एकीकृत जनक्रान्ति र जनमतसङ्ग्रह

एकीकृत जनक्रान्तिको मुख्य आधारमा माक्स लेनिन र माओले विकास र संश्लेषण गरेका सार्वभौमिक महत्वका विचारहरूको आत्मसात र प्रयोग गर्ने र पछिल्लो समयमा विकास भएका राजनीतिक, आर्थिक, प्राविधिक विशेषताहरू र ती विशेषताहरूद्वारा सिर्जना भएका नयाँ अन्तरविरोधहरूलाई समाधान गर्ने विचारको निर्माण भएको छ ।

कमरेड लेनिनले क्रान्तिका लागि विचारको महत्वमा क्रान्तिकारी सिद्धान्तबिना क्रान्ति हुँदैन, राजनीति हासिल गर्न जनयुद्ध र सत्ता प्राप्त गर्न क्रान्ति गर्नुपर्छ भन्नुभयो । क्रान्तिका लागि लौह अनुशासन भएको कम्युनिस्ट पार्टी, जनताको विद्रोही चेतना र सहभागिता, जनताका पक्षमा लड्ने शक्ति अनिवार्य हुनुपर्छ भन्नुभयो ।

क्रान्तिको विचारको महत्वमा माओले राजनीतिक विचारलाई शीर्ष स्थानमा राख र क्रान्तिका लागि असल अनुशासित कम्युनिस्ट पार्टी, जनताको सहयोग र जनताको सेना अनिवार्य हुने बताउनुभयो ।

क्युबामा बुर्जुवा पुँजीवादी सत्ताका विरुद्ध प्रत्यक्ष छापामार सशस्त्र सङ्घर्षमार्फत नयाँ सत्ताको गठन साबित भएको छ ।

जहांसम्म २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना प्रवासमा भए पनि कमरेड पुष्पलाललगायतले दोस्रोपल्ट कुनै पनि संस्थापक कम्युनिस्ट पार्टीको नेतृत्वमा आउन सकेनन् । नेपाल कम्युनिस्ट पार्टीभित्र छद्मभेषी दरबारपरस्त पछिल्लो कालमा भारतीय एकाधिकार पुँजीवादपरस्तको घुसपैठका कारण कम्युनिस्ट पार्टीभित्र रहेका कार्यकर्ता र जनता अन्योलमा रहिरहे ।

यो बन्धन र भ्रमबाट मुक्त हुन एमालेको संशोधनवादी, अवसरवादी र उदारवादी विचारसहित जडसूत्रवादी, कठमुल्लावादी, सङ्कीर्ण कम्युनिस्ट घटकलाई परित्याग गरी जनताको आफ्नै सेना र अनुशासित असल कम्युनिस्ट पार्टी (माओवादी) २०५१ सालमा प्रचण्डको नेतृत्वमा वैज्ञानिक समाजवाद साम्यवाद व्यवस्था स्थापनाको निम्ति दीर्घकालीन जनयुद्ध र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्घोष गरिएको थियो ।

नेपालका तमाम शोषक, सामन्त, राजामहाराजा, जमिनदार, सूदखोर, अमानवीय छुवाछूत, ठूलो जात सानो जात, दहेज, बोक्सी, धामीप्रथा र संसदीय राजतन्त्रका विरुद्ध भीषण वर्गसङ्घर्षको सुरुआत भयो जसमा तमाम उत्पीडित, शोषित, श्रमिक गरिब जनता सहभागी भए । यसको फलस्वरूप जनयुद्धले ८०% भूभाग आममजदुर–किसानको हातमा शासनसत्ता चलिरहेको थियो ।

संसदीय राजतन्त्रका मतियार एमाले, काङ्ग्रेस एउटा सानो कुनामा थन्केका थिए । तत्कालीन राजा ज्ञानेन्द्रले एमाले–काङ्ग्रेसका नेतालाई नजरबन्द र बन्धक बनाइसकेपछि जनताका सेना र जनताको कम्युनिस्ट पार्टी नेकपा (माओ वादी) ले मात्र ज्यान बचाउन सक्छ भनी हारगुहार गरे । त्यसपछि नेकपा (माओवादी) सँग रहेका सहिदको रगत, अपाङ्ग, घाइते, जिउँदा सहिद, श्रमिक जनता, आममजदुर, किसान, उत्पीडित गरिब जनता, जनमुक्ति सेनाको भीषण सङ्घर्षकै बीचमा जनआन्दोलनसमेत थपियो र २४० वर्षसम्म सञ्चालित राजतन्त्रलाई अन्त्य गर्यो ।

राततन्त्रको अन्त्यपछि काङ्ग्रेस, एमाले र कुण्ठित मधेसवादी दलहरूले शान्तिकालमा नेकपा (माओवादी) को राजनीतिमाथी दुस्साहसपूर्वक धावा र षड्यन्त्र गर्न थाले । तराई, मधेस पहाडमा तत्कालीन प्रहरी प्रशासकसँग गठजोड गरी जनतान्त्रिक, कोब्रालगायत दर्जनौँ आतङ्ककारी सङ्गठन निर्माण गरी निहत्था योद्धामाथि प्रहार गर्न थाले । शन्तिपूर्ण कार्यक्रममाथि जघन्य अपराधमूलक हत्या, हिंसा मच्चाउन थाले । यसको उदाहरण गौर हत्याकाण्ड हो । ती सङ्गठनहरूलाई प्रशासकहरूले नै हतियार दिने गरेका थिए । आमउत्पीडित श्रमीक जनतालाई रुस र चीनले दिएका ६५ वटा कारखानाहरू काङ्ग्रेस–एमालेहरूले बेचे र देशलाई पराधीन बनाए । नदीनाला र पानीको मुहान बेचेर राष्ट्रघात गरे र देशमा दलाल पुँजीवादी व्यवस्था कायम राखी देशमाथि सङ्कट थोपरेर दलाल संसदीय मतियारहरू एकआपसमै विकासप्रेमी हौँ भनी नाटक मञ्चन गरिरहेका छन् ।

जनयुद्धले हासिल गरेको भूभागलाई एमाले–काङ्ग्रेसले ऐतिहासिक आन्दोलनमाथि कुठाराघात गरी दलाल संसदीय व्यवस्थालाई निरन्तरता दिए । सम्पूर्ण सहिद, अपाङ्ग, घाइते, जिउँदा सहिदलाई ‘द्वन्द्व कालका विद्रोही, आतङ्ककारी, घाइते, अपाङ्गको संज्ञा दिइरहेका छन् । जुन जनयुद्धको शक्ति र बलका कारण राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र मेयर भइरहेका छन्, उसैलाई राष्ट्रिय सहिद, अपाङ्ग, घाइते घोषणा गर्न नसक्ने बेइमानहरूको अन्त्य हुनु अनिवार्य छ । यो सबै जनताले महसुस गरिसकेको कुरा हो । नेपाली जनताले उत्पीडित, श्रमिक, शोषित, पीडित आमनेपाली जनताको मौलिकतामा आधारित एकीकृत जनक्रान्तिको कार्यदिशालाई स्वीकार गरेका छन् र यही स्वीकारोक्तिमा दलाल संसदीय व्यवस्था विघटन हुन लागेको छ । यसको फलस्वरूप संयुक्त प्रगतिशील सरकार गठन गरी ८० प्रतिशत उत्पीडित, गरिब जनता, किसान, मजदुर, श्रमिकहरूको सचेत सहभागितामा हुने जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवादी युगको स्थापना अनिवार्य र सम्भव छ ।

यो जनमतसङ्ग्रहबाट मुठीभर दलाल ससदीय व्यवस्थाका शोषक, नवसामन्त, नवधनाढ्य, संशोधनवादी, छद्मभेषी मतियारहरू उत्पीडित जनताको मतसँग तर्सिन्छन् । तमाम उत्पीडित जनतालाई स्रोत–साधनबाट वञ्चित राखेर दास, नोकर बनाउँदै आफू सिंहासनको जीवनयापन गरिरहन आदत परेका अमानवीय मानिसका झुण्डहरू आफू सकिन सपना देखिरहेका छन् ।

सहरमा बसिरहने छद्मभेषी, संशोधनवादी तप्काका केही अवसरवादी, उदारवादीहरू जनमतसङ्ग्रहबाट वैज्ञानिक समाजवाद आउन सक्दैन भनिरहेका छन् । वर्गसङ्घर्षमा पनि सहभागिता नहुने दलाल, बुर्जुवा पुँजीवादले दमन, हत्या र थुनछेक गर्छ भनी ज्यान जोगाउन भयभीत भई डराएका, वर्गसङ्घर्षदेखि भागेकाहरू जनमतसङ्ग्रहबाट आमूल परिवर्तन नहुने भनी बकमफुसे तर्क गर्छन् ।

जनताका आत्मा भनेका जनप्रतिनिधि र जनसेवक हुन् । नोकरशाहीको परमादेशमार्फत प्रधानमन्त्री छनोट हुनु नै दलाल संसदीय व्यवस्था असफल हुनु, देश र जनता सङ्कटको भुमरीमा पर्नु हो । जनताले असल जनप्रतिनिधि, जनसेवक, वैज्ञानिक समाजवादमा मात्र प्राप्त गर्न सक्छ जहाँ सम्पूर्ण युवकले व्यक्तिका लागि नभई देशका लागि आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन, आठ घन्टा आराम र बालबालिका बिनाभेदभाव समान अवसरमा विशेषज्ञ बन्ने अवसर, वृद्धवृद्धाले राज्यबाट सम्मान पाउने, अनिवार्य काम गर्नु नपर्ने, रेखदेख राज्यले गर्नुपर्ने अवस्था सुनिश्चित गरिन्छ । आधुनिक सुविधाहरूमा समान अवसर र वस्तुहरूमा अभाव नभई पर्याप्त हुने अवसरमा राज्य तल्लीन रहन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :