अखिल क्रान्तिकारीद्वारा बालगृहलाई खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान

अखिल क्रान्तिकारीद्वारा बालगृहलाई खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले कपिलवस्तु बालगृहमा कोरोना महामारीको जटिल समयमा अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

जिल्लामा परिवारविहीन विभिन्न जिल्लाका अनाथ बालबालिकालाई उपभोग्य रासनअन्तर्गत चामल ३० केजी, दाल ३० केजी, तेल, तरकारी १६ केजी, मास्क ५०० थान, सेनिटाइजर ५ लिटर, नुन १० केजी, साबुन १२ वटालगायत अत्यावश्यक खाद्य र स्वास्थ्य सामग्री बालगृह व्यवस्थापकलाई हस्तान्तरण गरिएको जानकारी अखिल (क्रान्तिकारी) कपिलवस्तुका अध्यक्ष विज्ञान क्षेत्रीले दिए ।

उनले यस्तो जटिल अवस्थामा बालगृहमा खाद्य सङ्कट हुँदा पनि नाम मात्रको स्थानीय सरकार बेखबर भएको पनि बताए । उनले बालबालिकाको भविष्यप्रति राज्य गैरजिम्मेवार भएकाले सबै सचेत नागरिकले आआफ्नो ठाउँबाट सक्दो सहयोग गरी नागरिकको ज्यान बचाउन र कोरोनाविरुद्ध लड्न तयार हुनुपर्ने धारणा व्यक्त गरे । यस्तो अभियानमा जिल्लाका उद्योगी, व्यवसायी, बुद्धिजीवी, पत्रकार, प्रशासनिक निकाय सबै मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

सङ्गठनले सञ्चालन गरेको कोरोनाविरुद्धको अभियानमा स्वास्थ्य सामग्री र राहत सहयोग गर्ने सहयोगी, व्यवसायी, समाजसेवीहरूलाई उनले धन्यवाद पनि दिए । उनले जिल्लाको जुनसुकै ठाउँका नागरिकलाई समस्या परेमा अखिल (क्रान्तिकारी) लाई सम्पर्क गर्न अपिल पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :