जयसिंह धामी हत्याको विरुद्धमा नेकपा दाङद्वारा विरोध प्रदर्शन

जयसिंह धामी हत्याको विरुद्धमा नेकपा दाङद्वारा विरोध प्रदर्शन

भारतीय एसएसबीद्वारा दार्जुलाका जयसिंह धामीको हत्याको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले दाङले शनिबार विरोध प्रदर्शन गरेको छ । 
श्रावण १५ गते शुक्रवार दार्चुलाको व्यास गाउँपालिका २ मालगाउँका ३५ वर्षिय जयसिंह धामीलाई भारतीय सिमा सुरक्षा बल एसएसबीले तुइन काटेर महाकाली नदीमा खसाएर बेपत्ता बनाएको घटनाको विरोधमा घोराहीमा प्रदर्शन गरिएको छ ।

विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले भारतीय साम्राज्यवादीद्वारा नेपाल र नेपाली जनता माथिको ज्यादतीको घोर निन्दा गरे । उनले जयसिंह धामीका हत्यारालाई कारवाही गर्न र नेपाली जनताको शान्ति, सुरक्षा कायम गर्न संसदवादीहरुले नसकेको बताए ।
इन्चार्ज शितलले आफूहरु नेपाली भूमिमा खरानी हुने तर भारतीय साम्राज्यवाद विरुद्ध निरन्तर डटेर लड्ने उद्घोष गरे । यो व्यवस्थाबाट जनता र रास्ट्रको रक्षा सम्भव नभएको भन्दै यो व्यवस्थालाई ध्वस्त गर्नैपर्ने धारणा राखे ।

तीन बुँदे सहमतिबारे भ्रममा नपर्न र यो सहमति दिल्लीबाट निर्देशित नभएको बरु आफ्नै विवेकले नेपाल र नेपाली जनताको बिचमा गरिएको नेता शितलले बताए ।कार्यक्रमका प्रमुख वक्ता समेत रहेका नेता शितलले वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाका लागि पार्टीले जनमतसंग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिने राजनीतिक कार्यनीति लिएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटनले संसदवादी दलहरु भारतीय गुलाम,साम्राज्यवादीहरुका दास भएकाले घटनाको विरुद्ध चुइक्क बोल्न नसकेको बताए । उनले आफूहरु जनताको अधिकार, राष्ट्रियता, स्वाधीनताको पक्षमा संघर्ष गरेकाले नै दलालहरुले आफूहरुलाई प्रतिबन्ध लगाएको बताए । संयोजक पाटनले जयसिंह धामीलाई बेपत्ता बनाउनेलाई छानबिन गरि कार्वाही नगरे देशव्यापी कडा संघर्ष गर्ने उद्घोष गरे । उनले भने, हामी चुप लागेर बस्दैनौँ, कि तपाईहरु कार्वाही गर्नुस् नत्र हामी गर्छौं । संयोजक पाटनले राष्ट्रघाती एमसीसी सम्झौता पास गर्ने दुस्साहस नगर्न चेतावनी दिए । उनले एमसीसी पास भए नेपालमा अर्को बिद्रोह हुने चेतावनी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै दलित मुक्ति मोर्चाकी केन्द्रीय उपाध्यक्ष सम्झनाले भारतीय साम्राज्यवादले यो देशलाई निल्ने सपना नदेख्न चेतावनी दिइन् । उनले वीरता र गौरवको प्रतिक भनेर चिनिने देशमाथी भारतको नांगो हस्तक्षेप अस्वीकार्य भएको बताइन् । सिमा अतिक्रमण, सिमानाका बासिन्दामाथी भारतको बारम्बारको हस्तक्षेपलाई राज्यले टुलुटुलु हेरेर बस्ने मात्रै गरेकोप्रति नेतृ सम्झनाले कडा आपत्ति प्रकट गरिन् । विरोध प्रदर्शन सभाको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी घोराही नगर इन्चार्ज तिलकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :