अखिल (क्रान्तिकारी) द्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

अखिल (क्रान्तिकारी) द्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

तनहुँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) तनहुँले प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका जिल्ला अध्यक्ष पदम विश्वकर्माले आइतबार उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

मागपत्रमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) आफ्नो स्थापनाकाल देखि नै नेपालको समग्र शैक्षिक पुनर्संरचना राष्ट्रियता, जनतन्त्र र जनजिविकाका सवालहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको कुरा सर्वविधितै छ । कोरोना महामारीको दोस्रो लहर पुरै देशमा फैलिएको छ । धेरै सङ्ख्यामा सङ्क्रमितहरू अक्सिजनको कमी, अस्पतालमा बेडको अभाव, आवश्यक औषधी तथा स्वास्थ्य सेवाको अभावमा मृत्युको शिकार भएका छ्न् । देशमा एक जटिल स्वास्थ्य सङ्कट पैदा भएको मात्र छैन । नागरिकता संसोधन विधेयक ऐनले राष्ट्रिय सुरक्षामा समेत गम्भीर चुनौती खडा भएको छ । भ्रष्टाचार, कालोबजारी, महँगाई चरम सिमामा पुगेको छ । र यो अवस्था सिर्जना गर्नुमा वर्तमान केपी सरकार जिम्मेवार रहेको छ । यसै सन्दर्भमा हाम्रो सङ्गठनको तर्फबाट सम्बन्धित निकायहरूलाई यस सङ्कटको घडीमा जिम्मेवार, जवाफदेही र कर्तव्यबोध गराउन निम्न मागहरूसहित यो ज्ञापनपत्र पेश गर्दछौँ । यस सन्दर्भमा हाम्रो मागहरूबारे यथासिघ्र गम्भीर छलफल गरि पहलकदमी लिन अनुरोध गर्दछौँ ।’

मागपत्रमा अगाडि भनिएको छ, ‘वर्तमान सरकारको अपराधिक लापरबाही र कुशल व्यवस्थापनको कमिले जनता मृत्युको मुखमा धकेलिएका छन् । यस्तो सङ्कटको घडीलाई पनि नाफा कमाउने अवसर बनाई अनैतिक र अमानवीय तरिकाबाट तनहुँका निजी अस्पतालहरूले बिरामीहरूबाट दसौँ लाख रकम असुल गरिरहेको जनगुनासो आएको हुँदा त्यस्ता अस्पतालका मालिकहरूलाई कारवाही गरि सङ्क्रमितहरूको निःशुल्क उपचार गर्न जोडदार माग गर्दछ । तनहुँको सरकारी अस्पतालमा आवश्यक डाक्टर र स्वास्थ्यकर्मीको अभाव, स्वास्थ्य सामग्री तथा औषधीको अभाव हुँदा समेत मौन बस्ने सम्बन्धित प्रशासन नै भ्रष्टाचारमा डुबेको भन्ने व्यापक जनगुनासो आएकाले छानबिन गरि स्वास्थ्य समस्या हल गर्न र दोषीमाथि कारवाही गर्ने हाम्रो सङ्गठन जोडदार माग गर्दछ । यो महामारीको समयमा कृत्रिम अभाव खडा गरि जनताको दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि गर्ने, कालोबजारी गर्ने व्यापारी र नाफाखोरहरूलाई तत्काल कारवाही गर्न माग गर्दछ ।’

मागपत्रको अन्त्यमा भनिएको छ, ‘दैनिक ज्यालादारी गरेर पेट पाल्ने श्रमिकहरूको लागि राहत प्याकेज तत्काल घोषणा गरियोस् र सम्पूर्ण जनताको खाद्य सम्प्रभुताको सुनिश्चित गरियोस् । कोरोना महामारीको समय अवधिको सम्पूर्ण शुल्क तत्काल मिनाहा गर्न र सङ्कटको घडीमा तनहुँका केही ठूला शिक्षण संस्थाहरूले सम्बन्धित प्रशासनलाई प्रभावमा पारी अभिभावक र विद्यार्थीहरूलाई दबाब दिई विभिन्न माध्यमबाट शुल्क असुल गर्ने कार्य गरिरहेकाले त्यस्ता शैक्षिक संस्थाका मालिकहरूलाई तत्काल कारवाही गर्न जोडदार माग गर्दछ । कोठाभाडामा बसेका विद्यार्थीहरूलाई सम्बोधन हुने गरि राहत प्याकेज घोषणा गरियोस् ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :