भीमकुमारी रानाको योगदानको चर्चा गर्दै शोकसभा

भीमकुमारी रानाको योगदानको चर्चा गर्दै शोकसभा

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले जनयुद्ध र एकीकृत जनक्रान्तिकी योगदानकर्ता नेपाल कम्युनिस्ट पार्टीकी सदस्य भीमकुमारी रानाको निधनमा शोकसभा आयोजना गरेको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिका देउरालीस्थित रनाकै घरमा पुगेर नेकपाले बिहीबार शोकसभा आयोजना गरेको हो । जिल्ला इन्चार्ज अपेक्षाको नेतृत्वमा श्रद्धाञ्जली सभा भएको थियो। कार्यक्रममा जिल्ला जनसरकार प्रमुख नेपाललगायत जिल्लास्तरीय नेता, कार्यकर्ता र पत्रकारको उपस्थिति थियो ।

जिल्ला इन्चार्ज अपेक्षाले आमाको मृत्युुले सिङ्गो पार्टी र समाजलाई अपूरणिय क्षति भएको भन्दै दुःख व्यक्त गरिन् । यो दुःखको घडीमा आफूहरु समालिएर आमाको योगदान र बाटो आत्मसाथ गर्ने उनले बताइन् । उनले माइला छोरा धीरज महान् जनयुद्ध र जनआन्दोलनका कुशल कमान्डरदेखि एकीकृत जनक्रान्तिका नेता, बुहारी झरना कुशल कमान्डरसहित महिला नेत्री र कान्छा छोरा केशव एकीकृत जनक्रान्तिका कुशल योद्धा जन्माई जनयुद्ध, जनआन्दोलन र एकीकृत जनक्रान्तिमा होमेर आफू पनि जीवनभर कम्युनिस्ट आन्दोलनको योद्धा र सिपाही हुनुभएको र उहाँको भौतिक शरीर नरहे पनि महान् विचार कहिल्यै नमर्ने बताइन् ।

भीमकुमारीका माइला छोरा नेपाल कम्युनिस्ट पार्टीका नवलपरासी सेक्रेटरी धीरजले आफूलाई कम्युनिस्ट बनाउन र बन्न सिकाउने आमा र आमाको साथमा रहने समाजलाई धन्यवाद दिएका थिए । उनले पिण्ड लडाएर मरेकी आमाले खान नपाउने र सुख नपाउने नभएकाले काजकिरिया नगरेको बताए । केही व्यक्तिले धर्म परिवर्तनको अफवाह फैलाए पनि सयौँजनाको अगाडि पार्टी र क्रान्तिको साथमा यसरी उभिएर देश र जनताका पक्षमा सधैँ लड्ने प्रेरणा पाउँदा गर्व लागेको उनले बताए । आफूलाई आमाले सधैँ ऐतिहासिक भौतिकवादको बाटो देखाउनुभएकाले देश र जनताका पक्षमा लड्ने र मानव जातिमाथिको सम्पूर्ण विभेदको अन्त्य गरेर समान ढङ्गले बाँच्न कम्युनिस्ट व्यवस्था प्राप्त गर्ने बाटोमा लाग्न झन् प्रेरित गरेको बताए ।

शोकसभाको अध्यक्षता भीमकुमारी रानाका छोरा पार्टी सेल सेक्रेटरी केशव रानाले गरेका थिए । कार्यक्रम सञ्चालन पार्टी जिल्ला सचिवालय सदस्य तथा जनसरकार प्रमुख नेपालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :