अस्पतालभित्रका अनियमितताविरुद्ध सङ्घर्षमा होमिन जनस्वास्थ्यकर्मी महासङ्घको आह्वान

अस्पतालभित्रका अनियमितताविरुद्ध सङ्घर्षमा होमिन जनस्वास्थ्यकर्मी महासङ्घको आह्वान

काठमाडौँ : अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै भरतपुर सरकारी अस्पतालका स्थायी कर्मचारीले गरेका विभिन्न अपारदर्शी काम र विकृतिका विरुद्ध जारी सङ्घर्षमा लामबद्ध हुन अस्पतालमा कार्यरत सम्पूर्ण पक्षलाई आह्वान गरेको छ ।

महासङ्घका अध्यक्ष टीकाप्रसाद कँडेलद्वारा जारी विज्ञप्तिमा भ्रष्ट कर्मचारीले अस्पतालको औषधी भण्डारण विभागलाई कब्जामा लिएर कोरोना उपचारमा अत्यावश्यक मानिने सिटामोलसम्मको कृत्रिम अभाव उत्पन्न गराई बिरामीलाई चर्को शुल्कमा अन्य निजी फार्मेसीमा औषधी किन्न बाध्य पारेपछि त्यस अस्पतालका फार्मेसी विभागका अन्य कर्मचारीले आन्दोलन आरम्भ गरेकाले उक्त आन्दोलन सफल पार्न आह्वान गरिएको छ ।

अध्यक्ष कँडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना महामारीलाई सारा विश्वले मानव जातिमाथिकै खतराका रूपमा व्याख्या गरिरहेको छ । यस्तो विषम परिस्थितिमा समाजका हरकोही व्यक्ति, संस्था गम्भीरतापूर्वक बिरामीको उपचार र गरिब–दुःखीको सहयोगमा जुटिरहेका छन् । हाम्रो गौरवशाली सङ्गठन पनि विभिन्न सहयोगका कार्यक्रममार्फत यो महामारीसँग सङ्घर्ष गरिरहेको छ । यस्तो परिस्थितिमा भरतपुर सरकारी अस्पतालका स्थायी कर्मचारीहरू भने विभिन्न अपारदर्शिता र विकृतिमा चुर्लुम्म डुबेका छन् ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ती कर्मचारीले अस्पतालको औषधी भण्डारण विभागलाई कब्जामा लिएर कोरोना उपचारमा अत्यावश्यक मानिने सिटामोलसम्मको कृत्रिम अभाव उत्पन्न गराई बिरामीलाई चर्को शुल्कमा अन्य निजी फार्मेसीमा औषधी किन्न बाध्य पारेपछि त्यस अस्पतालका फार्मेसी विभागका अन्य कर्मचारीले विरोध जनाउँदा विरोध गर्ने अगुवाको सरुवा गरिदिएको घटनाले के पुष्टि गर्छ भने त्यस्ता लूट मच्चाइरहेका कर्मचारीहरू राजनीतिक शक्तिको आडभरोसामा यस किसिमका काम गरिरहेका छन् । यस्तो महामारीमा सिटामोलजस्तो औषधीको अभाव हुँदासम्म मौन र मूकदर्शक भएर अस्पताल प्रशासनले देखाएको लाचारपनले अस्पताल प्रशासन र त्यस्ता ठग कर्मचारीबीचको सम्बन्ध र कर्तुत पनि उदाङ्गो पारिदिएको छ ।’

विज्ञप्तिका ेअन्त्यमा भनिएको छ, ‘राइट म्यान इन राइट प्लेसको एजेन्डासहित सङ्घर्षमा रहेका फार्मासिस्ट स्वास्थ्यकर्मी साथीहरूप्रति हाम्रो सङ्गठनको पूर्ण समर्थन त छ नै, आवश्यक परेको खण्डमा हाम्रो सङ्गठन पनि भरतपुर अस्पताललाई सुधार्ने अभियानअन्तर्गत अग्रमोर्चामा रही साथ दिन तयार छ । साथै हाम्रो सङ्गठन सबै सरोकारवाला निकाय, उपभोक्ता समिति, अस्पताल प्रशासन, अन्य स्वास्थ्यकर्मी सङ्गठन, युवा, अस्पताल मजदुर, एम्बुलेन्स चालक सबैलाई यस सङ्घर्षमा सहभागी बनी अस्पतालको सुधारमा सरिक हुन अनुरोध गर्दछौँ ।’ प्रेस विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :