मनपरी भाडा असुलीको विरुद्धमा युवा संगठन दाङद्वारा अनुगमन

मनपरी भाडा असुलीको विरुद्धमा युवा संगठन दाङद्वारा अनुगमन

दाङ: नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल जिल्ला समिती दाङले आज जिल्लाको लमही नगरपालिकामा यातायात व्यवसायीले असुली गरेको चर्को भाडाका विरुद्ध विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लामा आवतजावत गर्ने लामो दूरीका सवारी साधनलाई रोकेर यात्रुसँग भाडादर सोधपुछ गरि चर्को भाडा असुली भए नभएको विषयमा जानकारी लिइएको युवा संगठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोजले बताए ।
संगठनको केन्द्रिय कार्यक्रम अनुसार राप्ती व्युरोका विभिन्न जिल्ला दाङ, सल्यान, रुकुम, प्युठान, रोल्पामा संगठनले मनपरी भाडा असुलीको विरुद्धमा अनुगमन गरेको जनाइएको छ ।
युवा संगठन नेपाल राप्ती व्युरो इन्चार्ज तिलकको नेतृत्वमा लमहीमा भएको अनुगमन कार्यक्रममा पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको बाहानामा मनपरी भाडा असुली नगर्न सचेत गराइएको थियो । संगठनले सवारी साधनमा अनिवार्य भाडादर सार्वजनिक गर्नुपर्ने, यात्रुसँग चालक सहचालक र यातायात व्यवसायीले शिष्ट सभ्य भाषा प्रयोग गर्नुपर्ने, यात्रुहरुको सेवा सुबिधा, सवारीसाधनको दुर्घटना विमा, यात्रु विमा लगायतका विषयमा सचेत गराइएको संगठनका व्युरो इन्चार्ज तिलकले बताए ।

अनुगमन कार्यक्रममा संगठनका जिल्ला स्तरीय नेताकार्यकर्ता, नेपाल कम्युनिस्ट पार्टी लमही नगर इन्चार्ज जनक, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ राप्ती व्युरो इन्चार्ज डिल्ली, अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमरको सहभागीता रहेको थियो ।
सवारी साधनमा यात्रा गरिरहेका यात्रुहरुले जनताको प्रत्यक्ष जीवनसँग सरोकार राख्ने विषयवस्तुमा आन्दोलन केन्द्रीत रहेको भन्दै संगठनलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :