अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा पाणिनी बहुमुखी क्याम्पसमा वृक्षरोपण

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा पाणिनी बहुमुखी क्याम्पसमा वृक्षरोपण

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीको आयोजनामा वृक्षरोपण कार्यक्रम सपन्न भएको छ ।

वासुको स्मृति दिवस र अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा क्याम्पसको वरिपरी क्याम्पसलाई सफा र आकर्षक बनाउन मद्दत गर्ने हेतुले विभिन्न उन्नत् प्रजातिका आकर्षक बेर्नाहरू रोपिएको अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष बाबुराम एसकेले जानकारी दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव खेम घर्ती ‘माहुरी’ ले पार्टीको कार्ययोजना बताउँदै यदि नेपालका सिमेन्ट कम्पनी, एनसेल जस्ता कम्पनीहरूबाट मात्र कर असुल्ने हो भने खर्बौँ रकम उठ्ने बताए । यसै सन्दर्भमा अमेरिकी साम्राज्यवादको एमसीसी परियोजना कुनै पनि हालतमा पास हुन नदिने, एमसीसी विरुद्धका कार्यक्रम चरणबद्ध रुपमा भएको र सम्पूर्ण देशभक्त, बुद्धिजीवी तथा आम नागरिकहरूलाई सहभागी भई सहयोग गर्न अनुरोधसमेत गरे ।

त्यसैगरी अखिल (क्रान्तिकारी) का जिल्ला इन्चार्ज नवीन खड्काले हाम्रो सङ्गठनले यस क्याम्पसको शैक्षिक गुणस्तर बढाउन, क्याम्पसलाई आकर्षक बनाउन अथवा कुनै पनि परिस्थितिमा क्याम्पसलाई सहयोग गर्ने बताउँदै क्याम्पसलाई प्रशासन लागायत सम्पूर्ण शिक्षकहरूलाई बिशेष धन्यवाद दिए । यस्तै पाणिनी बहुमुखी क्याम्पसका नि.प्रमुख बाबुराम शर्मा भुसालले क्याम्पसप्रति यस सङ्गठनले देखाएको मायाप्रति विशेष धन्यवाद दिँदै यो क्याम्पस सामुदायिक क्याम्पस भएको, यहाँको आर्थिक र भौतिक स्थिति कमजोर रहेको, यस क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउन पनि सङ्गठन सहयोगको अपेक्षा रहेको बताए ।

उक्त वृक्षरोपण कार्यक्रम अखिल (क्रान्तिकारी) का अध्यक्ष बाबुराम एसकेको अध्यक्षता, उपाध्यक्ष पदम नेपालीको स्वागत मन्तव्य र गिरिजा खड्काको सञ्चालनमा समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :