एमसीसी सम्झौताबिरुद्ध संयुक्त मोर्चा कास्कीद्वारा विरोध प्रदर्शन गर्ने

एमसीसी सम्झौताबिरुद्ध संयुक्त मोर्चा कास्कीद्वारा विरोध प्रदर्शन गर्ने

पोखरा : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको जनस्तरमा ब्यापक बिरोध चलिरहेको र सरकारले जनभावना बिपरीत, राष्ट्रहित विपरीत रहेको सम्झौता संसदबाट पारित गर्ने जोडबलमा लागेको बिरोधमा संयुक्त मोर्चा कास्कीद्वारा बिरोध कार्यक्रमको आयोजना गरेको छ ।

एमसीसी सम्झौतालाई संसदबाट पारित गराउन दबाब दिने उद्देश्यले उक्त परियोजनाका उपाध्यक्ष फातिमा सुमार सहित उच्च अधिकारी टिम नेपाल आउन लागेको साथै सत्ता पक्षले जवरजस्त राष्ट्रहित बिरुद्धको कदम चाल्न लागेको भन्दै २२ दलीय संयुक्त मोर्चाले देशव्यापी आन्दोलन चर्काउने उद्देश्य अन्तर्गत भदौ २३ गते बुधबार १२ बजे दिउँसो पोखराको मानवअधिकार चोकमा विरोध कार्यक्रम आयोजना गरेको छ ।

संयुक्त मोर्चा अन्तर्गत विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुली, नेकपा (क्रान्तिकारी माओवादी) का कास्की जिल्ला इन्चार्ज रामजी थापा, वैज्ञानिक समाजवादी पार्टीका गण्डक संयोजक बिनोद सोनाम, देशभक्त जनगणतान्त्रिक मोर्चाका कास्की जिल्ला अध्यक्ष टेकनाथ भण्डारी, नेकपा कास्कीका प्रतिनिधि मनिष भट्टराई लगायतको मङ्गलबार जारी प्रेस विज्ञप्तिका अनुसार एमसीसी सम्झौता नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, शान्ति र समृद्धि विरोधी भएकाले यसको खारेजी गर्न सम्पूर्ण देशभक्त, जनतान्त्रिकहरूद्वारा सशक्त प्रतिरोधसहित विरोध गर्नुपर्ने बताएको छ । यस्तै विज्ञप्तिमा विरोध प्रदर्शनमा सहभागी बन्न देशप्रेमी, वामपन्थी, मानव अधिकारकर्मी, लोकतान्त्रिक दलहरू, बुद्धिजीवी, नागरिक समाज सबैलाई अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :