सहमति उल्लंघन गर्दै सरकार, नेकपा कार्यकर्ताका नाममा श्रृङ्खलाबद्ध पक्राउपुर्जी

सहमतिप्रति इमानदार बन्न सरकारलाई नेकपा वार्ताटोली सदस्य दीपकको आग्रह

सहमति उल्लंघन गर्दै सरकार, नेकपा कार्यकर्ताका नाममा श्रृङ्खलाबद्ध पक्राउपुर्जी

सरकार र नेकपाका बिचमा भएको तीन बुँदे सहमतिअनुसार हालसम्म नेकपाका नेताकार्यकर्तामाथि लगाइएका सबै मुद्धा खारेज भएर रिहा भइसक्नुपर्ने थियो। सरकारसँगको सहमतिअनुसार न त अहिलेसम्म कार्यकर्ता रिहा भएका छन् न त मुद्धा नै खारेज भए।सरकार बरू एकपछि अर्को कार्यकर्ताका नाममा श्रृङ्खलाबद्ध पक्राउपुर्जी जारि गरिरहेको छ। सोमबार केन्द्रीय सदस्य दलबहादुर धामी अग्नीको शुक्लाफाँटा स्थित घरमा पक्राउपुर्जी टाँस गरियो भने सोमबारै दार्चुलाका विद्यार्थी नेता जीवन बिष्ट , सुरेन्द्र बिष्टको लेकम गाउँपालिका १ सर्मौली कोठारस्थित घरमा पक्राउपुर्जी लिएर प्रहरी पुग्यो। मंगलबार अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य विरेन्द्र बिकको लम्कीचुहा नगरपालिका १ स्थित घरमा पक्राउपुर्जी टाँस गरिएको छ।

आफ्नो घरमा पक्राउपुर्जी टाँस गरिएपछि अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य विरेन्द्र बिकले सरकारले झुट्टा मुद्धा बनाएर नेकपासंगको सहमति भाँड्न खोजेको आरोप लगाए।प्रतिबन्धकै क्रममा आफूलाई गिरफ्तार गरेर अदालति प्रक्रियाबाट जमानतमा रिहा भएको जनाउँदै राजद्रोह को नाममा हाल आएर पक्राउपुर्जी जारि गरेर सरकारले मुडभेट निम्त्याउन खोजेको उनको भनाई थियो।

सरकारसँग तीन बुँदे सहमति गरेर वार्तामा आएको नेकपा सहमति कार्यान्वयनमा खासै प्रगति हुन नसक्दा उद्वेलित भएको छ। आफ्नो पार्टीले इमानदार भएर सहमति कार्यान्वयन गरिरहेको र सरकार पनि इमानदार बनोस् भन्ने चाहना रहेको बताउँछन नेकपा केन्द्रिय सदस्य तथा वार्ताटोलीका सदस्य उदयबहादुर चलाउने “दिपक “।सहमति भएको पाँच महिना नाघिसक्दा पनि आफुहरूले संयमता अपनाइरहेको र सरकारले श्रृङ्खलाबद्ध रूपमा झुट्टा मुद्धामा पक्राउपुर्जी जारी गरिरहने हो भने आफ्नो पार्टी पनि कडा प्रतिवाद गर्न बाध्य हुने उनले बताए।

सहमति कार्यान्वयन नहुँदा राजनैतिक मुद्दाहरूमा सम्वाद अगाडी बढ्ने सम्भावना घट्दै गएको र यसले राजनैतिक मुडभेट निम्त्याउन सक्ने समेत उनले बताए। सरकारले जिम्मेवार बन्दै सहमति विपरितका कार्य नरोक्ने हो भने नेकपा समेत सहमति कार्यान्वयन गर्न बाध्य नहुने उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :