अखिल क्रान्तिकारीद्वारा सहिदहरूको स्मृतिमा रक्तदान

अखिल क्रान्तिकारीद्वारा सहिदहरूको स्मृतिमा रक्तदान

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले आइतबार काठमाडौँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सङ्गठनले दिएको जानकारीअनुसार एकीकृत जनक्रान्तिका सहिद प्रज्वल शाहीलगायत सहिदहरूको स्मृतिमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए । कोरोना महामारीका कारण देशभरिका अस्पतालहरूमा रगतको चरम अभाव भइरहेकाले सङ्गठनले कार्यक्रम नै आयोजना गरेर रक्तदान गरेको हो ।

कार्यक्रममा सम्बोधन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले अखिल क्रान्तिकारी जनताका हरेक समस्यामा सहभागी हुँदै आएको बताए । उनले आगामी दिनमा पनि जनताको बीचमै रहेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको सहजीकरण सङ्गठनका महासचिव प्रकाश शाहीले गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्लाका पूर्वजिल्ला सेक्रेटरी विदुषी, अधिवक्ता कपिल पोखरेललगायत थुप्रै विद्यार्थी नेता–कार्यकर्ताको सहभागिता थियो ।

कोरोना महामारीको कठिन परिस्थितिका बीच आयोजना गरिएको रक्तदान कार्यक्रमको उच्च प्रशंसा गर्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाले अखिल क्रान्तिकारी केन्द्रीय समितिलाई सम्मानस्वरूप प्रशंसापत्र पनि प्रदान गरेको थियो ।

यसअघि पनि देशव्यापी रूपमा अभियानकै रूपमा रक्तदान कार्यक्रम सञ्चालन गरेको क्रान्तिकारीले लुम्बिनीमा कोरोना बिरामीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले ५० थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री वितरण गरेको थियो । रक्तदान अभियानलाई देशव्यापी बनाउने सङ्गठनका महासचिव प्रकाश शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :