नेकपाका १२ जनवर्गीय सङ्गठनले निकाले विज्ञप्ति भने– ‘जनताका समस्या समाधान गर’

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट विभिन्न जनवर्गीय सङ्गठनले समसायीक विषयमा प्रेस विज्ञप्ति जारी गरेका छन् । यसअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहको अभिव्यक्तिको बिरोध गर्दै राजदुत बिनयमोहन क्वात्रालाई ज्ञापनपत्र बुझाएका उनीहरूले देशको समसामयीक विषयलाई लिएर प्रेस विज्ञप्ति जारी गरेका हुन् ।

नेकपाका विभिन्न १२ वटा जनवर्गीय सङ्गठनहरूले जारी गरेको विज्ञप्तिमा नेपाली भूमिमा निर्माण गर्न लागेको कथित ‘कैलाश मानसरोवर रोड’ को निर्माण कार्य बन्द गर्न माग गरिएको छ । यस्तै सम्पूर्ण नागरिकहरूलाई सर्वसुलभ रूपमा कोरोनाको खोप उपलब्ध गराउन, बिरामीको निःशुल्क उपचार गर्न कोरोना प्रभावितहरूलाई राहत र उद्धार गर्न माग गरिएको छ ।

यस्तै मनसुन शुरु भएपछि देशका विभिन्न भागमा जस्तै सिन्धुपाल्चोक, मुस्ताङ, चितवन, नवलपरासीमा गएको बाढी पहिरोमा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै घाइते भएकाहरूको निःशुल्क उपचार गर्न र कोरोनाका कारण आय गुमाएका तथा विदेशबाट फर्किएका बेरोजगार युवाहरू र मजदुरहरूलाई राहत उपलब्ध गराउन पनि विज्ञप्तिमा माग गरिएको छ ।

यस्तै विज्ञप्तिमा भूमिहीन सुकुमबासीका समस्या हल गर्न भनिएको छ भने खाद्य पदार्थ तथा पेट्रोलियम पदार्थमाथि भइरहेको कालोबजारी र मूल्यबृद्धि नियन्त्रण गर्न माग गरिएको छ । यस्तै सुर्खेतमा राउटे युवतीमाथि भएको यौन दुव्र्यवहारको घटनाको निन्दा गर्दै उक्त अपराधकार्यमा संलग्नलाई कारवाही गर्न माग गरिएको छ । यस्तै सङ्कटको घडिमा विद्यालयमा शुल्क नबुझाउने अभिभावकलाई विद्यालयहरूले दवाव दिने गरेको कार्यप्रति ध्यानाकर्षण भएको उल्लेख छ । यस्तै विज्ञप्तिमा झापा, भोजपुर, रौतहट, सिन्धुपाल्चोक र रोल्पा लगायतका जिल्लामा हालै भएका जातीय विभेदका घटनाका विषयमा छानविन गरी दोषी उपर कडा कारवाहीको माग गरिएको छ । यस्तै नेपाल सरकारले नीति तथा कार्यक्रम एवम् बजेट मार्फत नै नेपालको ढुङ्गा, गिट्टी र बालुवा निकासी गरी व्यापार घाटा पूर्ति गर्ने जस्तो हल्का एवम् गैरजिम्मेवार निर्णय गरी प्राकृतिक श्रोत साधनमाथि दोहन गर्ने काम गरेको भन्दै यस प्रकारको गलत निर्णय फिर्ता लिन पनि माग गरिएको छ ।

बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टीनिकट जनवर्गीय सङ्गठन अखिल नेपाल सुकुमबासी सङ्गठनका अध्यक्ष ओमप्रकाश पुन, अखिल नेपाल जनसाँस्कृतिक महासङ्घका अध्यक्ष माइला लामा, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष बन्धु चन्द, दलित मुक्तिमोर्चा नेपालका अध्यक्ष डम्बरबहादुर विश्वकर्मा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय संयोजक विनोद थापा, युवा सङ्गठन नेपालका संयोजक पाटन जङ्गली, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष हरि श्रेष्ठ, अखिल नेपाल जनस्वास्थ्य महासङ्घका अध्यक्ष टीकाप्रसाद कँडेल, अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष जयन्द्र चन्द, राष्ट्रिय बुद्धिजीवी सङ्गठनका संयोजक व्यापक नेपाली र जनपत्रकार सङ्गठनका संयोजक शेरबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :