जेल

कविता

खाँदवारी कारागार, संखुवासभा
हरेक क्षण
खुल्ला संसारमा जाने आशामा
तड्पिरहन्छ मन हाम्रो
हरेक क्षण
बन्दुकको निगरानी रहन्छ हामीमाथि
चङ्ख बनेर पहरेदारहरू उभिन्छन् चारै दिशामा
अनि,
गिन्ती गरिन्छ हाम्रो बिहान बेलुका प्रत्येक दिन
किन कि यो जेल हो ।
प्रत्येक सामानहरू
चेक जाँच गरिन्छ ढोकामा
निषेधित छन् धेरै कुराहरू यहाँ
काँडेतार र पर्खालले
हाम्रो परिवारसँग
हाम्रो क्रान्तिसँग
हाम्रो प्रिय कमरेडहरूसँग
सम्बन्ध तोडिदिन्छ
निकै टाढा बनाइदिन्छ
पर्खाल बाहिरको मान्छे र
पर्खाल भित्रको मान्छेमा
कत्ति फरक बनाइन्छ
शायद हावा पनि बन्दी हुन्छ जेल भित्रको
कैदी हुन्छ जीवन ।
आधा मरेर
आधा बाँचिरहेका हुन्छौँ हामी
कानुनका सयौँ अपराधी ब्यूहहरू देखेर
आश्चार्य चकित हुँदै
जीवनको प्यारालाइसिस बनेको यात्राबारे
किंकर्तव्यविमूढ बनेर
षड्यन्त्रले सिंगारिएका मिसिलहरू पल्टाउँछौँ
र, खोन्छौँ स्वतन्त्रताका छिद्रहरू
जहाँबाट हामी
जीवनको कठघरालाई चिहाउँछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :