मकवानपुर र नुवाकोटमा स्वास्थ्य, प्राविधिक तथा चिकित्सा शिक्षाको विकृति विरुद्ध प्रदर्शन

मकवानपुर र नुवाकोटमा स्वास्थ्य, प्राविधिक तथा चिकित्सा शिक्षाको विकृति विरुद्ध प्रदर्शन

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले मकवानपुर र नुवाकोटमा पनि स्वास्थ्य क्षेत्र, प्राविधिक, चिकित्सा शिक्षामा देखिएको विकृति विरुद्ध प्रदर्शन गरेका छन् ।

यसैक्रममा नेकपाका जनवर्गीय संगठनहरुले हेटौंडाको बुद्धचोकमा शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र र समाजमा भएका विकृति, विसंगतिका साथै राष्ट्रियता तथा जनजीविकासँग जोडिएका विविध विषयमा विरोध प्रदर्शन कार्यक्रम गरेका छन् ।

अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यक्रम अनुसार हेटौंडाको बुद्धचोकमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी), युवा संगठन नेपाल र राष्ट्रिय जनजागरण मञ्चले आज संयुक्त रूपमा विरोध प्रदर्शन कार्यक्रम गरेको बताइएकाे छ ।

सीमा चोक हुँदै आएको र्याली बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा केन्द्रिय सामना परिवारका इन्चार्ज सरलले नारा लगाएका थिए । शुक्रबार सम्पन्न कार्यक्रमको प्रमुख वक्ता हेटौंडा उपमहानगरपालिका सेक्रेटरी तथा मकवानपुरका सचिवालय सदस्य सुर्य अर्याल थिए भने अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलान र राष्ट्रिय जनसरोकार मञ्चका अध्यक्ष उमेश गुणीले पनि कार्यक्रमको सम्बोधन गरेका थिए । त्यस्तै केन्द्रीय सामना परिवारका सदस्य समरले विभिन्न नेताहरुको क्यारीकेचर गरी रोचक बनाएका कार्यक्रमको सञ्चालन सामना परिवारका सदस्य लक्ष्मणले गरेका थिए ।

यसैगरी अखिल (क्रान्तिकारी) नुवाकोटले आज स्वास्थ्य, प्राविधिक र चिकित्सा शिक्षामा भएको विकृतिका विरुद्व विरोध प्रदर्शन गरेको छ । उक्त कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) नुवाकोटका संयोजक मेगेन्द्र न्यौपानेले मेडिकल माफिया र शैक्षिक माफियालाई छिट्टै सडकमा ल्याएर कार्बाही गर्ने चेतावनी दिएका छन् । जनतन्त्र, जनजीविका र राष्ट्रियताको पक्षमा विगत लामो समयदेखि अखिल (क्रान्तिकारी) ले सडक संघर्ष गर्दै आएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :