जयसिंह हत्याको विरुद्व झापामा नेकपाको विरोध प्रदर्शन

जयसिंह हत्याको विरुद्व झापामा नेकपाको विरोध प्रदर्शन

झापा: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले दार्चुलामा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी) ले तुइन काटेर जयसिंह धामीको हत्या गरेको विरूद्व विरोध प्रदर्शन गरेको छ ।

आज दिउँसो ३ बजे मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित सिमानाका काकडभिट्टामा नेपाल कम्युनिस्ट पार्टीले जयसिंह धामी हत्या प्रकरणमा विरोध प्रदर्शन गरेको हो । नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा भएको उक्त विरोध प्रदर्शन कार्यक्रम देवकोटा पार्क नजिकै बसपार्कबाट शुरू भएर भट्टराई चोक हुँदै बजार परिक्रमा गरेर हनुमान मन्दिर परिसरमा आएर कोणसभामा परिणत भएको थियोे । विरोध र्‍यालिमा जयसिंहलाई न्याय दे, भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपाली माथि भएको हत्या हिंसा बन्द गर , वैज्ञानिक समाजवाद जिन्दावाद, राष्ट्रघाति एमसीसी सम्झौता मुर्दावाद लगायतका नारा लगाइएको थियो ।

पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सुमन लिम्बूको नेतृत्व रहेको उक्त कार्यक्रममा जिल्ला तहका नेता तथा कार्यकर्ताहरू, जनवर्गीय संगठन र स्थानीयको समेत बाक्लो उपस्थिति रहेको थियो । कोणसभालाई नेपाल कम्युनिस्ट पार्टी झापाका जिल्ला सचिव प्रशान्त र कार्यालय सचिव एवम् अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज संजय राईले सम्बोधन गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै जिल्ला सचिव प्रशान्तले अव्यवस्थित राज्यसत्ता र संसदिय व्यवस्था कायम रहुन्जेल जनताले दुख पाइरहने भन्दै अबको नेपाली जनताको भाग्य र भविष्यको बाटो वैज्ञानिक समाजवादको बाटो रहेको ठोकुवा गरे । भारतीय हस्तक्षेप र दादागिरी कुनै पनि हालतमा सह्य नहुने भन्दै सबै नेपाली जनताले यसको विरोध गर्नुपर्ने उल्लेख गरे ।

यस्तै कार्यालय सचिव सञ्जयले कुनै पनि हत्या हिंसा , भ्रष्टाचार, बेथिति, अन्याय, अत्याचार पार्टीलाई सह्य नहुने भन्दै यसका विरूद्व जहिले जहाँ र जुनसुकै परिस्थितिमा सशक्त संघर्ष र प्रतिकारमा उत्रने बताए । आक्रोशित भएका उनले केपी, प्रचण्ड, देउवाहरू विदेशीको गोटी बनेको भन्दै संसदीय व्यवस्था असफल भैसकेको र व्यवस्था परिवर्तनका लागि आफुहरू बलिदान गर्न तयार रहेको बताए । भारतीय अतिक्रमण र दादागिरीका विरूद्व जस्तोसुकै संघर्ष गर्न तयार रहेको भन्दै उनले नेपालका नेता साम्राज्यवादी र पश्चिमाको कारिन्दा भएका कारण जनताल यो अवस्था भोग्नुपरेको उल्लेख गरे। पार्टील १८ गते दमकमा पुनः प्रदर्शन गर्ने जानकारी दिएको छ ।

दार्चुला जिल्लाको ब्यास गाउँपालिकामा पर्ने महाकाली नदीमा तुइन तरिरहेका ३३ वर्षिय जयसिंह धामीलाई भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी) ले तुइन काटेर नदीमा खसालिदिएका थिए । ब्यास गाउँपालिकाबाट भारतको बाटो हुँदै दार्चुला जिल्ला सदरमुकाम खलंगा आइरहेका उनी पार गरिरहेका थिए ।

नेपाल तर्फबाट महाकाली नदीको आधा भागमा पुगेका जयसिंह एसएसबीले भारतपट्टि बाँधिएको तुइन (तार) काटिदिएपछि उनी नदीमा तारसँगै बेरिएर झरी बेपत्ता भएको हुन् । घटना विवरणअनुसार शुक्रबार बिहान जयसिंह धामीसहित सोही ठाउँका बहादुरसिंह धामी, अमरसिंह धामी, मन्नाम धामी, अनिता धामी, कल्यान धामी र विक्रम रंकोली सहितका सातजना भारतको बाटो हुँदै दार्चुला सदरमुकाम आउन घरबाट हिँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :