इतिहासका पानाबाट

षड्यन्त्रको तानाबाना बुन्ने काम भारतीय राजदूत सिंहको प्रत्यक्ष निगरानीमा भएको थियो । कोइरालाजीले भारतलाई टेरपुच्छर लाउन छोडेको आरोप लगाएर उहाँलाई काबुमा ल्याउन त्यसप्रकारको षड्यन्त्रको तानाबाना बुनिएको थियो । भारतका राजदूतलाई मात्र पनि होइन, दूतावासका जिम्मेवार कर्मचारीलाईसमेत नेपालका नेता तथा नीतिनिर्माताहरूले महत्वपूर्ण विषयमा निर्णय गर्दा हामीलाई सोधेर गर्नुपर्छ भन्ने भ्रम रहने गरेको थियो । त्यस्तो सोचाइ पाल्नु भनेको हामीले भनेको मान्नुपर्छ भन्नु हो र राजनीतिक भाषामा त्यस्तो प्रवृत्तिलाई उपनिवेशवादी प्रवृत्ति भनिन्छ । भारत आफैँ साढे दुई सय वर्षसम्म बेलायतको उपनिवेश रहेको र भरखर मात्र त्यसबाट मुक्त भएको मुलुक हुनाले त्यसैका नेता र कर्मचारीबाट आफूलार्ई मालिक र अरूलाई नोकरको व्यवहारको अपेक्षा कसैले राखेका थिएनन् । सत्य र अहिंसाको सन्देश विश्वभरि फैलाउने महात्मा गान्धी स्वतन्त्रता र प्रजातन्त्रका लागि लड्ने विश्वभरिका शान्तिपूर्ण आन्दोलनका प्रेरणा हुन् । उनको नेतृत्वमा स्वतन्त्रता आर्जन गरेको भारतबाट जुन प्रवृत्तिविरुद्ध उनले जीवनभर सङ्घर्ष गरे, त्यसैलाई सर्लक्क अपनाउनेछ भन्ने कल्पना कसैले गरेका थिएनन् । उनका प्रिय शिष्य जवाहरलाल नेहरू जसको नेतृत्वमा हिन्दुस्थान, लोकतन्त्र र अखिल भारतीय राष्ट्रिय काङ्ग्रेस सुरक्षित रहने विश्वास सार्वजनिक रूपमा अनेक पटक व्यक्त गरेका थिए, उनले त्यही नीतिको अनुसरण गर्नेछन् जसलाई उनले उखेलेर फाल्न सम्पूर्ण जीवन अर्पित गरेका थिए भन्ने कुरा पत्याउन कोही तयार थिएनन् । त्यही पत्याउन नसकिने काम नेपालस्थित भारतीय दूतावासबाट भइरहेको थियो । स्वाभिमान नेपालीका लागि त्यस्ता क्रियाकलाप सह्य हुने प्रश्नै थिएन । कोइरालाजीको विरोध त्यसैकोे अभिव्यक्ति थियो ।

हामीले सन् १९५१ मा भारतका अधिकारीबाट जुन तीतो अनुभव गरेका थियौँ त्यसलाई सत्तरीको दशकमा आएर बडो सटिक तरिकाले विश्लेषण गरेका छन् प्याटिक मोनिहान्सले । भारतमा अमेरिकाका राजदूत भएर फर्केपछि सिनेटर बनेका मोनिहान्सले आफ्नो beyond melting pot शीर्षकको किताबमा उदार प्रजातन्त्र अपनाएको भारत र कम्युनिस्ट पार्टीको एकदलीय तानाशाही अँगालेको चीनको विदेश सम्बन्धको तुलनात्मक अध्ययन गरेर उनले जुन निष्कर्ष निकालेका छन्, त्यो भारतका निम्ति आँखा खोल्ने खालको थियो । सन् १९७५ मा भारतमा इमर्जेन्सी लागेपछि त्यहाँ निर्वासित जीवन बिताइरहेका हाम्रा गतिविधि नियन्त्रित भयो । त्यस बेला कोइरालाजी वनारसमा र म गोरखपुरमा बस्ने गथ्र्यौँ । कहीँ जान पनि सुरक्षा अधिकारीको अनुमति लिनुपर्ने भएपछि हामी पनि बन्दीजस्तै हुनपुगेका थियौँ । त्यसै बेला मैले त्यो किताब पढ्ने मौका पाएको थिएँ । खोज र अनुसन्धानमा आधारित पुस्तक, कथा, उपन्यास तथा इतिहासजति चित्ताकर्षक नलागे पनि पठनीय भने अवश्य थियो । हाम्रा लागि जो त्यो समयका भुक्तभोगी थियौँ, त्यसमा वर्णित विवरण आफ्नै कथाव्यथा लेखिदिएजस्तो लाग्ने भएकाले पनि नपढिनहुने पुस्तक बन्न पुगेको थियो– बियोन्ड मेल्टिड पट ।

भारतले सन् १९४७ को १५ अगस्तमा स्वतन्त्रता प्राप्त गरेपछि आफ्ना छिमेकीसँग मात्र होइन, विश्वभरिका देशसँग भारतको राम्रो सम्बन्ध कायम हुन नसक्नुका पछाडिको कारण खोतलेका छन् उनले । भारतले नेपाल, बङ्गलादेश, श्रीलङ्का, मालदिभ्स र बर्मालाई एक वा अर्काे कारणले आवश्यक पर्दा चाहिने सहयोग गर्यो तर कालान्तरमा ती कुनै पनि देश उसका सहयोगी बन्न सकेनन्, आलोचक बन्न पुगे । उता चीनमा कम्युनिस्ट शासन स्थापना हुँदा सशङ्कित बनेका छिमेकीहरू समय बित्दै जाँदा उसका मित्र बन्न पुगे । किन दुवैका साझा छिमेकीहरू भारतलाई अविश्वसनीय र चीनलाई भरपर्दाे मित्र ठान्न पुगे ? त्यसको पछाडिको कारण के हो ? त्यसैलाई केलाएका छन् मोनिहान्सले आफ्नो पुस्तकमा । उनको निचोड बडो रोचक छ । स्वतन्त्र भारत सरकारको विदेश नीति परिचालन गर्ने कूटनीतिक सेवाका जति कर्मचारी थिए, ती सबै बेलायत सरकारअन्तर्गत रहेर काम गरेका र उनीहरूबाटै दीक्षित तथा प्रशिक्षित थिए । त्यस बेला ब्रिटिस गोरा हाकिमलाई ‘मास्टर’ र अरू भारतीय सहयोगीलाई ‘सर्भेन्ट’ भनिन्थ्यो । अङ्ग्रेजी भाषाको मास्टर शब्दबाट हाकिम र मालिक दुवै अर्थ लाग्छ । त्यस्तै सर्भेन्ट शब्दले पनि सेवक र नोकर दुवै अर्थबोध गराउँछ । भारतका विदेश नीति परिचालन गर्ने विदेश मन्त्रालयका अधिकारीहरूले हिजोसम्म उनीहरूले गोराले नेतृत्व गरेको हाकिम स्थानमा जब आफूलाई स्थापित गरे तब उनीहरूले आफूलाई मास्टरको अर्थ मालिक र सर्भेन्टको अर्थ नोकर निकाल्न थाले । स्वतन्त्र भारतको आदर्शमय विदेश नीति र उदार प्रजातन्त्रका लागि हुने विश्वका कुनै पनि कुनाका आन्दोलनलाई समर्थन गर्ने घोषित नीति र व्यवहारमा आकाश–जमिनको फरक आउनुको मुख्य कारण यही हो । भारतीय कूटनीतिज्ञहरूको मास्टर बन्ने प्रवृत्तिले मित्र कमाउने भन्दा विरोधीको सङ्ख्या बढाउने काम गर्यो । उता चीनमा राजवंशको परिवर्तनमा मात्र होइन, गणतन्त्र र कम्युनिस्ट शासन स्थापित भएर विदेश नीतिमा आमूल परिवर्तन आए पनि विदेश सम्बन्ध समाल्ने तिनै व्यक्तिका वंशज थिए जसका पुर्खाले हजारौँ वर्षदेखि त्यही काम गर्दै आएका थिए । उनीहरू मितभाषी मात्र हुँदैनन्, अल्पभाषी पनि हुन्छन् । त्यसैले आफूले थोरै बोलेर अरूका धेरै कुरा सुन्नु चिनियाँ कूटनीतिज्ञका विशेषता बन्न पुगेका हुन् । उनीहरूले मित्र बढाउन नसके पनि कसैलाई चिढ्याएर विरोधी बनाएनन् । मोनिहान्सले भारत र चीनको विदेश सम्बन्धको व्यावहारिक पक्षको गहिरो अध्ययन र विश्लेषणपछि जुन निष्कर्ष निकालेका छन्, त्यो हाम्रो नमिठो अनुभवकै कार्बन कपीजस्तो हुन पुगेकाले पनि मेरो स्मृतिमा ताजै रहेको छ । यद्यपि यो धेरै पछि लेखिएको पुस्तक हो तथापि प्रवृत्ति पुरानो र प्रासङ्गिक भएकाले त्यसको चर्चा गरिएको हो ।

(साभार : मेरो कथाका पानाहरू (खण्ड ३), पृष्ठ २३३–२३५ प्रस्तुतकर्ता : माथवरसिंह)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :