभकामना दिएका थिए ।

नेकपा जिल्ला सदस्य प्रदेशी यादवको अध्यक्षता, नेकपा जिल्ला सेक्रेटरी विश्वासको प्रमुख आतिथ्यता, जितेन्द्र यादवको स्वागत र मात्रिका यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा जनसंस्कृतिकर्मी जयकिसानले प्रगतिशील गीत गाएका थिए ।

भेलामा जिल्लाका विभिन्न स्थानहरूबाट मधेशी समुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :