दार्चुला सीमा नाकामा भएको घटनाको सत्यतथ्य छानबिन गर : संयुक्त विद्यार्थी

कञ्चनपुर : दार्चुलाको तुइन घटनाबारे सुदूरपश्चिममा क्रियाशील विद्यार्थी सङ्गठनहरूले भारतीय अमानवीय हिंसात्मक गतिविधिको घोर भत्र्सना गर्दै दार्चुला सीमा नाकामा भएको घटनाको सत्यतथ्य छानबिन सहित दोषी उपर कडा कारवाहीको माग गर्दै सोमबार संयुक्त विज्ञप्ति जारी गरेका छन् । जसमा सुदूरपश्चिमका सत्ता पक्ष विपक्ष लगायतका ९ वटा सङ्गठनहरूले न्यायको पक्षमा विज्ञप्ति मार्फत ऐक्यबद्धता जाहेर गरेका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘दार्चुलाको व्यास गाउँपालिकाबाट भारतको उत्तराखण्ड राज्यको पांगल हुँदै खलङ्गा आउँदै गर्दा मिति २०७८ साउन १५ गतेका दिन व्यास गाउँपालिका ०२ मालघाटमा तुइनबाट महाकाली नदी तर्ने बेलामा भारतीय एसएसबीका जवानद्वारा तुइन खोली दिँदा ३५ बर्षीय नेपाली नागरिक जयसिंह धामी बेपत्ता भएका छन् । मानवअधिकारका सम्पूर्ण मूल्यमान्यताहरूलाई मात दिने यस्तो अमानवीय जघन्य अपराधको कडा निन्दा र भत्र्सना गर्दछौँ । विगतमा केही वर्ष अगाडि पनि कञ्चनपुरमा गोबिन्द गौतमको गोली हानी गरिएको हत्या यसको ज्वलन्त उदाहरण हाम्रो अगाडि छ । यो यस घटनाले भारतीय विस्तारवाद÷साम्राज्यवादको नेपालप्रतिको हेपाह, थिचोमिचो गर्ने प्रवृत्ति र अवैज्ञानिक अन्तर्राष्ट्रिय दृष्टिकोण स्पष्ट भएको छ । यो घटना घटिसके पश्चात् घटना स्थलका प्रत्यक्षदर्शीहरूबाट सबैकुरा तथ्यगत रुपमा पुष्टि भएको छ । तर जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी र प्रशासन कार्यालयले भारतीय हत्यारा एसएसबीहरूलाई नै बल पुग्ने गरि अभिव्यक्ति दिने र प्रेस विज्ञप्ति जारी गर्ने कुरा अत्यन्तै खेद जनक र दुःखद छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यो घटनाका सबै तथ्य र प्रमाणहरू घाम जत्तिकै छर्लङ्ग छन् । छानबिन र अध्ययनका नाममा जनताको आँखामा छारो हाल्नु भन्दा समयमै घटनाको वास्तविकता सार्वजनिक गरि हत्यारा एसएसबीहरूलाई कारवाहीको प्रक्रियामा ल्याउने गरि पहलकदमी लिन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । नेपाल र नेपाली जनताको राष्ट्रिय स्वाधीनता, स्वाभिमान, आत्मसम्मानको रक्षा र जयसिंह धामीलाई न्याय दिलाउनका लागि प्रतिरोध सङ्घर्षमा उत्रिन सम्पूर्ण न्यायप्रेमी आमजनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :