नेकपाको वैचारिक-राजनीतिक प्रशिक्षण

नेकपाको वैचारिक-राजनीतिक प्रशिक्षण

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीद्वारा बुटवलमा सञ्चालित जिल्लास्तरीय स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको कार्यक्रम बिहीबार सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् रूपन्देही जिल्ला इन्चार्ज कृतिले कम्युनिस्ट स्कुलिङ पार्टीको नियमित कार्यक्रम रहेको र पार्टीको विचारधारात्मक तथा वैचारिक विकास र क्षमता वृद्धिका लागि महत्वपूर्ण रहेको बताए । उनले स्कुलमा अध्ययन गरेको विषयलाई सबै नेता-कार्यकर्ताले व्यवहारमा लागू गर्न निर्देश गरे ।

कृतिले द्वन्द्वात्मक भौतिकवाद पार्टीको जीवनदर्शन भएकाले यसका लागि विश्वदृष्टिकोणको निर्माण जरुरी रहेको बताए । उनले कम्युनिस्ट पार्टीका सदस्यले कम्युनिस्ट दर्शन, नीति, संंस्कार र संंस्कृतिलाई अवलम्बन गर्नुपर्ने भन्दै त्यसले मात्र समाज रूपान्तरण गर्न सकिने बताए । उनले समाज रूपान्तरण विश्वदृष्टिकोणसित अभिन्न रूपमा जोडिएकाले यसका लागि कम्युनिस्ट स्कुल सञ्चालन गरिएको बताए । उत्तरसाम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध लड्ने वैचारिक हतियार मालेमावाद भएकाले वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि यसका पक्षधरहरु एक हुनुपर्ने उनको भनाइ थियो । उनले पार्टीको पछिल्लो कार्यनीति प्रगतिशील संंयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादका बारेमा पनि स्पष्ट पारे ।

कार्यक्रममा केन्द्रीय स्कुलिङ विभागका प्रमुख भेषराज भुसालले असल कम्युनिस्ट कार्यकर्ता र बलियो कम्युनिस्ट पार्टी निर्माणका लागि कम्युनिस्ट स्कुलिङ जरुरी रहेको बताए । भुसालले अहिलेको विकसित परिस्थितिमा नेता, कार्यकर्ता र जनताबीच एकीकृत बुझाइ, एकीकृत योजना, एकीकृत नेतृत्व (कमान्ड) र एकीकृत सङ्घर्षले मात्र लक्ष्यमा पुग्न सकिने बताए । उनले स्कुलिङले नेता–कार्यकर्ताको राजनीतिक तथा वैचारिक स्तर थप वृद्धि भएको र वैज्ञानिक तरिकाले तर्क गर्ने क्षमताको विकास भएको बताए ।

नेकपाकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने स्पष्ट पारिन् । उनले वर्तमान दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना अपरिहार्य रहेको बताइन् । चन्दले वर्तमान राजनीतिक सङ्कटको निकास निर्विकल्प वैज्ञानिक समाजवाद भएको भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशामा सबै जनतालाई समाहित गर्नुपर्ने पहिलो आवश्यकता रहेको बताइन् ।

रूपन्देही जिल्ला सेक्रेटरी विश्वासले आफूलाई र दुनियाँलाई बदल्ने उद्देश्यका लागि पार्टीले नियमित स्कुलिङ कार्यक्रम गरिरहेको र यसले नयाँ परिस्थितिमा पार्टीको जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गरे । उनले स्कुलमा अध्ययन गरेको विषयलाई सबै नेता–कार्यकर्ताले व्यवहारमा कार्यान्वयन गरी जनतालाई स्पष्ट पार्ने विश्वास व्यक्त गरे ।

स्कुलिङका प्रशिक्षक गणेश थापा र खोमा तरामु मगरले सबै नेता–कार्यकर्तालाई आफूले प्राप्त गरेका मालेमावादी सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गर्न र आमजनतालाई स्पष्ट पार्न निर्देश गरे ।

कार्यक्रममा प्रशिक्षार्थी प्रकाश, शिशिर, श्याम, विश्लेषण, वीरेन्द्र, रूपा, पारसलगायत नेता–कार्यकर्ताले अनुभूति राखेका थिए ।

स्कुलिङ कार्यक्रममा जिल्ला सदस्य, सल्लाहकार, जनवर्गीय सङ्गठन, मोर्चाका प्रमुखहरु, सहिद तथा बेपत्ता परिवारलगायत नेता-कार्यकर्ताको सहभागिता रहेको बताइएको छ । स्कुलिङ कार्यक्रममा दर्शन, वैज्ञानिक समाजवादी अर्थशास्त्र, वैज्ञानिक समाजवाद, सौन्दर्यशास्त्र, विज्ञान र प्रविधि, इतिहास, एकीकृत जनक्रान्तिको कार्यदिशा, नयाँ कार्यनीतिलगायत विषयमा प्रशिक्षण गदिइएको केन्द्रीय स्कुल विभागका प्रमुख भेषराज भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :