अखिल (क्रान्तिकारी) को मागले CTEVT ले गर्यो अध्ययन शुल्कमा १५% छुट

अखिल (क्रान्तिकारी) को मागले CTEVT ले गर्यो अध्ययन शुल्कमा १५% छुट

काठमाडौँ : अखिल (क्रान्तिकारी) CTEVT क्षेत्रीय समन्वय समितिको मागलाई सम्बोधन गर्दै CTEVT लकडाउन अवधिभरको अध्ययन शुल्कमा १५% छुट गरेको छ ।

CTEVT केन्द्रीय कार्यालयबाट मिति २०७८/०५/०९ गते प्रकाशित सूचनामा परिषद् कार्यालयको मिति २०७८/०५/०४ को निर्णयानुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का आंगिक, परिषद् अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) र परिषद्सँगको साझेदारीमा सञ्चालित प्रमाणपत्र, डिप्लोमा तह र प्रि–डिप्लोमा तहका विभिन्न कार्यक्रमहरूमा फरकफरक शिक्षण शुल्कहरू लिइरहेको सन्दर्भमा कार्यक्रम सञ्चालन गर्दा लिइने शुल्कलाई वैज्ञानिक, व्यावहारिक बनाई सामाजिक न्याय प्रदान गर्न आवश्यक देखिएको हुँदा सो सम्बन्धमा चालू शैक्षिक सत्र २०७८/७९ देखि परिषद् कार्यालयले निर्धारण गरे बमोजिमको शुल्क कार्यान्वयन गर्ने साथै विद्यमान अवस्थामा कोभिड १९ को कारण अधिकांश शिक्षालयहरूमा वैकल्पिक माध्यम समेतवाट पठन–पाठन भएकोले परिषद् कार्यालयबाट वैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालन कार्यविधि, २०७७ लागू भई पठन–पाठन भएको मितिदेखि वैकल्पिक माध्यमबाट मात्र पठनपाठन हुने अवस्थासम्म वैकल्पिक विधिबाट प्रशिक्षण भएको अवधिमा लिइएको वा लिइने शुल्कमा कम्तिमा १५ प्रतिशत शुल्क छुट गर्न परिषद् अन्तर्गत सञ्चालित आंगिक, साझेदारीमा सञ्चालित शिक्षालय तथा प्रतिष्ठान, टेक्स र निजी स्तरमा सञ्चालित शिक्षालयहरूलाई यसै सूचना मार्फत सूचित गरिन्छ भनिएको छ ।

अखिल (क्रान्तिकारी) CTEVT ले मिति २०७८/०५/०२ गते लकडाउन अवधिको अध्ययन शुल्कमा ५०% छुट लगायतका ८ बुँदे मागपत्र CTEVT का सदस्य सचिव जीवनारायण काफ्लेलाई बुझाएको थियोे ।

क्रान्तिकारीसँग मिति २०७८ वैशाख १३ गते CTEVT कार्यालयले गरेको सहमति कार्यान्वयन गर्दै कार्यालयबाट २०७८/०५/०४ मा प्रकाशित सूचनामा शैक्षिक सत्र २०७८/७९ देखि लागू हुने गरी CTEVT का आंगिक, परिषद् अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टैक्स) र परिषद्सँगको साझेदारीमा सञ्चालित प्रमाणपत्र, डिप्लोमा तह र प्रि–डिप्लोमा तहका विभिन्न कार्यक्रमहरूमा अधिकतम शुल्क निर्धारण गरेको छ ।

यसअघि CTEVT का आगिंक, सामुदायिक विद्यालय, साझेदारीमा समेत विद्यार्थीबाट मनोमानी ढङ्गले शुल्क लिने गरेको थियोे । क्रान्तिकारीले मागपत्र राखि आन्दोलन गरे पश्चात् भएको सहमतिले CTEVT कार्यालय शुल्क निर्धारण गर्न बाध्य भएको हो ।

रातोखबरसँग कुरा गर्दै क्रान्तिकारीका सचिवालय सदस्य तथा CTEVT क्षेत्रीय समन्वय समितिका संयोजक मिलन राईले “हामी वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको सङ्घर्षमा छौँ जहाँ शिक्षा राज्यको दायित्वको विषय हुन्छ तर हामीलाई थाहा छ वैज्ञानिक समाजवादी व्यवस्था बिना वैज्ञानिक समाजवादी शिक्षा लागू हुन सक्दैन । तसर्थ अहिले हाम्रो जोड बढीभन्दा बढी सर्वसुलभ बनाउने र शिक्षालाई गुणस्तरीय बनाउनेमा छ । हाम्रो मागहरूको आंशिक सम्बोधन भएको छ तर यो पर्याप्त छैन । CTEVT ले निर्धारण गरेको शुल्क अझैँ घट्नुपर्छ । लकडाउन अवधिको अध्ययन शुल्कमा ५०% छुट गर्न हाम्रो माग छ जसका लागि हाम्रो सङ्घर्ष निरन्तरतामा नै छ । हाम्रो अन्य मागहरूको सम्बोधन र हामीसँग गरिएका सहमतिहरू CTEVT कार्यालयले चाडो कार्यान्वयन गरोस् भन्ने हामी चाहन्छौँ अन्यथा सङ्गठनलाई सङ्घर्षको विकल्प छँदैछ ।” भनि बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :