‘छोरी तिमी सुरक्षित छौँ ?’

कविता

जन्मनु पहिले,
तिम्रो बा आमाबाटै
तिमी सुरक्षित थिएनौँ
सुरक्षित हुन यहाँ गर्भमा
छोरा हुनुपर्छ
तिमी छोरी हौँ !

जन्मिसकेपछि,
भुलाउने चाहनामा
खेलाउने बहानामा
चुम्बन गरे
नछुने ठाउँमा छोए
हेर्न नहुने कुरा हेरेँ
गर्न नहुने काम गरेँ
खै के के गरेँ ? गरेँ
सुरक्षित नहुने गरि गरेँ !

जब स्कूल जाने भयौँ
कयौँ पटक, तिम्रा सरहरूले
टाइ नमिलेको भनि छाती चिमोटिदिए
हिसाब मिलेन ढाड सुमसुम्याइदिए
गृहकार्य छुटेको दिन गाला मुसारेरै छुट दिए
झगडा गरेको दिन मुर्गा बनाइ पछाडी उभिएर
पटकपटक आँखाले बलात्कार गरे
छोरी के तिमी स्कूलमा सुरक्षित छौ ?

तिमीले प्रेमको लामो लामो सास फेर्दा
तिम्रो प्रेमीले रोमाञ्चित सास मानेर
जब
तिमी उभिएकै जमिनमा पल्टायो
के तिमी प्रेमीसङ्ग सुरक्षित छौ ?

तिम्रो ठिक अगाडि उभिरहेको काकाले
तिमीलाइ नै हेरेर पाचौँ चोटी थुक निल्दैछन्
तिम्रो पछाडीको हजुर बा चस्मा मिलाउँदै छन्
तिमीलाई नै हेर्न
उ…….. त्यो परको केटो तिमीलाई माल भन्दै छ
तिमी कहाँ सुरक्षित छौ ?

तिमी नर्स भएर अरूलाई हर्ष दिँदै
जब रातदिन, दिनरात
भोक प्यास नभनी
बिरामीको सेवक बनेर
अहोरात्र खटी रहन्छेउ
त्यति नै बेला
कयौँ ब्वाँसाहरू
लुछ्न आउँछन्
चिथोर्न आउँछन्
कोपर्न आउँछन्
गिद्दे नजर लगाउँछन्
विष बमन गर्छन्
के तिमी यहाँ सुरक्षित रहिछौँ ?

अब तिमी सुरक्षित हुन
गणतन्त्रको कात्रो ओडेर
समृद्धिको घाटमा
दन्किनु पर्छ
ताकी
उड्दै उड्दै गएको धुवाको
खबरले प्रत्येक छोरीले आगो
ओकल्न सकून्

सुरक्षित होउन् !!

लेखक : अमर खड्का अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :