दलित मुक्ति मोर्चा, नेपाल दाङको दोस्रो बैठक सम्पन्न

दलित मुक्ति मोर्चा, नेपाल दाङको दोस्रो बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा, नेपाल दाङको दोस्रो जिल्ला बैठक मङ्गलबार घोराहीमा सम्पन्न भएको छ ।

बैठकले जिल्ला सम्मेलन गर्ने, असोज महिनाभित्र पालिका भेला गर्ने, जिल्लामा अन्तरक्रिया÷छलफल तथा भेटघाट गर्ने, छुवाछुत, दलित हिंसाको विषयमा जनचेतना फैलाउने तथा भण्डाफोर गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ । बैठकले जिल्ला अन्तर्गत पालिका इन्चार्जहरूको जिम्मेवारी पनि ठोस गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्यमा बसेको बैठकमा नेकपा बिशेष कमिटी सदस्य तथा दलित मुक्ति मोर्चा, नेपालका केन्द्रीय उपाध्यक्ष सीता विक ‘सम्झना’, नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप, नेकपा घोराही नगर इन्चार्ज तिलकको आतिथ्य रहेको थियो ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले वैज्ञानिक समाजवादी राज्य व्यवस्थामा मात्रै दलितहरूको अधिकार सुनिश्चित हुने बताए । इन्चार्ज शितलले आफ्नो पार्टीले नेपालमा वैज्ञानिक समाजवाद प्राप्तिको लागि जनमतसङ्ग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिने एजेन्डा अघि सारेको बताए । उनले विश्वमै असफल सिद्ध संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने बिषयमा जनमतसङ्ग्रह हुनुपर्ने बताए ।

यस्तै बैठकमा मन्तव्य राख्दै नेकपा बिशेष कमिटी सदस्य तथा दलित मुक्ति मोर्चाकी केन्द्रीय उपाध्यक्ष सीता विक ‘सम्झना’ ले नेपालमा अहिले पनि लाखौँ दलितहरूलाई मानवीय व्यवहार नगरिएको बताइन् । उनले सम्पूर्ण उत्पीडित समुदायको अधिकार संसदीय व्यवस्थाबाट सम्भब नभएको जिकिर गरिन् । नेतृ सम्झनाले आफूहरू दलितहरूको अधिकारका लागि दस बर्ष भीषण जनयुद्ध लडेको तर नेतृत्वको गद्दारीका कारण सबै उपलब्धि गुमाउनु परेको बताइन् । एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा अघि बढेर आफ्नो अधिकार प्राप्त गर्नु नै अहिले सम्पूर्ण दलित समुदायको गहन जिम्मेवारी भएको नेतृ सम्झनाको भनाई थियो ।

यसैगरी बैठकमा मन्तव्य राख्दै नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले समग्र जिल्लाको योजनासहित जिल्लामा मोर्चाले गर्ने काम कारवाहीको बिषयमा प्रशिक्षित गरेका थिए ।

दलित मुक्ति मोर्चा, नेपाल दाङको दोस्रो बैठकको सञ्चालन तथा अध्यक्षता मोर्चाका जिल्ला अध्यक्ष सुरजले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :