सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान

सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले सुदृढ जनसम्बन्ध तथा सङ्गठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । सोही अभियान अन्तर्गत शुक्रबार जिल्लाको पञ्चदेवल बजारदेखि क्याम्पससम्म मध्यपहाडी राजमार्गको छेउछाउमा वृक्षरोपण गरिएको छ । जिल्लाको ढकारी गाउँपालिकाबाट यस अभियानको उद्घाटन गरिएको हो ।

वृक्षरोपणपछि कार्यक्रममा बोल्दै एरिया इन्चार्ज सज्जन धामी ‘चट्टान’ ले अहिलेका अन्य संसदवादी पार्टीले हालसम्म पनि जनताको जीवनस्तरमा कुनै ठोस रुपान्तरण गर्न नसकेको बताए । उनले ती दलले चुनावी प्रक्रियामा गतिला नारा र एजेण्डा ल्याएर जनता र समुदायभित्र स्थापित हुने र आफ्नो गन्तव्यमा पुगेपछि आफूले दिएका नारा र एजेण्डा सबै भुल्ने गरेको बताए । चट्टानले पछिल्लो समयमा केपी प्रचण्डहरूले दुई तिहाई बहुमत प्राप्त सरकार गठन गरेपनि राष्ट्र, राष्ट्रियता र जनताको जनजिविकाको सवालमा कुनै पनि क्षेत्रबाट उत्तरदायी नरहेको र पार्टीभित्र उल्टै आन्तरिक विवाद जन्माएर टुटको सङ्घारमा दुर्घटना हुन पुगेको भन्दै अब यसको विकल्पमा वैज्ञानिक समाजवादको आवश्यकता रहेको औल्याए ।

यस्तै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष दिपेन्द्र जैगडी पञ्चदेवल विनायक नगरपालिकामा भइरहेको अनियमितता विरुद्ध खरो रुपमा प्रस्तुत भएका थिए । उनले ५ करोड बढीको भ्रष्टाचार भएको भन्दै यस्तो क्रियाकलाप आफू र आफ्नो पार्टीले सहेर नबस्ने चेतावनी दिए । यसैगरी पञ्चदेवल क्याम्पसको नवनिर्मित भवनको सोही टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा उक्त भवनको निर्माण कार्य पूरा नहुँदै भत्किएको पाइएको हो ।

उक्त कार्यक्रममा एरिया इन्चार्ज सज्जन धामी ‘चट्टान’, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष दिपेन्द्र जैगडी, एरिया सदस्य एम.वि. चलाउने, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष दिपेन्द्र जैगडीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :