जनपत्रकार सङ्गठन नेपाल बर्दियाको जिल्ला भेला सम्पन्न

जनपत्रकार सङ्गठन नेपाल बर्दियाको जिल्ला भेला सम्पन्न

बर्दिया : जनपत्रकार सङ्गठन नेपाल बर्दियाको प्रथम जिल्ला भेला मधुबनमा सम्पन्न भएको छ । “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्वता, मानवाधिकारको रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता’’ भन्ने मुल नाराका साथ मङ्गलबार प्रथम जिल्ला भेला सम्पन्न भएको हो ।

भेलाले रमेश प्याकुरेलको अध्यक्षतामा १ जना पछि थप्न्ने गरि १५ सदस्यीय जनपत्रकार सङ्गठन नेपालको बर्दिया जिल्ला कार्य समिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष पिताम्वर थारु, सचिव दयाराम न्यौपाने, सह–सचिव पदमबहादुर बुढा र कोषाध्यक्ष सुनिता परिवार निर्वाचित भएका छन् ।

भेलाले अन्य सदस्यहरू विजय चपाई, शक्ति परिवार, अनिल शाही, तनुजा थापा, गिता उपाध्याय, तुलशी थापा, लक्ष्मी सुनार, रिमु चौधरी र दिलचन्द्र चदारालाई निर्वाचित गरेको छ ।

भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका विशेष समिति सदस्य हिमशिखरले सम्बोधन गर्दै सत्य कुरा बोल्दा फाँसी दिने व्यवस्थाको अन्तेष्टी हुने पत्रकारिता चाहिएको बताए । उनले त्यसका लागि गाँस, बाँस, कपास, स्वास्थ्य र शिक्षाको निःशुल्क ग्यारेन्टी गर्ने वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र फासिवादको अन्त्य गर्ने दावी गरे ।

विशेष अतिथि जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य बसन्त बिकले दलाल पुँजीवादी व्यवस्था कायम भएकाले दलाल पत्रकारिता पनि कायम भइरहेको बताए । बिकले दलाल पत्रकारिताको अन्त्य गर्न दलाल संसदीय व्यवस्था नै बदल्नु पर्ने धारणा राखे । त्यसैगरी अर्का बिशेष अतिथि नेपाल कम्युनिस्ट पार्टी बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरीले वर्तमान संसदीय व्यवस्था अन्त्यका लागि संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमतसङ्ग्रह गर्न माग गरे ।

भेलामा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष यादव आचार्य, अखिल क्रान्तिकारी बर्दिया जिल्ला इन्चार्ज लोकेश जोशी लगायतका अतिथिहरूले भेला सफलताको शुभकामना दिँदै जनपत्रकार सङ्गठनले जनताको पक्षमा कलम चलाउनेमा आशावादी भएको बताएका थिए ।

नवनिर्वाचित जिल्ला कार्य समितिलाई भेलाका प्रमुख अतिथि, बिशेष अतिथि लगायतले कार्यकाल सफलताको शुभकामना सहित बधाई दिएका थिए । रमेश प्याकुरेलको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन दयाराम न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :